|

लहान : इलाका प्रहरी कार्यालय लहानले नगर क्षेत्रका विभिन्न घरमा भएका चोरीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका चार जनामध्ये तीन जनालाई बरामद गरिएका सामानसहित सार्वजनिक गरेको छ। 

प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत् लहान ५ का ३० वर्षीय महेशकुमार साह, लहान ४ का ३३ वर्षीय प्रदिपकुमार सुनार र लहान १० गुदीगाउँका १७ वर्षीय राजुकुमार पासवानलाई सार्वजनिक गरिएको हो। पक्राउ गरिएका गोलबजार नगरपालिका ३ जमदहका ३० वर्षीय दिलिप पासवानलाई म्याद थप गर्न अदालत लगिएकाले तीन जनालाई मात्र सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।  

पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश चन्दले नगर क्षेत्रका चार ठाउँमा भएका चोरीमा संलग्न रहेकामध्ये चार जना पक्राउ परेको र चार जना फरार रहेकाले खोजी भइरहेको जानकारी दिए। 

पक्राउ परेकाहरुले नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष समेत रहेका लहान १ का मनोज बनैताको घरबाट एक लाख ८८ हजार, लहान ८ का मुकेश साहको घरबाट १६ लाख ३७ हजार, लहान ३ की शर्मिला वि.क.को घरबाट तीन लाख र शिवनारायणको घरबाट २२ हजार बराबरको नगद र गरगहना चोरेको स्वीकार गरेको प्रहरी नायव उपरीक्षक चन्दले बताए। 

चोरीको गहना पगालेर बिक्री

प्रहरीले पक्राउ गरिएकाको वयानको आधारमा चोरी गरिएका सुनचाँदीका गहना पगालेर खरिद गरी आफ्नै पसलको रहेको दावी गर्ने गोलबजारका तीन जनालाई पनि पक्राउ गरेको छ। प्रहरीका अनुसार मुकेशको घरबाट चोरिएको मध्ये ९१२ ग्राम चाँदी, ६.९८ ग्राम सुन खरिद गरेका स्थानीय मुरली मनोहर ज्वेलर्सका मनोज वि.क., गोविन्दकुमार यादवको ज्वेलर्सबाट पाँचथान पायल र एक थान चाँदीको ब्रासलेट बरामद गरिएको छ।

त्यस्तै, बनैताको घरबाट चोरी भएकोमध्ये चार आना सुन पगालेर खरिद गरेका त्रिदेवकुमार साह, वैभव सिन्धेको पसलबाट नौ तोला चाँदी, शर्मिलाको चोरिएको सामान खरिद गरेका स्थानीय प्रथमलाल शास्त्रीको पसलबाट एक आनाको सुनको फुली, दुई तोला चाँदी बरामद भएको छ।

बनैताको चोरिएको सोनी मुभी क्यामेरा पक्राउ गरिएका महेशबाट बरामद भएको प्रहरी नायव उपरीक्षक चन्दले बताए। पक्राउ गरिएकाहरुलाई चोरीको मुद्दा चलाइएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.