|

नवलपरासी :  नवलपरासीमा महिला र बालबालिका हराउने क्रम बढ्दो छ। चालु आर्थिक वर्षको पहिलो सात महिनामा २२१ महिला र बालबालिका हराएका छन्। तीमध्ये १४९ महिला र बालबालिका अज्ञात छन्। बालकको अनुपातमा महिला र बालिका हराउनेको संख्या बढ्दो रहेको तथ्यांकले देखाएको छ। 

महिला सशक्तीकरण, बालबालिका बेचबिखनविरुद्ध कार्यक्रमले जिल्लामा प्राथमिकता पाउँदासमेत यस्ता घटनाहरुमा कमी आउन सकेको छैन। यसले स्थानीय प्रशासन र महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थालाई चुनौती थपेको छ। 

गत आर्थिक वर्षमा १२८ महिला, ११ बालक र ३९ बालिका हराएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला सेलले जनाएको छ। तीमध्ये हालसम्म ७३ महिला, नौ बालक र २९ बालिका फेला परेका छन्। गत वर्ष सबैभन्दा बढी चैत महिनामा १८ महिला हराएका थिए भने तीमध्ये १५ जना फेला परेका थिए। 

यस्तै, असोज र कात्तिकमा ६ बालिका हराएकोमा हालसम्म एक जना पनि फेला परेका छैनन्। कात्तिकमा दुई बालक हराएकोमा उनीहरुको अवस्था अझै थाहा नभएको जिल्ला प्रहरी कार्यालय नवलपरासील जनाएको छ। 

चालु आर्थिक वर्षको माघसम्म ४८ जना महिला तथा बालबालिका हराएको उजुरी परेको छ। तीमध्ये ३१ महिला, छ बालक र ११ बालिका रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। तीमध्ये नौ महिला र एक बालिका अझै अज्ञात रहेको बताइएको छ। 

हराएको सूचीमा सबैभन्दा बढी महिला, बालिका र बालक रहेका छन्। हराएको भनिएकामध्ये अधिकांश महिला र बालिका भागी विवाह गर्ने र अधिकांश बालक परिवारबाट पीडित भएको भन्दै आफूखुशी घर छाड्ने गरेको बताइएको छ। 

यस्तै, बालक हराउने विषयमा परिवारबाट आफू पीडित भएको गलत मनोविज्ञानको असरले उनीहरु घर छाडेर हिँड्ने गरेको बताइन्छ। यसबारे महिला तथा बालबालिका कार्यालय नवलपरासीकी प्रमुख उर्वरा लुइँटेलले खुल्ला सीमानाका कारण कतिपय महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेकाले उनीहरु फेला नपरेको बताइन्। 

आफूखुशी घर छाडेर जाने गरेका कारण परिवारलाई तत्काल जानकारी नहुँदा व्यक्ति हराएको भन्ने निवेदन कार्यालयमा आउने गरेकाले पनि हराउनेको सख्या बढी देख्ने गरेको प्रहरीको भनाइ छ। 

यद्यपि, हराएको भनेर जिल्ला प्रहरी कार्यालयमा परेका निवेदनमध्ये गत वर्षकै हालसम्म फेला नपरेकाले उनीहरुको अवस्था चिन्ताजनक हुनसक्ने र अुनसन्धान तथा खोजी कार्य निरन्तर भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले बताएकोे छ। 

हराएका भन्ने संख्यामा सबैभन्दा बढी महिला छन्। वैदेशिक रोजगारीमा गएकामध्ये केहीका श्रीमती परपुरुषसँग विवाह गरेर गएकाले तत्काल हराएको निवदेन आउँदा हराएको संख्यामा नाम दर्ता हुने गरेको छ। 

त्यस्तै बालिकाको हकमा उनीहरुले मोबाइल फोन, समाजिक सञ्जाललगायतबाट चिनजान भएको युवाहरुसँग परिवारलाई जानकारी नै नदिई घर छाडेर विवाह गर्दा बालिकाको संख्या हराएको सूचीमा पर्ने गरेको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.