|

काठमाडौं : चर्चित टेलिभिजन प्रस्तोता शिवानी सिंह थारूको उपन्यास ‘काठमाडौंमा एक दिन’ सार्वजनिक भएको छ। 

लेखकासित उपन्यासबारे छलफल गरेर सार्वजनिक गरिएको थियो। साहित्यकार अमर न्यौपानेले लेखक थारूसँग उपन्यास लेख्नेबेलाको अनुभवबारे कुराकानी गरेका थिए।

शिवानीले उपन्यास सार्वजनिक भएपछि जति खुसी हुने सोचिएको थियो त्यति खुसी नलागेको बताएकी थिइन्। उनले भनेकी थिइन्, 'पहिला उपन्यास लेखिरहँदा जति म खुसी हुन्छु होला सोचेको थिएँ त्यति भइन। पहिला मलाई लाग्थ्यो, म उपन्यास सार्वजनिक भए पछि एक फिट उड्छु तर त्यस्तो महसुस भइरहेको छैन।'

उनले उपसन्यास सार्वजनिक भएपछि आफूलाई रित्तो महसुस भएको बताइन्। 'मलाई त रित्तोरित्तो महसुस भइरहेको छ। अनि मैले अहिलै नै केही अर्को लेखिन भने म निरास हुन्छुँ, डिप्रेसनमा जान्छु कि जस्तो लाग्न थालिसकेको छ।’ 

मधेश आन्दोलनपछि देखा परेका सशस्त्र समूहका बारेमा लेखिएको उक्त उपन्यासले सामाजिक अन्यायले कसरी हिंसा निम्त्याउँछ र त्यो हिंसा कसरी प्रतिहिंसामा परिणत हुन्छ भनेर सहज रुपमा बुझाउने बताइएको छ। 

शिवानीले उपन्यासको रचना बारे भनिन्,'म ७ कक्षामा पढ्दा जनआन्दोलन भयो, मास्टर्स पढ्दा दोस्रो जनआन्दोलन भयो । अनि मैले थेसिस गर्दै गर्दा मधेश आन्दोलन भयो। तिनको प्रभाव अवचेतन रुपमा म मा गडेर बसेको थियो सायद। फेरि पारिवारिक पृष्ठभूमि पनि राजनीतिक नै थियो। अनि उपन्यासको पात्रको पृष्ठभन्दा मेरा पृष्ठभूमी पनि त्यति फरक नहोला।' उनले आफ्नो परिवार राजनीतिमा लागेको प्रसंगबारे भनिन्, 'मेरा बुवाले मन्त्री हुँदा ५०५ चुरोट खानुहुन्थ्यो, मन्त्री नहुँदा देउराली। म कहिले मध्यम वर्गीय कहिले निम्म वर्गीय पृष्ठभूमिमा हुर्किएँ। फेरि पात्रहरू प्रति लेखकको “इम्प्याथी” भयो भने जुन परिवेशको कथा पनि उसले लेख्न सक्छ।'

उपन्यासमा प्रयोग भएका शब्दहरूको प्रशंसा गर्दै न्यापानेले थारुले प्रयोग गरेका शब्दावलीहरू प्रज्ञाप्रतिष्ठानको शब्दकोषमा अटाउनु पर्ने बताएका थिए। भाषिकाको प्रयोगले उपन्यासलाई सशक्त बनाएको छ भन्दै  उनले त्यसको प्रयोग बारे जिज्ञासा पनि राखे।

शिवानीले उपन्यासमा अपनत्व होस् र जुन समाजबारे लेखिएको हो त्यसको वास्तविकता झल्कोस् भनेर थारू भाषा र बिम्बको प्रयोग गरिएको बताइन्। शिवानीले भनिन्, ‘आफूले पात्रहरू बनेर बिम्बको कल्पना गरेका हुनाले त्यसो बिम्बहरू राम्रा भएका हुनसक्छन्।’ उनले थपिन्,  ‘यदि घुर्ना नभनिकन मैले हरियो धान खेतीलाई वर्णन गरेको भए मैले धानको खेतमा बगेको हरियो रंग होइन सिफोनको हरियो सारी भनेर लेख्थें हुँला!’

शिवानीको 'काठमाडौंमा एक दिन' उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.