|

डोल्पा : घोडा चढेर वर्षौदेखि यात्रा गर्दै आएका तल्लो डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ का लंका बुढा पहिलो पटक गाउँमा मोटर देख्दा दंग भए। पुस्तौंपछि गाउँसम्म मोटर पुगेपछि उनीलगायत सबै दंग छन्।

घोडाको भरमा वर्षौदेखि आवतजावत गर्दै आएका यहाँका स्थानीयका घर आँगनमा मोटर पुगेपछि खुसीले फुरुङ्ग थिए मानिसहरु। पिठ्यूँ र थाप्लोमा भारी बोकेर हैरान भएका कालिकाका स्थानीय रामबहादुर बुढाले बाटो छोटिएको भन्दै खुसीका आँसु खसाले। भारी बोक्दा बोक्दै कयाैं पुस्ता यही माटोमा विलीन भएको भन्दै उनले अब आफ्नो सुखका दिन आएको भन्दै खुसीको आँसु खसालेका हुन्। जाजरकोट र नेपालगन्जबाट कपडा, नुन, चामल ल्याएर आउन मात्र तीन महिना लाग्ने अनुभव श्रीविणेका रत्नप्रसाद बुढाले सुनाए। उनका अनुसार यस क्रममा कसैकसैको बीच बाटोमै मृत्यु हुन्थे। उनीहरुको मृत्युको खबर एक वर्षपछि मात्र थाहा हुने गरेको गर्थ्यो। सडक गाउँसम्म पुगेपछि दिन फेरिएको भन्दै सडक निर्माण गर्ने नेपाली सेनालाई स्थानीयवासीले धन्यावाद दिए। गाउँमा पहिलो पटक पुगेपछि तल्लो डोल्पामा अब घोडा र खच्चडको युग सकिएको भन्दै हर्षोल्लासको नाराबाजी गरे। 

 चार किलोमिटर बाँकी  

नेपाली सेनाले १४ वर्षदेखि निरन्तर जाजरकोट-डोल्पा सडकखण्ड निर्माण गर्दै आएको छ। जाजरकोटदेखि डोल्पाको दुनैसम्म ११८ किलोमिटरमध्ये अहिले एक सय १४.७ किलोमिटर ट्रयाक खोलेको र ९१ किलोमिटरमा आइतबारदेखि औपचारिक रुपमा यातायातका साधन सञ्चालनमा अाएका छन्। तल्लो डोल्पाको खदाङसम्म गाडीको पहुँच पुगेसंगँ डोल्पाखण्डमा मात्र १५ किलोमिटर सडकभित्र हलुका सवारी साधान सञ्चालनमा आएको नेपाली सेनाका निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडीले जानकारी दिए।

कडा चट्टान र सयौं भीरपहारा कटान गर्दै सेनाले तल्लो डोल्पामा सडक पुर्‍याएको हो। टोपी खस्ने भीर फोर्दाफोर्दै यस सडकखण्डमा दर्जनभन्दा बढी मदजुरको समेत मृत्यु भइसकेको छ। चट्टान नै चट्टानले बनेको भू-बनोटका कारण यस सडकखण्ड निर्माणमा ठूलो चुनौती थपिएको छ।

एउटा भीर कटान गर्न दुई वर्षभन्दा बढी समय लाग्ने गरेको सेनाले बताएको छ। जाजरकोट देखि डोल्पासम्म आधा दर्जन बेस क्याम्प स्थापना गरी निर्माण कार्य जारी राखेको छ। डोल्पाको त्रिवेणी, करवगाड हुँदै खदाङ सम्म यातायातको पहुँच पुगेसँगै डोल्पाको सदरमुकाम दुनै र माथिल्लो डोल्पासम्म दैनिक उपभोग्य अायात गर्न र यस क्षेत्रको जडीबुटी निर्यात गर्न सहज भएको स्थानीयको भनाइ छ।

यस सडकखण्डमा अब चार किलोमिटर सडक मात्र खन्न बाँकी छ। खडकखण्डको ९१ किलोमिटरभित्र यातायातका साधन सञ्चालन आइसककेको कर्णेल पहाडीले बताए।

यसो भन्छन् सांसदहरु 

पूर्वशान्ति मन्त्री तथा डोल्पाकी सांसद सत्या पहाडीले सडक जोडिनु महत्वपूर्ण उपलब्धी भए पनि जिल्लामा उत्पादन भएका वस्तु निर्यातमा समेत ध्यान दिनुपर्नेमा जोड दिइन्। यहाँको जडीबुटीको निर्यात हुनुपर्ने बताइन्। यो सडक चीनसँग जोडिने भएकाले त्रिदेशीय नाकाका रुपमा विकास गर्नका लागिपरेको पहाडीको भनाइ छ। डोल्पाका प्रदेशसभा  सांसद वीरबहादुर शाहीले स्थानीय उत्पादनलाई जोड दिनुपर्नेमा जोड दिए।   

सेनालाई सम्मान

प्रदेशसभाका सदस्य बीरबहादुर शाही, पद्मा बोहराले सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्ववन्धु पहाडीलाई सम्मान गरेका छन्। त्यस्तै त्रिपुरासुन्दरी नगरपालिकाले पनि सम्मान गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.