|

विराटनगर : पूर्वको चर्चित र ऐतिहासिक ‘विराट गोल्ड कप फुटबल टुर्नामेन्ट–२०७४’ एउटा नयाँ सन्देश दिँदै सकिएको छ। प्रदेशको अस्थायी राजधानी भएपछि आयोजित विराट गोल्डकपको व्यवस्थापन पक्ष राजधानी बन्न लायक देखियो।

कार्यक्रममा सहभागी उच्च अधिकारीदेखि दर्शकसम्मले यस पटकको गोल्डकपको व्यवस्थापन पक्षको खुलेर प्रशंसा गरे। रातको समयमा आयोजना सफल तरिकाले सम्पन्न गरेपछि धेरैले विराट गोल्डकपबाट प्रेरणा लिनसक्ने बताएका छन्।

लामो र ऐतिहासिक श्रृंखला पार गर्दै आएको विराट गोल्डकपले यसपटक दर्शक तथा खेलप्रेमीलाई नयाँ स्वाद चखायो भने आयोजकका लागि नयाँ सन्देश दियो। रातको समयमा खेल आयोजनालाई व्यवस्थित गर्नु र सफलतापूर्वक सम्पन्न गर्नु निकै चुनौतीपूर्ण थियो।

‘यसपटकको विराट गोल्डकपले हामी सबैलाई सकारात्मक सन्देश दिएको छ,’ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने, ‘काठमाडौंमा यति व्यवस्थित तरिकाले गर्न नसकेको गेम हामीले गरेर देखायौँ, फेरि पनि राजधानीका लागि विराटगर नै एक मात्र विकल्प हो।’

कार्यक्रमको समापन समारोहमा उपस्थित युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनारले पनि विराट गोल्डकपको प्रशंसा गरे। ‘डे–नाइट गेम गराएर देशलाई एउटा सन्देश विराट गोल्डकपले दिएको छ,’ सु्नुवारले भने, ‘आयोजक र व्यवस्थापकको यो स्तरको खेल गराउन सफल हुनुभएकोमा आभार व्यक्त गर्दछु।’

सबैको प्रशंसाले प्रफुल्लित बनेका विराट गोल्डकप प्रतियोगिताका संयोजक नवीन रिजालले स्थायी रुपमा आगामी वर्ष फ्लड लाइड जडान गर्न सबैलाई सहयोग आह्वान गर्ने बताए। ‘बैंकको खाता खोलेर सबैलाई फ्लड लाइट जडान गर्न आह्वान गर्छौं,’ उनले भने, ‘दर्शकले नाइट गेमलाई रुचाएका छन्।’ प्रतियोगिता व्यवस्थित र भव्य भएको रिजालको भनाइ छ। माहानगर प्रमुख भीम पराजुलीले नाइट गेम गराउनका लागि स्थायी ढंगले पहल गर्ने बताए।

विराट गोल्ड कप ट्रस्टको यसपटकको फुटबल टुर्नामेन्ट ३३औँ प्रतियोगिता हो। विगतको तुलनामा यसपटकको विराट गोल्डकपमा दर्शकको ओइरो लागेको थियो। खेल मैदानमा लगाइएको तार जाली होस् वा प्रायोजकको व्यवस्थित प्रचार सबै कुरा यहाँको सन्दर्भमा मिलेको देखियो।

खेल अवधिभर कुनै खालका अप्रिय घटना पनि भएनन्, सुरक्षा व्यवस्था मजबुत थियो। डे नाइटको चर्चा विराटनगरमा मात्रै नभएर देशभर भएको छ। यसअर्थमा पनि यसपटकको विराट गोल्डकप सफल र उत्कृष्ट भएको मान्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.