|

रामेछाप : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बालकृष्ण ढंगेललाई रिहाइ गर्न माग गर्दै उज्जनकुमार श्रेष्ठको सालिक तोडफोड गरेका छन्।

रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ स्थित अरुणोदय माध्यमिक विद्यालयको हाताभित्र निर्माण गरिएको उज्जनकुमार श्रेष्ठको सालिक विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले तोडफोड गरेका हुन्।

जनयुद्धका हत्यारालाई छोड्दैनौँ, उज्जन कुमार हत्यारा हो, बालकृष्ण ढुंगेललाई रिहाइ गर, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद जस्ता नारा लगाउँदै आएका विप्लवका कार्यकर्ताले सालिक तोडफोड गरेको स्थानीयले बताएका छन्। बालकृष्ण ढुंगेल उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेलजीवन बिताइरहेका छन्।

सो घटनाको जिम्मेवारी नेकपा माओवादीले लिएको छ। नेकपाका जिल्ला कमान्डर तुफानले जनयुद्धका मुद्दा ब्युँत्याएर बालकृष्ण ढुंगेललाई जेल हालेको, विद्यालयको हाताभित्र सालिक निर्माण गरेर सालिक निर्माणको नाममा विदेशी डलर कुम्ल्याएको भन्दै तोडफोड गरेको बताएकोे छ।

१९ चैतमा रक्षामन्त्री ईश्वर पोखरेलद्वारा सालिक अनावरण गर्ने कार्यक्रम तय भएको थियो, तर नेकपाका कार्यकर्ताले रक्षामन्त्री सालिक अनावरण गर्न आए ढुंगामुडा गर्ने चेतावनी दिएपछि कार्यक्रम स्थगित भएको थियो।  

स्थानीय विवादको कारण रक्षामन्त्री आउने कार्यक्रम स्थगित भएपछि केही दिनअघि मात्र उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले सालिक अनावरण गरेकी थिइन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.