|
फाइल फाेटाे

नवलपरासी : पूर्वी नवलपरासीको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्रभावित बोटे समुदायले माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। 

परम्परागत रुपमा जीविकोपार्जन गर्दै आएका समुदायलाई राज्यले सहयोग गर्नुपर्ने मध्यवर्ती क्षेत्र जनअधिकार महासंघका केन्द्रीय उपाध्यक्ष एवं माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीका अध्यक्ष लालबहादुर बोटेले बताए। माझी, मुसहर, बोटे तथा आदिवासी समुदायलाई बिनाशर्त कानुनतः व्यवस्था गरिएको जंगली सागसिस्नु र कन्दमुल संकलन तथा माछा मार्नका लागि सहज वातावरण मिलाउनुपर्ने उनीहरुको माग छ। 

गत फागुनमा दुई बोटेलाई निकुञ्ज प्रशासनले नारायणी नदीमा माछा मार्ने क्रममा पक्राउ गरेपछि उनीहरु आन्दोलित भएका हुन्। उनीहरुले आन्दोलनका क्रममा नवलपरासीमा रहेका सात मध्यवर्ती उपभोक्ता समिति र एक मध्यवर्तीबाट सञ्चालित सहकारीमा तालाबन्दीसमेत गरेका छन्। 

निकुञ्जले अभियुक्त दुई जनालाई पाँच पाँच हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ भने दुई दिनअघि माछा मार्दै गरेका बाबुछोरालाई नियन्त्रणमा लिएको छ। निकुञ्ज प्रशासनले उनीहरुले तियारी जाल प्रयोग गरेको र गस्तीमा रहेको सेनामाथि अपशब्द प्रयोग गरेका कारण नियन्त्रणमा लिएको बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.