थाहा संवाद

चैत २६ विचार बन्धनले मुक्ति पाएको दिन  : राधाकृष्ण मैनाली
SHARES

चैत २६, २०७४

    काठमाडौं : नेपाली राजनीतिमा चैत २६ गतेलाई परिवर्तनको महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ। २०४६ सालको जनआन्दोलनको महत्त्वपूर्ण दिनका रूपमा समेत लिइन्छ चैत २६ लाई। २०१७ पुस १ गते अपहरण भएको नेपाली जनताको नागरिक हक २०४६ चैत २६ गते दलहरूमाथि लगाइएको प्रतिबन्ध फुकुवा भएपछि पुनःस्थापना भएको थियो।

    कांग्रेस नेता गणेशमान सिंहले ३० वर्षे पञ्चायती व्यवस्था अन्त्य गर्न नेपाली कांग्रेसले वाम मोर्चासँग मिलेर जनआन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेका गिए। नेता सिंहको अडान र नेतृत्वमा २०४६ फागुन ७ गतेदेखि सुरु भएको जनआन्दोलनले चैत २६ गते सफलता प्राप्त गरेको थियो।

    चैत २६ गते आन्दोलनकारीका तर्फबाट नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई र महामन्त्री गिरिजाप्रसाद कोइराला तथा संयुक्त वाममोर्चाका तर्फबाट अध्यक्ष सहाना प्रधान र राधाकृष्ण मैनालीले राजदरबारमा राजा वीरेन्द्रसँग वार्ता गरेका थिए। उक्त प्रत्यक्ष संवादले पञ्चायती संविधानबाट 'दलविहीन' शब्द हटाउने सहमति भयो। राजा वीरेन्द्रसँग वार्ता गर्ने चार जनामध्ये अहिले राधाकृष्ण मैनाली मात्र जीवित छन्। सोही सन्दर्भमा आधारित रहेर थाहाखबरकी देविका घर्ती मगरले नेता मैनालीलाई तीन प्रश्न सोधेकी छन्।  

    २०४६ साललाई कसरी सम्झनुहुन्छ?

    यो २८ वर्ष पहिलेको कुरा हो। नेपालको राजनीतिक आन्दोलनमा २०४६ चैत २६ गते ऐतिहासिक दिन हो। अहिले गणतन्त्र आएर गणतन्त्रको कुरा गरिरहेका बेलामा २०४६ साललाई धेरै मान्छेले बिर्सिंदै गएका छन्। त्यतिबेला पञ्चायती शासनले जनतालाई आफ्नो आस्था जगाउनै दिँदैनथ्यो। आफ्नो विश्वास प्रकट गर्न दिँदैनथ्यो। आस्था र विश्वासलाई मारेर अरूका कुराहरूमा आफू रमाउनुपर्ने स्थिति थियो। त्यस्तो बेलामा त्यसविरुद्ध लड्नु सजिलो कुरा थिएन। 

    ३० वर्षे पञ्चायती शासनको दौरान हजारौँ मान्छेले जीवन बलिदान दिए। जेल जाने र प्रवास बस्‍नेको संख्या त कति थियो, अहिलेसम्म कसैले तथ्यांक निकालेकै छैन। हजारौँ मान्छेहरू प्रवासमा गएर भूमिगत बसेर आफ्नो जीवनको आस्थाका लागि काम गर्ने अभियानमा लागिरहे। ती सबै आन्दोलनको परिणाम हो, २०४६ चैत २६।यस दिन देशमा निर्दलीयताको अन्त्य भएर बहुदलीय व्यवस्था अगाडि आयो। यसले गर्दा मान्छेको दिमागमा बनेको विचारलाई बाहिर प्रकट गर्न पाउने दिन बन्यो। विचार बन्धनको मुक्ति पाएको दिन हो, चैत २६ गते। आर्थिक रूपमा त्यसले ठूलो परिवर्तन गर्‍यो भन्‍ने त मलाई लाग्दैन तर वैचारिक रूपमा भने मान्छेको आस्था र विश्वासलाई प्रकट गर्न पाउने एउटा उन्मुक्तिको दिनको रूपमा आज पनि चैत २६ गतेलाई सम्झनुपर्छ। 

    त्यो उन्मुक्तिपछि नै देशमा गणतन्त्र आउने दिनको पृष्ठभूिम बनेको हो। गणतन्त्रले देशलाई जीविका उन्मुख बनाउने दिन पनि त्यसले नै खोलेको हो। आम मान्छेको जीविका सहज हुने दिन कहिले आउँछ, त्यो त अहिले पनि टुंगो छैन। एक दिन देशमा सबै मान्छेले खान-लाउन पुग्‍ने दिन आयो भने पनि त्यो वास्तवमा २०४६ चैत २६ गते नै त्यसको एउटा मुहान हो। 

    त्यस बेला संचार सम्पर्कको अवस्था सहज थिएन। तपाईंहरू आन्दोलनलाई कसरी अगाडि बढाउनुहुन्थ्यो?

    त्यस बेला नेपालमा संचार सुविधा अहिले जस्तो सर्वसुलभ थिएन। देशभरमा त्यस बेला पाँच/छ हजारको हाराहारीमा टेलिफोन थिए। त्यही पनि त्यस बेलामा कसैको घरमा टेलिफोन हुनु भनेको सम्पन्‍नताको प्रतीक मानिन्थ्यो। टेलिभिजन सुरु भएको पाँच/छ वर्ष भएको थियो। दिनमा तीन/चार घण्टा प्रसारण हुन्थ्यो। दरबारकै समाचार इर्तगिर्तका कुरा भन्दैमा टिभीको समय सकिन्थ्यो।

    त्यस बेला देशका सबै भागमा सुनिने संचार माध्यम भनेको रेडियो नेपाल हो। एफएमहरू त्यति बेला थिएनन्। रेडियो पनि सुन्‍न जति सुनिए पनि सुनाउने विषय भनेको दरबारको मात्रै हुन्थ्यो। आम मान्छेका जीवनका सुखदु:खका कुराहरू त्यसमा आउँदैनथे तैपनि मान्छेलाई संचार साधन भनेको रेडियो भएकाले सुन्‍थे। 

    त्यस्तो बेलामा आन्दोलन अगाडि लान साह्रै गाह्रो थियो। त्यति हुँदाहुँदै पनि त्यतिखेर २०४६ सालको आन्दोलनमा टेलिफोनको भूमिका महत्त्वपूर्ण थियो। देशका धेरै शहरहरूमा केही न केही खबर वरबाट पर लिकेज हुन्थ्यो। अनि योजनाहरू बनाउन हामी टेलिफोनको सदुपयोग गर्थ्यौं। काठमाडौंमै पनि जनतालाई सडकमा उतार्न टेलिफोनको ठूलो भूमिका रह्यो। टेलिफोनको जति सदुपयोग भयो, त्यसले आन्दोलनलाई सहज र सुलभ बनाएर जनतालाई सडकमा उतार्न सफल भएको थियो। 

    चैत २६ गते राजा वीरेन्द्रसँग वार्ता हुँदा केके भएको थियो? त्यसलाई कसरी सम्झनुहुन्छ?

    चैत २४ गते त्यतिखेरको प्रधानमन्त्री मरिचमान सिंहले राजीनामा दिनुभयो। त्यसपछि मैले सुनेअनुसार नयाँ सरकारका सन्दर्भमा दरबारमा मान्छेहरूमा छलफल चलेपछि कसैले पनि जिम्मा लिन मानेनन्। तत्कालीन राजा वीरेन्द्रले लोकेन्द्रबहादुर चन्दलाई चलाउनुपर्‍यो भनेर जिम्मा दिनुभयो। चन्दजीले जिम्मा लिइसकेपछि २४ गते राती चार जनाको मन्त्रीमण्डल बन्यो। लोकेन्द्रजी, पशुपतिशमशेर राणा, अच्यूतराज रेग्मी र नयनबहादुर स्वाँर। चार जनाको मन्त्रीमण्डल बनेको थियो। त्यो मन्त्रीमण्डल बनाउनेवित्तिकै राजनीतिक बन्दीहरू गणेशमान, किशुनजी र गिरिजाबाबुलाई 'हाउस एरेस्ट' गरेको थियो। अरूलाई त जेल नै पठाएको थियो।

    पद्मरत्न तुलाधर त्यतिखेर राष्ट्रिय पञ्चायतको सदस्य नै हुनुहुन्थ्यो। उहाँलाई पनि जेल नै पठाएको थियो। उहाँको जेलबाट रिहाइ भयो। रिहाइपछि पद्मरत्न तुलाधरलाई राष्ट्रिय पञ्चायतको सदस्य भएको नाताले लोकेन्द्रजीहरूले पद्मरत्नमार्फत् हामीलाई सम्पर्क गराउन कोसिस गरियो। मलाई लाग्छ, पद्मरत्नजीले भेला पारेर वाम मोर्चाका त्यतिखेरका सात घटकका सात नेतालगायत मनमोहनजीलाई एक ठाउँमा भेला पार्ने काम गर्नुभयो। किनभने त्यतिबेला कर्फ्यू लागेको थियो। हिँड्न डुल्न पनि सकिँदैनथ्यो। त्यस्तो बेलामा सेनाको गाडी लिएर पद्मरत्नजीले नै उहाँको घरमा हामी सबैलाई चैत २६ गते बिहान ११/१२ बजेतिर भेला पार्नुभयो। 

    तीन/चार दिनदेखि गर्न नसकिएको वाम मोर्चाको बैठक पद्मरत्नजीको घरमा बस्यो। त्यहीँबाट हामी गणेशमानजीसँग सम्पर्क गरेर कसरी अब सरकारसँग वार्ता गर्ने कि नगर्ने ? कुरो भएपछि दरबारबाट वार्ता गर्ने कुरा आयो। पशुपतिशमशेरजी नै मन्त्रीको हिसाबमा हामीसँग सम्पर्क गर्न आउनुभएको थियो। पहिले नेपाली कांग्रेसका कार्यकर्ता रहनुभएका रेग्मीजीले कांग्रेसतिर सम्पर्क गर्नुभयो। पशुपतिजीले हामीसँग सम्पर्क गरेर पद्मरत्नमार्फत् बेलुका वाम मोर्चा र नेपाली कांग्रेसको सहमतिमा चार जनाको प्रतिनिधिमण्डल तयार भयो। त्यसमा किशुनजी, गिरिजाबाबु, वाम मोर्चाकी अध्यक्ष सहाना प्रधान र म थियौँ। हामी चार जना बेलुकी करिब ९ बजेतिर आर्मीको स्कर्टिङमा लोकेन्द्रजी (प्रधानमन्त्री)कहाँ बालुवाटार पुगेर दरबारमा गयौँ। करिब साढे ९ बजेतिर हामी दरबारभित्र प्रवेश गर्‍यौँ। साढे ११ बजेसम्म अलमल भयो। 

    हामीसँग के विषयमा कुरा हुन्छ भनेर हामी वामपन्थीसम्म कुरो आएको थिएन। नेपाली कांग्रेससँग मन्त्री रेग्मीमार्फत् दलमाथिको प्रतिबन्ध मात्रै हटाउने भन्‍ने कुरामा गिरिजाबाबु र किशुनजीसँग मात्रै सहमति भइसकेको रहेछ। उहाँहरूसँग सहमति भएको र सम्पूर्ण पञ्चायतका निकाय विघटन भएर बहुदलीय सरकार बन्‍नुपर्छ भन्ने अडानमा गणेशमानजी टिकिरहनुभएको अवस्था रहेछ। उहाँहरूबीच द्वन्द्व भइरहेको अवस्थामा हामी वाम मोर्चाका साथीहरू मनमोहनजी, सहाना र म गणेशमानजीलाई भेट्न आउँदा त्यहाँ कुरा प्रष्ट भयो। 

    त्यहाँ सरकारी टिमले पनि कुरो उठाए। त्यहाँ कुरो उठाउँदा गणेशमानजीले पछि अन्तिम-अन्तिम निष्कर्ष के निकाल्नुभयो- दरबार जाने। वाम मोर्चाबाट दुई जना जाने। कांग्रेसबाट भट्टराई र गिरिजाप्रसाद जाने र पञ्चायतको सम्पूर्ण निकाय विघटन गरेर बहुदलीय सरकारको स्थापना गर्ने माग गरेर आउने भन्‍ने गणेशमानजीको प्रष्ट निर्णय उहाँले सुनाउनुभयो। यो नभएसम्म मचाहिँ दरबार जान्‍नँ, तपाईंहरू जानुस् भन्‍नुभयो।

    त्यही कुरा हामीले त्यहाँ भन्यौँ। राजाले त्यो कुरा त्यसै दिन मानेनन्। पहिले भएको सहमतिअनुसार भनेर नेपाली कांग्रेसतिर देखाएर उहाँहरूको एक किसिमको सहमति भइसकेको रहेछ। दलमाथिको प्रतिबन्ध हटाउने कुरो भयो। त्यति नै कुरोलाई लिएर हामी २६ गते बेलुका फर्कियौँ। त्यतिखेर पञ्चायतका सबै निकायहरू थिए। दलमाथिको प्रतिबन्ध हटेको हुनाले चैत २७ गते देशव्यापी रूपमा ठूला दलीय जुलुसहरू अगाडि आए। त्योभन्दा पनि हाम्रो वाम मोर्चा र नेपाली कांग्रेसबीचको आन्दोलन गर्ने सहमति टुटेन। गणेशमानजीकै कारणले हामी वामपन्थीहरू पनि सम्पूर्ण रूपले पञ्चायत विघटन भएन भने बहुदल आउँदैन भन्ने कुरामा अडिग भएर त्यो मोर्चालाई नटुटाईकन जाँदा बैशाख ३ गते पञ्चायतका सबै निकायहरू विघटन भए। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बैशाख ५ गते बहुदलीय सरकार गठन भयो। 

    त्यतिखेर गणेशमानजीको अडान अद्वितीय नै थियो। मलाई अहिले पनि स्मरण छ, जति फकाए पनि बहुदलीय व्यवस्था नआएसम्म पछि नहट्ने उहाँको अडान थियो। नेपाली कांग्रेसमा उहाँको अडान त्यो नभएको भए हामी वामपन्थीहरू मात्रै बहुदलीय व्यवस्था आउन सजिलो थिएन। बहुदलीय स्थापना गर्ने आन्दोलनमा अरू आन्दोलनकारीहरूको जति भूमिका थियो, त्यसमा अडान राख्‍ने कुरामा गणेशमानजीको भूमिका त्यतिकै महत्त्वपूर्ण र त्यतिकै उचाइको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]