|
मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेत लिफ्ट सिँचाइ कुलोको शिलान्याश गर्दै।

रामेछाप : रामेछाप जिल्लाको मन्थली नगरपालिका-८ स्थित जखनीटार र  गाईखुराका माझी समुदायलाई लक्ष्य गरी लिफ्ट प्रणालीबाट सिँचाइ कुलो निर्माण हुने भएको छ।

रामेछाप जिल्लाको सुख्खा क्षेत्रमा पर्ने जखनीटारको ९५ घर माझी समुदाय र गाईखुराको ५० परिवारका लागि सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले तामाकोसी नदीबाट पानी तान्न लागिएको हो।  

सिँचाइका लागि प्रयोग गर्दै आएका खहरे खोलाहरुमा पानीको मूल फुट्न छोडेपछि जखनीटार र गाईखुरामा सिँचाइको समस्या हुँदा कतिपय जमिन बाँझै रहेको छ।

बाँझो जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सामुदायिक विकास समाज मन्थली र मन्थली नगरपालिकाको सहकार्यमा लिफ्ट प्रणालीबाट कोसीको पानी तान्न लागिएको सामुदायिक विकास समाज मन्थलीका अध्यक्ष मिलनकुमार घिसिङले बताए।

२ सय ३१ रोपनी क्षेत्रफल खेतीयोग्य जमिन रहेको जखनीटारमा सामुदायिक विकास समाज मन्थलीको २० लाख २७ हजार ७ सय ३५ रुपैयाँ, मन्थली नगरपालिकाको ६ लाख ३५ हजार र ७ लाख ४० हजार ८ सय ५० रुपैयाँ बराबर स्थानीयको श्रमदान गरी ३४ लाख ३ हजार ५ सय ९२ रुपैयाँमा लिफ्ट सिँचाइ कुलो निर्माण हुन लागेको हो।

कोसीबाट ६ इन्चको पाइपमा पानी तानेर कोसीबाट १ सय १५ मिटरको उचाईमा ट्यांकी निर्माण गरि पानी जमाएर सिँचाइमा प्रयोग गरिने प्राविधिक कमल राईले बताए। 

त्यसैगरी, १ सय ३१ रोपनी क्षेत्रफल सिँचाइ योग्य जमिन रहेको गाईखुरामा सामुदायिक विकास समाजको २८ लाख २७ हजार ३ सय ७३, मन्थली नगरपालिकाको ७ लाख ४७ हजार ५१ रुपैयाँ, १६ लाख ४९ हजार ६ सय ७२ रुपैयाँ बराबर स्थानीयको श्रमदानसहित ५२ लाख २४ हजार ९६ रुपैयाँमा लिफ्ट सिँचाइ कुलो निर्माण हुने भएको हो।

खानेपानीको समेत चरम समस्या रहेको त्यस ठाउँमा सिँचाइ सुविधा आएपछि व्यावासयिक तरकारी खेतीबाट आयआर्जमा वृद्धि गर्ने  योजना रहेको स्थानीय गणेश माझीले बताए। मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले लिफ्ट सिँचाइ कुलोको शिलान्याश गर्दै चालू आर्थिक वर्षको अन्तिमसम्म सिँचाइ योजना सम्पन्न हुने बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.