फिचर

धुलोमाटोमा खेल्ने बालबालिका कलमकापीमा रमाउन थाले
SHARES

चैत २९, २०७४

    खैरहनी (चितवन) : चितवनको राप्ती नगरपालिका-९ लालपुरको डिबी इँट्टा उद्योगको एउटा झुप्रोमा बुधबार बालबालिकाहरू स्वर मिलाउँदै कखरा गाउँदै थिए। सामुन्य रहेको मोबाइलमा श्रव्यदृष्य हेर्दै लय मिलाउँथे। त्रिपालमा बसेका उनीहरू एउटै तालमा लय र तालमा लरक–लरक ज्यान मर्काउँथे। खैल्दै सिक्ने सिकाइअनुरूप उनीहरू कखरामा भाका हालीहाली मच्चिन्थे ...

    ‘क’बाट कमल, पानीमा फूल्ने

    ‘ख’बाट खरायो, बारीमा डुल्ने

    ‘ग’बाट गमला, फूल रोप्न जाऊँ

    ‘घ’बाट घर, हामी बस्ने ठाउँ

    क देखि ज्ञ सम्म र अ, आ  सबै श्रव्यदृष्यमै कैद गरिएको थियो। ‘भिडियो देखायो भने, उनीहरूलाई सिक्न रहर जाग्छ, रमाइलो मान्दै सिक्छन्, शिक्षक रुवी श्रेष्ठले भनिन्, अहिले उनीहरूलाई सबै कण्ठै भइसक्यो।’

    भित्ताभरि विभिन्न चित्रका पोस्टरहरू छन्। नेपाली, अंग्रेजीमा लेखेर चित्र प्रदर्शन गरिएको छ। घर पालुवा जनावर, अंग्रेजीमा फूलको नाम, असल बानीहरू, जंगली जनावरको तस्बिरसहितको चित्र छ। उनीहरूलाई खेल्नका लागि दुईवटा पिङ छन्। पढ्दा–पढ्दै अल्छी लागेमा बालबालिका पिङ खेल्न जान्छन्। अनि फेरि लय मिलाउँदै भिडियो हेरेर पढ्न थाल्छन् यसरी...

    ‘ङ’बाट ङ्यार–ङ्यार, सुरी गर्छ साथी

    ‘च’बाट चरा, उड्छ माथि–माथि

    यसरी उनीहरूलाई सिकाउने काममा सक्रिय हुन्छन्। अनिता बयलकोटी, सुनिता पुन, रुवी श्रेष्ठ र कमला सापकोटा। ‘यही हो उनीहरूलाई कखरा, एक दुई तीन चार, एबिसिडी सिकाउँछौँ,’ अनिता बयलकोटीले भनिन्।  उनीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराइन्छ। घर बनाउने, बल खेल्ने गर्छन् बालबालिकाहरू।

    तीनदेखि सात वर्षका बालकालिकाहरू अहिले इँट्टा उद्योगभित्रै बनेको प्रारम्भिक बाल सिकाइ शिक्षा केन्द्रमा छन्। करिब आठ महिना उनीहरू यस्तै सिकाइमा रमाउँछन्। त्यसपछि सक्नेहरू स्कुल जान्छन्।  उनीहरू सबै इँटा उद्योगमा काम गर्ने मजदुरका छोरा छोरी हुन्। उनीहरूलाई यसरी सिकाइमा सहभागी गराउने काम युथक्लब नारायणगढले गरेको हो।

    उक्त क्लबको ‘बेटर ब्रिक नेपाल’ परियोजनाका संयोजक रामचन्द्र आचार्य भन्छन्, ‘धुलो र माटोमा खेल्ने बालबालिकाहरू अहिले कलम–कापीमा खेल्छन्, ‘कखरा’ सिक्न थालेका छन्।’

    दाङका निर्मला थापा र दिलबहादुर थापाको परिवार बालबच्चा बोकेर इँटा उद्योगमा काम  गर्न आएका छन्। तीन वर्षका विशाल र सात वर्षको किसान छन्। सिकाइ केन्द्रमा नहुँदा उनीहरू धुलो र मैलोमा रमाउँथे। अहिले भने सिकाइ केन्द्रमा कखरा सिक्दै छन्। ‘एउटालाई स्कुलमा हाल्ने हो, अब अर्काे यही सिकाइ केन्द्रमा सिक्छ,’ निर्मलाले भनिन्। उनीहरूसँगै काम गर्ने पर्वतबाट आएका राजकुमार शाहीका छोराछोरी सकिरा र साहिल पनि अहिले पढ्दै र सिक्दै छन्।

    पहिले पहिले इँटा उद्योगमा बालश्रम प्रयोग हुन्थ्यो। अझै पनि कतिपय उद्योगमा बालश्रम प्रयोग हुँदै आएको छ। तर, प्रारम्भिक बाल सिकाइ शिक्षा केन्द्र सञ्चालन भएपछि भने बालमजदुर हटेको बताउँछन् बेटर ब्रिक नेपाल परियोजना संयोजक रामचन्द्र आचार्य।

    युथ क्लबले जिल्लामा रहेका १८ वटा इँटा उद्योगमध्ये पाँचवटामा उक्त कार्यक्रम चलाएको छ। जसमा करिब २०० बालबालिका प्रारम्भिक शिक्षा लिँदै छन्। ती इँटा उद्योगमा काम गर्ने ९९७ जना मजदुरका छोराछोरीमध्ये प्रारम्भिक शिक्षा सिक्नेबाहेक ९१ जना बालबालिका अहिले स्कुलसमेत जान्छन्।

    ऐनमा व्यवस्था, व्यवहारमा शून्य

    मुख्यगरी यहाँको खनाल, गणेश, त्रिशूल, मनकामना र डिबी इँटा उद्योगमा सिकाइ केन्द्र सञ्चालित छ। ‘२०७२ सालदेखि हामीले कार्यक्रम चलाएका हौँ, आचार्यले भने, अहिले बालबालिकाहरू स्कुल जाने भए।’ उनका अनुसार नेपालको १४ जिल्लाका ४० वटा इँटा उद्योगमा यो कार्यक्रम चलेको छ। इँटा उद्योग आफैँले गर्नुपर्ने काम भएकाले उनीहरूलाई नै सहभागी गराएर कार्यक्रम चलाइएको छ। पछि कार्यक्रम नहराओस् भनेर सहभागी गराइएको हो।

    श्रम ऐनमा सबै उल्लेख छ। मजदुरलाई नियुक्ति दिएर काम लगाउनुपर्ने, दुर्व्यवहार गर्न नहुने, बालश्रम हुन नहुने, यौनशोषण हुन हुँदैन, काम गर्दा सावधानी अपनाउने कुरा।  यो सबै कुरा उद्योग दर्ता गर्दा नै उल्लेख भएको हुन्छ। तर, व्यवहारतः लागू नभएकाले त्यसलाई लागू गराउने प्रयास आफूहरूको रहेको आचार्य उल्लेख गर्छन्।

    इँटा उद्योगका सञ्चालक कैलाश दाहाल अहिले स्कुल पढाउनुपर्छ भन्ने कन्सेप्ट सबैमा आइसको प्रतिक्रिया दिन्छन्। आफ्नो उद्योगमा भने यस्तो समस्या नरहेको उनको दाबी छ। तर, मजदुरको अस्थिरताका कारण बालबालिकाको प्रभावकारी सिकाइमा भने असर गरिरहेको छ।

नारायण ढुंगाना

पत्रकार ढुंगाना थाहाखबरका चितवन संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]