नेपालमा काम र कामदार दुवै अभाव कसरी?

|

काठमाडौं : 'प्रिय साथीहरू, मुलुक बनाउने तपाईंहरूले नै हो। दुनियाँ जति बदलिएको छ, युवाहरूको कारण बदलिएको छ। हामी पनि प्रशस्त रोजगारी सिर्जना गरेर मुलुक बनाउने अभियानमा छौँ, हाम्रो अभियानलाई साथ दिनुहोस्।'

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मंगलबार काठमाडौंमा गरिएको अन्तर्क्रियामा युवाहरूलाई आह्‍वान गर्दै भनेका हुन् माथिका वाक्य। गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानेको वृद्धिदर कम भएको तथ्यांकले देखाउँछ। तर मुलुकमा रोजगारीको अवसर सिर्जना भएको कारण होइन, विदेशमा समेत कामको अवसर नपाएका कारण कम भएको वैदेशिक रोजगार व्यवसायीहरूको दाबी छ। बरु युवालाई विदेश पठाउने व्यवसायको नाममा सयौँ युवाले रोजगारी पाएका छन्, दर्जनौँले व्यवसाय चलाएका छन्।

रोजेअनुसारको काम, खोजेअनुसारको दाम

त्यसो त सरकारले देशभित्र रोजगारीका अवसर सिर्जना गरी समृद्ध मुलुक बनाउने 'रोजेअनुसारको काम, खोजेअनुसारको दाम' दिने योजना बनाएर अघि बढेको घोषणा गरिरहेको छ। श्रममन्त्रीले मात्रै होइन, प्रधानमन्त्रीले समेत यस विषयमा सार्वजनिक कार्यक्रमहरूमा आफ्नो धारणा राखिरहेका छन्। 

ठीक यसै सयममा श्रम विभागको घटेको तथ्यांकले पनि औसत तेस्रो मुलुक पुग्‍न एक हजार १०० जनाले श्रम स्वीकृति लिएको देखाउँछ। चालु आर्थिक वर्षको सात महिनाको अवधिमा तेस्रो मुलुक जान दुई लाख १७ हजार बढीले श्रम स्वीकृति लिएका छन्। 

फाइल फोटो, श्रम स्वीकृति लिने क्रममा युवाहरू

नेपालमा प्रत्येक वर्ष पाँच लाख बढी श्रम जनशक्ति आउने गरेकामा साढे तीन लाख वैदेशिक रोजगारीमा ५० हजार स्वदेशी बजारमा र एक लाख बेरोजगार नै बस्ने स्थिति रहेको श्रम मन्त्रालयका अधिकारीहरू बताउँछन्। 

छाला जुत्ता कारखानामा अहिले ५० हजार बढी कामदार रहेका छन्। त्यसमा १५ देखि २० हजार कामदार भारतलगायतका अन्य देशबाट आयात गरिएको छ।

आधिकारिक तथ्यांक नभए तापनि नेपालको गार्मेन्ट, ग्रिल, गरगहना, जुत्ता तथा हस्तकला क्षेत्रमा मात्रै एक लाख बढी विदेशी कामदार रहेको व्यवसायीहरूले बताएका छन्। 'छाला जुत्ता कारखानामा अहिले ५० हजार बढी कामदार रहेका छन्। त्यसमा १५ देखि २० हजार कामदार भारतलगायतका अन्य देशबाट आयात गरिएको छ', जुत्ता उद्योगी होमनाथ उपाध्यायले भने। हस्तकला महासंघका उापध्यक्षसमेत रहेका उपाध्यायले गार्मेन्ट र हस्तकला क्षेत्रमा पनि धेरै विदेशी कामदार रहेको बताउँछन्।

उनका अनुसार अहिले जुत्ता कारखानाहरूमा मात्रै २० हजार नेपालीलाई काम लगाउन सकिने भए तापनि काम गर्ने नभएको बताउँछन्। 'हामी जुत्तामा मात्रै २० हजार जनालाई रोजगारी दिन सक्छौँ तर विदेशमा यही काम गर्न सहज मान्छन्, यहाँ गर्दैनन्', उपाध्यायले भने। 

नेपाल उद्योग वाणिज्य महासंघका रोजगार परिषद् सभापति चन्द्र ढकाल दक्ष जनशक्ति उत्पादन नहुँदा समस्या निम्तेको बताउँछन्। निजी क्षेत्र र सरकारले हातेमालो गरेर दक्ष जनशक्ति निर्माण गर्नुपर्ने उनको भनाइ छ। 'अहिले दक्ष जनशशक्तिको अभाव छ, हाम्रो कामअनुसारको पढाइ छैन, जसले यहाँ काम र कामदार दुवै अभाव भएको छ', ढकालले भने। 

श्रममन्त्री विष्ट अबको चरणमा दक्ष कामदार गुणस्तरीय कामको अभियानमा सरकार रहेको र यसका लागि पहलकदमी सुरु गरेको बताउँछन्। 'हामीलाई दक्ष कामदार र गुणस्तरीय काम चाहिएको हो, यसका लागि हामी नयाँ ढंगबाट अघि बढेका छौँ', विष्टले भने। 

मन्त्री विष्टले कृषि, खनिज र पर्यटन क्षेत्रमा सबैभन्दा बढी जनशक्ति केन्द्रित गर्ने गरी काम गर्न थालिएको बताए। उद्यमीहरूले जस्तै पाठ्यक्रम परिवर्तन गरेरै पनि स्वेदशलाई आवश्‍यक पर्ने श्रम शिक्षा दिइनुपर्ने विष्टको भनाइ छ। 'हामीले उद्योगीहरूसँग छलफल पनि चलाइरहेका छौँ, दक्ष कामदार निर्माणका लागि पाठ्यक्रम नै परिवर्तन गरेर शिक्षा दिनु पनि पर्छ र यसमा हामीले तयारी गरेका छौँ', मन्त्री विष्टले भने। 

विष्टले मुलुकभित्र रोजगारी सिर्जना नै वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्ने दीर्घकालीन उपाय भएको भन्दै यस्तो कार्यमा सरकार अग्रसर भएको बताए। तर सरकारले रोजेको काम, खोजेको दाम दिने गरी श्रम शक्ति निर्माण गर्न पहिलो चरणमा लगानी आवश्‍यक रहेको उद्योगी व्ययसायीको भनाइ छ। श्रमलाई सम्मान गर्ने वातावरण बनाउन पनि सरकारले अभियान चाल्नुपर्ने व्यवसायीको भनाइ थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.