|

विराटनगर : थ्रीस्टार क्लबले विराटनगरमा सम्पन्न विराट गोल्डकपको उपाधि चुमेको छ। शहीद रंगशालामा सोमबार भएको फाइनल खेलमा ३–० को फराकिलो गोल अन्तरले सिजनकै सर्वाधिक उपाधि जितेको विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई निराश बनाउँदै थ्रीस्टारले उपाधि कब्जा गरेको हो।

विराट गोल्डकपसँगै थ्रीस्टारले सिजनमा पाँचौं उपाधि उचालेको छ। सन्तोषजनक खेल पस्कन नसक्दा आर्मी भने सिजनको आठौं उपाधिबाट विमुख बन्यो।

थ्रीस्टारको जितमा अनन्त तामाङले एक र बिमल घर्तीमगरले दुई गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ५६औं मिनेटमा गोलको खाता खोलेको थ्रीस्टारले त्यससँगै आर्मीविरुद्ध तीन गोल वर्षायो। थ्रीस्टारका रजिन धिमालको कर्नर प्रहारमा अनन्त तामाङले हेडमार्फत उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाउँदा आर्मी दबाबमा पर्‍यो। ७६औं मिनेटमा बिमल घर्तीमगरले पेनाल्टीमार्फत गोल गरेपछि खेल २–० को अवस्थामा आयो।

आर्मीका जितेन्द्र कार्कीले डिबक्सभित्र विदेशी खेलाडी मार्टिनलाई तानेर लडाएपछि थ्रीस्टारले पेनाल्टीको मौका पाउँदा बिमल चुकेनन्।  र, ८८औं मिनेटमा बिमलले अन्तिम गोल थप्दै खेललाई ३–० को अवस्थामा ल्याएपछि आर्मी सम्हालिन सकेन।

घरेलु मैदान आर्मीका कप्तान भरत खवासका लागि अफापसिद्ध भयो। स्टार खेलाडी नवयुग श्रेष्ठले प्रदर्शन पनि सन्तोषजनक रहेन। आर्मीका प्रशिक्षक नविन न्यौपानेले विपक्षी खेलाडीलाई ‘मार्किङ’ गर्न नसक्दा निराशाजनक नतिजा हात पारेको बताए। ‘सुरुदेखिनै थ्रीस्टारले प्रेसर दिएर खेल्यो,’ उनले भने, ‘हाम्रा मिडफिल्डरले स्ट्राइकरलााई बल सप्लाई राम्रोसँग गर्न सकेनन्।’ न्यौपानेले पाएका मौकालाई सदुपयोग गर्न नसक्नु पनि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आत्माबल नगिराइ र विपक्षीलाई प्रेसर दिएर खेल्दा नजिता आफ्नो पक्षमा परेको प्रतिक्रिया दिए।

यस सिजनमा थ्रीस्टार र आर्मीको विराट गोल्डकप चौथो भेट हो। चौथो भेटमा एकअर्कामा बराबरी जित हारको अवस्था रह्यो। यसअघि खप्तड गोल्डकपको क्वारटफाइनलमा २–१ र सीमरा गोल्डकपको फाइनलमा २–० गोल अन्तरले आर्मीले थ्रीस्टारलाई स्तब्ध बनाएको थियो। इटहरीमा सम्पन्न मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा भने आर्मी थ्रीस्टारसँग टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित भएको थियो।

सिजनको अन्त्य हुँदा थ्रीस्टारले विराट गोल्डकपसँगै पाँचवटा उपाधि हात पारेको छ। उसले इटहरीको मदन भण्डारी, धरानको बुढासुब्बा, बुटवलको तिलोत्तमा र बुटवलकै मदन भण्डारी गोल्डकपको उपाधि उचालिसकेको छ। आर्मीको सिजनमा आठौं उपाधि हत्याउने इच्छा विराट गोल्डकपमा भने पूरा हुन सकेन। उसले यसअघि वीरगन्जको विशाल मेमोरियल, झापा झिलझिलेको सताक्षी, मेची नेत्रालय काँकडभिट्टा, धनगढीको खप्तड, बाराको सिमरा, हेटौंडाको समुन भोम्जन स्मृति र झापा गोल्डकपको उपाधिमाथि कब्जा जमाएको थियो।

विराट गोल्डकप विजेता थ्रीस्टारले १२ लाख ७१ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो। उपविजेता आर्मीले पाँच लाख ५१ हजार रुपैयाँमा चित्त बुझायो। फाइनल खेलको म्यानअफ दि म्याच थ्रीस्टारका मार्टिनले १० हजार रुपैयाँ पुरस्कार पाए। म्यान अफ दि टुर्नामेन्ट घोषित थ्रीस्टारका अनन्त तामाङले मोटरसाइकल प्राप्त गरे। उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी र व्यवस्थापक मुकेश नकर्मी घोषित भए। उत्कृष्ट गोलरक्षक थ्रीस्टारका एलन न्यौपाने, उत्कृष्ट मिड फिल्डर थ्रीस्टारकै सुनिल बल, फरवार्ड आर्मीका भरत खवास, डिफेन्समा आर्मीका बिमल पाण्डे घोषित भए। उनीहरुले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए। सर्वाधिक गोलकर्ता बिमल घर्तीमगरले पनि २५ हजार पाए। उनले प्रतियोगिता भर चारवटा गोल गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.