'फुटबल म्याच फिक्सिङको कुशल अनुसन्धान र घैँटेको इन्काउन्टर'

|

काठमाडौं : नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) सर्वेन्द्र खनाल नियुक्त भएका छन्। मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो। 

३० वर्षे सेवा अवधिका कारण महानिरीक्षक प्रकाश अर्यालको अवकाश भएसँगै खनाल नयाँ महानिरीक्षकमा नियुक्त भएका हुन्। प्रहरी नियमावलीअनुसार अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)बाट प्रहरी महानिरीक्षक बन्ने प्रावधान रहेको छ। 

तर ३० वर्षे सेवा अवधिका कारण अर्यालसँगै १५ जना एआइजीले र वरियतामा अगाडि रहेका डीआइजीहरू गोविन्दप्रसाद निरौला, रोमेन्द्रसिंह देउजा, सुदीप आचार्य, गणेश केसी, केदारमानसिंह भण्डारी, रमेश भट्टराई, पुष्पचन्द्र रञ्जितले समेत अवकाश पाएपछि डिआइजीबाट महानिरीक्षक नियुक्त गरिएको हो। 

यसअघिका महानिरीक्षक अर्याल पनि डिआइजीबाट नै बढुवा गरेर प्रहरीको नेतृत्वमा पुगेका हुन्।

अर्याल आइजिपी नियुक्त हुँदा भने विवाद उत्पन्न भएको थियो। कार्यसम्पादन मूल्यांकनमा आफूभन्दा तल रहेका डिआइजी जयबहादुर चन्दलाई आइजिपी बनाउने निर्णय सरकाले गरेको भन्दै डिआइजी नवराज सिलवाल सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्च अदालतले सरकारले चन्दलाई आइजिपी बनाउने निर्णयलाई बदर गर्दै कार्यसम्पादन मूल्यांकनको आधारमा आइजिपी नियुक्त गर्न सरकारको नाममा अन्तरिम आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि अर्याल नियुक्त भएका थिए।

डिआइजीमा बढुवा हुँदा ८४.४७ नम्बर ल्याएर खनाल पहिलो नम्बरमा परेका थिए। यसअघिको बढुवाको सूचीमा पहिलो नम्बरमा रहँदै आएका डिआइजी रमेश खरेललाई पछि पार्दै उनी एक नम्बरमा आउन सफल भएका थिए।

खरेल र बढुवाको तेस्रो नम्बरमा रहेका अर्का डिआइजी पुष्कर कार्कीको नामसमेत आइजिपी बन्ने चर्चामा थियो। तर दुवै जनालाई पछि पार्दै खनाल महानिरीक्षकमा नियुक्त भएका हुन्।

यस्तो छ, खनालको प्रहरी करियर

२०४६ माघ २९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा लागेका खनाल डीआइजीबाट आइजिपी बनेका हुन्। यो ब्याचका उनी चर्चित प्रहरी अधिकृत हुन्। प्रहरीको व्यावसायिक छवि बनाएका खनाल काठमाडौंदेखि तराईका विभिन्न जिल्लामा उल्लेखनीय काम गरेर चर्चा आएका थिए।

प्रहरी उपरीक्षकको रूपमा महानगरीय प्रहरी परिसर काठमाडौं, धनुषा प्रहरी प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षकको रूपमा तत्कालीन अंचल प्रहरी कार्यालय नारायणी र महानगरीय अपराध महाशाखाको नेतृत्व सम्हालेका खनाल डिआइजी भएसँगै ट्राफिक महाशाखाको प्रमुख भएका थिए।

प्रहरीमा रोलमोडलका रूपमा चिनिएका खनाल गुण्डानाइके कुमार घैँटेको इन्काउन्टर, राष्ट्रिय फुटबल टिमको म्याच फिक्सिङको सफल अनुसन्धानपछि चर्चामा आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.