|
उपचाररत आचार्य

विराटनगर : स्वामी श्रीनिवासाचार्यलाई गोली प्रहारमा संलग्न रहेको आशंकामा प्रहरीले विराटनगरबाट दुईजनालई पक्राउ गरेको छ।

प्रहरीले पक्राउ पर्नेको नाम भने सार्वजनिक गरेको छैन। मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार पक्राउ परेकाहरूलाई हिरासतमा लिएर सोधपुछ भइरहेको छ।

घटनामा मंगोललाई हेपेको भन्ने विषयमा पर्चा भेटिएको भएका कारण मंगोल अर्गनाइजेसनको संलग्नता हुनसक्ने भएपनि यकिन नभएको एसपी बिसीले जानकारी दिए। ‘हामीले मोरङका सबै ठाउँमा सर्च अभियान चलाएका छौँ,’ एसपी बिसीले भने, ‘छानविन र अनुसन्धानका सबै प्रक्रिया अपनाएर लागेका छौँ।’

विराटनगर १४, जतुवास्थित रामजानकी मन्दिरमा बास बसेका आचार्यलाई आइतबार विहान २ बजेतिर शौचालय जाने क्रममा गोली प्रहार भएको थियो। दाहिने कुममा गोली लागेका स्वामीको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। गोली लागेर घाइते भएका स्वामीको अवस्था खतरामुक्त रहेको न्युरो अस्पताल प्रशासनले जनाएको छ।

लक्ष्मी बैंकटेश मन्दिर चकरघट्टीका पिठाधीश ५० वर्षीय आचार्य हिन्दुवादी सन्त हुन्। आचार्यका सहयोगी तथा उपकथावाचक नवीन अर्यालले भने, 'राति २ बजेतिर एक्कासि गोली पड्केको आवाज सुनेपछि दौडिएर जाँदा गुरुजीलाई रगताम्यै भई लडेको देखे।'

घटनास्थलमा गोलीका दुई वटा खोका भेटिएको एसपी अरुणकुमार बिसीले जानकारी दिए। गोली प्रहार भएको घटनास्थलमा आदिवासी मंगोल समुदायलाई स्वामीले हेप्ने गरेको र अतिहिन्दूवादी भएको भन्दै त्यसो नगर्न चेतावनी दिइएको छ।

श्रीनिवासाचार्यले नेपाललाई पुनः हिन्दूराज्य बनाउनुपर्ने भन्दै अभियान सञ्चालन गर्दै आएका थिए। उनी शिव सेना नेपाल नामक संगठनसँग पनि सम्बन्धित रहेको बताइएको छ।

सुनसरीको चकरघट्टीमा बसेर धार्मिक अभियान सञ्चालन गर्ने स्वामी आइतबारदेखि सोही मन्दिरमा हुने श्रीमद्भागवत पुराणमा सहभागी हुन शनिबार विराटनगर आएको बताइएको छ। आचार्यलाई गोली प्रहार गरिएपछि भने पुराण स्थगित भएको छ।

यसैबीच श्रीनिवासाचार्यलाई गोली हानेको विरोधमा हिन्दू संघसंस्थाले विराटनगरमा विरोध प्रदर्शन गरेका छन्। विराटनगरको समस्त ओमकार परिवारले पत्रकार सम्मेलन गरी आचार्यमाथिको आक्रमण समस्त हिन्दूहरुमाथि भएको भन्दै विरोध गरेको हो।

विरोध गर्दै उनीहरूले विराटनगर बजार बन्द गराउन आव्हान गरेका थिए। यद्यपि व्यापारीले प्रतिरोध गरेपछि बजार भने खुल्ला नै रहेको छ।

अस्पतालमा उपचारको लागि लगिएका आचार्यलाई प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीसहित सुरक्षा अंगका प्रमुखहरूले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.