|

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चार वटा सामुदायिक विद्यालयहरु गाभिएका छन्। नगर शिक्षा समितिको सिफारिसलाई अनुमोदन गर्दै नगरकार्यपालिकाको १८औँ बैठकले नयाँ शैक्षिकसत्रबाट कार्यान्वयनमा आउने गरी चारवटा विद्यालय गाभ्ने निर्णय गरेको हो।

यसरी गाभिने विद्यालयहरुमा वडा नं. १ को प्रगति, वडा नं. ८ को भद्रकाली, वडा नं. १४ को नर्मदेश्वर खैरिया र वडा नं. १६ को बोहिया आधारभूत विद्यालय रहेका छन्। यी विद्यालयहरुलाई नजिकका क्रमशः शंकरनगर दुर्गादत्त मावि, ज्योति आधारभूत विद्यालय, टिकुलीगढ मावि र पशुपति नमुना माविमा गाभिएको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए।

वर्षौंदेखि न्युन विद्यार्थी भएका विद्यालयहरु तिलोत्तमामा पहिलोपटक समायोजनमा परेका हुन्। यी विद्यालयहरुलाई अघिल्ला वर्षहरुमै गाभ्ने तयारी भए पनि त्यो पूरा हुन सकेको थिएन। कार्यपालिकाको बैठकले समायोजनमा परेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको विद्यालय पहुँचलाई थप सुनिश्चित प्रदान गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

कार्यपालिका बैठकले विद्यार्थी संख्या, शैक्षिक उपलब्धि र गुणस्तर बढाउन विभिन्न विद्यालयहरुलाई सचेत गराउँदै सामुदायिक विद्यालय सुधार योजना अघि बढाउने निर्णय गरेको छ।

नगर शिक्षा समिति सदस्य समेत रहेका प्रवक्ता सुरेन्द्र श्रीले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधारलगायतका क्षेत्रमा नगरपालिकाले तत्काल केही सुधारका काम अघि बढाउन थालेको जानकारी दिए।

कार्यपालिका बैठकले निजी तथा संस्थागत विद्यालयहरुले प्रदान गर्नुपर्ने छात्रवृत्तिलाई पारदर्शी र प्रभावकारी बनाउन छात्रवृत्ति मापदण्ड तयार गर्ने निर्णय गरेको छ।

निजी विद्यालयहरुले तोकिएको छात्रवृत्ति जेहेन्दार, गरिब, विपन्न, सिमान्तकृत, अल्पसंख्यक समुदायका बालबालिकालाई प्रदान नगरेको गुनासो बढिरहँदा तिलोत्तमा नगरपालिकामा निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिमा कडाइ गर्न मापदण्ड बनाउन थालिएको हो।

कार्यपालिका बैठकले शिक्षा नियमावलीमा भएको छात्रवृत्तिको व्यवस्थालाई यथावत् राख्दै ८६ जना गरिब, विपन्न एवं जेहेन्दार विद्यार्थीलाई नगरभित्रका निजी विद्यालयमा पूर्णछात्रवृत्तिका लागि तत्काल सिफारिस गर्ने निर्णय गरेको छ। यो निर्णय शिक्षा समितिको सिफारिसका आधारमा गरिएको प्रवक्ता सुरेन्द्र श्रीले बताए।

निजी विद्यालयले शिक्षा नियमावलीमा भएको व्यवस्थाअनुसार छात्रवृत्ति उपलब्ध गराएका विद्यार्थीको नाम, थर, कक्षा तथा निजको आमा, बुबाको नाम, थर वतनसहितको विवरण विद्यालयको सूचना पाटीमा टाँस गरी त्यसको विवरण नगरपालिकाको शिक्षा शाखामा पठाउनु पर्नेछ।

कार्यपालिका बैठकले शिक्षा नियमावली २०७४ को नियम ५ को उपनियम १९ मा भएको व्यवस्थाअनुसार एक सामुदायिक विद्यालयसहित आठ विद्यालयलाई तह तथा कक्षा थप गर्न शिक्षा समितिले गरेको सिफारिसलाई अनुमोदन गरेको छ।

यस्तै नयाँ शैक्षिक सत्रमा अनिवार्य आधारभूत शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधार कार्यक्रम सबै विद्यालयहरुमा भव्यरुपमा सम्पन्न गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ।

तिलोत्तमाको शिक्षा नियमावलीमा विद्यालय उमेर पुगेका बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई स्थानीय तहबाट उपलब्ध गराउने सेवा सुविधाबाट वञ्चित गराउन सक्ने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.