|

बागलुङ:  गलकोट नगरपालिका चार निलुवास्थित मौरीभीरमा शनिबार मह सिकार गरिएको छ। पाँच सय मिटर अग्लो भिरमा जोखिम मोलेर सिकारीले मह काढेका थिए। ३६ वर्षपछि उक्त भिरमा मह काढिएको हो।

पर्यटनसँग जोड्न निलुवा पर्यटकीय क्षेत्र प्रवर्द्धन केन्द्रले मह सिकार (हनी हन्टिङ) महोत्सव आयोजना गरेको थियो। मह सिकारमा गलकोट नगरपालिका-१० पाण्डवखानीका अनुभवी सिकारी संलग्न थिए।

बन्दोबस्तीका सामानसहित १६ जनाको टोली मह सिकारमा खटिएको थियो। सिकारी टोलीको नेतृत्व ५४ वर्षीय धनबहादुर घर्तीले गरेका थिए। ज्यानकै बाजी लगाएर कहाली लाग्दो भिरमा मह काढेको गरेको हेर्न सयौँ सर्वसाधारणको भिड लागेको थियो। अन्य सहयोगीको साथमा मह काढ्ने काम टोली प्रमुख घर्ती र ३६ वर्षीय नवीन रानाले गरेका थिए। बाँसको चोया र काठ प्रयोग गरी बनाइएको भर्‍याङ (पराङ)मा झुण्डिएर सिकारीले मह काढेका थिए।

परम्परागत प्रविधि अपनाएर मह काढिएको सिकारी रानाले बताए। उनले भने, ‘हाम्रा पुर्खाले जसरी मह काढ्ने गर्थे, त्यही प्रविधि र सीप हामीले अपनाएको छौँ।'

भिरको मह काढ्नमा पराङ, सुथरी, झापा, दाबिलो, डोरीलगायतका सामग्री प्रयोग हुने गरेको समेत उनले बताए। सिकारी टोलीले सिकारमा जाँदा आफूसँग भएका ती सामग्री साथै लिएर जाने गर्दछन्। आँट, साहस भएको र स्वस्थ व्यक्ति मात्रै सिकारका लागि छनोट हुने गरेको समेत प्रमुख सिकारी घर्तीले बताए।

उनले भने, ‘जिन्दगी दाउमा राखेर सिकार खेल्नुपर्छ यो निकै साहसिक र जोखिमपूर्ण काम हो।'यस्तै बाउबाजेका पालादेखि नै मह सिकारको चलन रहेकाले आफूहरूले पनि निरन्तरता दिएको उनको भनाइ थियो। निलुवा मौरीभिर पनि महको लागि उत्तम रहेको र सिकारका लागि जेठ महिना उपयुक्त मानिन्छ।

दुई घारको मात्र मह काढ्दा  झन्डै १० किलो मह निस्केको महोत्सव अवलोकनका लागि आएका दर्शकलाई मह बाँडिएको केन्द्रका अध्यक्ष ओमकार सुवेदीले बताए। उनले भने, ‘अहिले प्रचारात्मक हिसाबले मात्र मह काढ्ने गरिएको छ। सिकारीकै सुझावमा धेरै घारको मह काढेनौँ। भर्खर मौरीले मह जम्मा गर्न सुरु गरेको हुँदा जेठमा सबै घारको मह काढ्न उपयुक्त हुने सिकारीले सुझाव दिएका थिए। उक्त भिरमा २० भन्दा बढी भिरमौरीका घार छन्।'

पहिलोपटक पर्यटन प्रवर्द्धनका रूपमा मह सिकार महोत्सव राखिए पनि पछि यसलाई व्यावसायीकरण गराइने र अध्यक्ष सुवेदीले बताए। उनले भने, 'बिरलै हुने गरेको मह सिकार निलुवामा गरेका छौँ, यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास छ।' मह सिकार साहसिक कला भएकाले पर्यटकलाई आकर्षित गर्न सकिने देखिन्छ।

महोत्सवका लागि गलकोट नगरपालिका, निलुवा समाज जापानलगायतका संघ संस्था र व्यक्तिले आर्थिक जुटाएका थिए। पछिल्लो समय निलुवा प्राकृतिक सुन्दरतायुक्त पर्यटकीय गन्तव्यको रुपमा परिचित छ। लेकाली हावापानीमा अवस्थित निलुवामा पर्यटकीय पूर्वाधारको भने अभाव छ। बागलुङ सदरमुकामदेखि ४५ किमि गाडीको यात्रापछि निलुवा पुग्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.