|

काठमाडौं : नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सचिव सरुवामा एकलौटी निर्णय लिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

माओवादी केन्द्रका मन्त्रीहरुले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग सामूहिक भेटगरी प्रधानमन्त्री ओलीले सचिवहरुको सरुवामा एकलौटी निर्णय लिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। दाहाल निवास खुमलटारमा सोमबार बिहानै पुगेका माओवादी केन्द्रका मन्त्रीहरुले सचिवहरुको सरुवा गर्ने विषयमा सत्ता साझेदार दलसँग समेत छलफल नगरेको गुनासो समेत गरेका थिए।

सचिव सरुवाको विषयमा क्याबिनेटमा समेत छलफल नगरिएकोमा मन्त्रीहरुको गुनासो रहेको पार्टीका प्रवक्ता पम्फा भुसालले स्वीकार गरिन। उनले राजनीतिक सहमतिकै आधारमा सचिव सरुवा गरेको भए उपयुक्त हुने धारणा मन्त्रीहरुले पार्टी नेतृत्वसँग राखेको पनि बताइन्। प्रधानमन्त्री ओलीले भारत भ्रमणमा जानुअघि बिहीबार बेलुका ३० जना सचिव सरुवा गरेका थिए। सोही विषयमा परामर्शसमेत नगरिएको माओवादी केन्द्रका मन्त्रीहरुको गुनासो छ।

भेटमा मन्त्रीहरुले सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा पनि पार्टी अध्यक्षसँग परामर्श गरेका थिए। जनताको आकांक्षा सम्बोधन हुने गरी मन्त्रालयको कामलाई प्रभावकारी बनाउने विषय र बजेटका विषयमा पनि छलफल गरिएको प्रवक्ता भुसालले जानकारी दिइन्।

यता, अध्यक्ष दाहालले भने २ दलबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेकाले सोहीअनुसार अघि बढन पनि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई सचेत गराएका थिए। उनले जनताको अपेक्षाअनुसार काम गर्न पनि मन्त्रीहरुको गम्भीर ध्यानाकर्षण गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.