|

विराटनगर : चिरप्रतिद्वन्द्वी विभागीय टिम त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबले विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि सोमबार मैदानमा उत्रँदैछन्।

निरन्तरताको ३२ औं र विराट गोल्डकप नामाकरण भएपछिको पाँचौँ संस्करणको उपाधि रक्षाका सहिद रंगशालामा दुवै टिम आमने-सामने हुन लागेका हुन्। आर्मी सिजनको आठौँ उपाधि कब्जा गर्ने रणनीतिका साथमा मैदानमा आउँदै छ भने थ्रीस्टार आर्मीलाई रोकेर उपाधि संख्या ५ पुर्‍याउने दाउमा छ। झापा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी गत शुक्रबार फाइनल प्रवेश गरेको थियो। संकटालाई शनिबार ४–० को फराकिलो गोल अन्तरले निराश बनाउँदै थ्रीस्टारले उपाधि होडमा आर्मीसँगको भेट पक्का गरेको हो।

दुवै टिमले उपाधिका लागि आफूलाई पूर्ण दावेदार प्रस्तुत गर्दै त्यही अनुसारको तयारी गरेको बताएका छन्। यो सिजनमा यी दुई टिमबीच चौथोपटक भेट हुँदै छ। तेस्रोपटकसम्मको स्पर्धामा आर्मी दुईवटा र थ्रीस्टारले एउटामा जित हात पारेको अवस्था छ। खप्तड गोल्डकपको क्वारटफाइनलमा २–१ र सिमरा गोल्डकपको फाइनलमा २–० गोल अन्तरले थ्रीस्टारलाई आर्मीले स्तब्ध बनाएको थियो। इटहरीमा सम्पन्न मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा भने आर्मी थ्रीस्टारसँग टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित भएको थियो। 

यो सिजनमा ११ वटा प्रतियोगितामा सहभागी भएकोमा ७ वटाको उपाधि कब्जा गरेको आर्मी सिजनकै सर्वाधिक उपाधि जित्ने टिम हो। उसले सिजनको विरगन्जको विशाल मेमोरियल, झापा झिलझिलेको सताक्षी, मेची नेत्रालय काँकडभिट्टा, धनगढीको खप्तड, बाराको सिमरा, हेटौंडाको समुन बम्भज स्मृति र झापा गोल्डकपको उपाधिमाथि कब्जा जमाइसकेको छ। १० वटा प्रतियोगिता खेलेको थ्रीस्टारले ८ वटामा फाइनल पुगेपनि उपाधि भने इटहरीको मदन भण्डारी, धरानको बुढाशुब्बा, बुटवलको तिलोत्तमा र बुटवलकै मदन भण्डारी गोल्डकपको जितेको छ। 

आर्मीका सामु थ्रीस्टारलाई जित निकाल्न भने त्यति सहज छैन। खेलमा फर्किएपछि तीन महिनाको समयमा राम्रो प्रगति गरेको थ्रीस्टारको चुनौती पन्छाउनु पनि आर्मीलाई चुनौतिपूर्ण छ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले उपाधि रक्षाका लागि उपयुक्त रणनीति तयार पारेर उत्कृष्ट प्रदर्शन गरिने बताए। न्यौपानेले मजवुत टिम भएकाले दुबै टिमबीचको प्रतिष्पर्धा ५०÷५० को अवस्थामा रहने उल्लेख गरे। आर्मी भरत खवासको कप्तानीमा स्टार खेलाडी नवयुग श्रेष्ठ लगायतलाई लिएर मैदानमा जाँदैछ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आर्मीसँग यस अघि दुईवटा गोल्डकपमा बेहोरेको हारको बद्ला लिने अवसरका रुपमा विराट गोल्डकपलाई लिएको बताए। आर्मीका पूर्व प्रशिक्षकसमेत रहेका उनले थ्रीस्टार विरुद्ध अवसरको सिर्जना गरेर चान्स पाउन साथ ‘क्लिक’ गर्ने रणनीति रहेको बताए। सुरुवाती गोल गर्ने टिमले नतिजा आफ्नो पक्षमा पार्ने उनको बुझाइ छ। निराजन खड्काको कप्तानीमा मैदानमा जाने तयारीमा रहेको थ्रीस्टारका  साथमा जापानीज खेलाडी ताकायु, स्टार खेलाडी विमल घर्तीमगर, बुद्ध चेम्जोङ र विदेशी खेलाडीहरु मार्टिन र पिटरलगायत छन्।

प्रतियोगितामा विजेता टिमले १२ लाख ७१ हजार र उपविजेताले ५ लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड प्रदान गरिंँदै आएको छ।

म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने आयोजक समितिका अध्यक्ष नविन रिजालले बताए। उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५÷२५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिनेछ ।

आयोजकले गोल्डकपमा सहभागि सबै टिमलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरेको थियो। 

क–कसले जिते विगतका उपाधि?

इलेभन जेवल्स भारत–२०१८
मोरङ–११– २०१९
भातृ संघ भारत–२०२०
माल्दा टाउन भारत–२०२१
माल्दा टाउन भारत–२०२२
विद्याचन्द क्लब भारत–२०२३
मैत्री सम्मेलिनी भारत–२०२४
सान्ता फोसिया क्लब भारत–२०२५
साना विएससी क्लब भारत–२०२६
एषा टेलिहस्र्ट भारत–२०२७
कोक ओभर भारत–२०२८
जर्ज टेलिग्राफ भारत–२०२९
टाउन क्लब भारत–२०३०
थिम्पु–११ भुटान–२०३१
सेन्ट्रल एक्साइस कस्टम भारत–२०३२
एसियन नर्थ क्लब भारत–२०३३
महेन्द्र पुलिस क्लब काठमाडौं–२०३४
लार टाउन क्लब भारत–२०३५
महिन्द्रा एण्ड महिन्द्रा भारत–२०३६
ब्वाइज युनियन क्लब काठमाडौं–२०३८
जनकपुर चुरोट कारखाना–२०४४
मनाङ–मस्र्याङ्दी क्लब काठमाडौं–२०४५
जनकपुर चुरोट कारखाना–२०४८
इष्टर्न रेल्वे भारत–२०५१
एनआरटी क्लब काठमाडौं–२०५४
रानीपोखरी क्लब काठमाडौं–२०५६
महेन्द्र पुलिस क्लब काठमाडौं–२०५९
महेन्द्र पुलिस क्लब काठमाडौं–२०६०
हिमालयन शेर्पा काठमाडौं–२०६८
संकटा क्लब काठमाडौं–२०६९
झापा–११–२०७१
सशस्त्र प्रहरी बल (एपीएफ)–२०७२

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.