|

काठमाडौं : गायन तथा नृत्य विधामा भविष्य खोज्ने तथा कला भएर पनि उपयुक्त अवसर पाउन नसकेका तर संभावना भएका प्रतिभाहरूलाई स्थान दिने उद्देश्यका साथ 'संगीत स्टार २०१८' सुरु भएको छ। 'संगीत फिल्म्स'को आयोजनामा हुने संगीत स्टारको दोस्रो संस्करणको केही जिल्लामा अडिसनसमेत सम्पन्न भइसकेको छ

कार्यक्रम निर्देशक संगीत बस्यालले लुकेर रहेका क्षमतावान् प्रतिभाहरूलाई 'पर्फेक्ट आर्टिस्ट' बनाउने उद्देश्यका साथ संगीत स्टारको दोस्रो संस्करण सुरु गरेको बताए। त्यसअन्तर्गत पूर्वी नेपालको विराटनगर, इटहरीसँगै चितवन, हेटौँडालगायतका ठाउँमा पहिलो चरणको अडिसन सम्पन्न भइसकेको छ।

देशका मुख्य मानिने १२ शहरमा अडिसन गर्ने घोषणासहित सुरु भएको संगीत स्टारको दोस्रो संस्करणमा अब पोखरा, बुटवल, नेपालगंज, बनेपा, सिन्धुली, धनगढी, भैरहवा र काठमाडौँमा अडिसन हुन बाँकी छ। अडिसन हुन बाँकी उल्लेखित स्थानहरूका लागि पनि मिति तय हुने क्रम चलिरहेको बस्यालले बताए। 

चारदेखि ६५ वर्षको उमेर समूहका जोकोहीले सहभागिता जनाउन सक्ने संगीत स्टारको विभिन्न शहरमा हुने अडिसनबाट पहिलो चरणमा ३० प्रतिभालाई छनोट गर्ने र त्यसपछि एकअर्को शहरसँगको समन्वयमा ३० कै जोडघटाउको आधारमा प्रतिभाहरू छनोट गरिने आयोजकले बताएको छ।

नृत्य र गायन दुवै विधामा एकसाथ सुरु भएको अडिसनमा गायनतर्फ संगीतकार रेखा पौडेल र नृत्यतर्फ कोरियोग्राफर राजेन्द्रकमल राई मुख्य निर्णायकको रूपमा रहेका छन्। पहिलो चरणको अडिसनमा हरेक शहरबाट दोस्रो राउण्ड सकिएसँगै तेस्रो राउण्डदेखि ३० प्रतिशत भोटिङ र ७० प्रतिशत निर्णायकको 'जजमेन्ट'को आधारमा र क्रमशः चौथो राउण्डमा ४०/६० प्रतिशतको भोटिङ हुँदै १२ वटै शहरबाट उत्कृष्ट ३० प्रतियोगीलाई काठमाडौं ल्याइनेछ।

त्यसबाट गायन र नृत्य दुवै विधाका ३०/३० जना अन्तिम अडिसनका लागि छनोट हुनेछन्। कार्यक्रमको प्रसारण सम्बन्धित शहरका स्थानीय टेलिभिजनसँगै काष्ठमण्डप टेलिभिजनबाट हुनेछ। फाइनल राउण्डमा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत निर्णायकको चयनको आधारमा अर्को चरण प्रवेश दिने बताइएको छ। यसअघि राजधानीमै ख्यातिप्राप्त कलाकारहरूको उपस्थितिमा कम्तीमा डेढ महिना विधागत प्रशिक्षण दिइने बताइएको छ।

उक्त अडिसनअन्तर्गत हरेक हप्ता दुई/दुई जना बाहिरिँदै जानेछन् र त्यसबाट खारिँदै आएका (नृत्य र गायन) दुवै विधाका उत्कृष्ट प्रतिभालाई विजयी घोषणा गरिनेछ। विजयीलाई दुई लाख रुपैयाँ नगदसँगै स्कुटर र आठ लाख रुपैयाँ बराबरको कन्ट्र्याकसहित युकेमा हुने ग्राण्ड सांगीतिक कार्यक्रममा प्रमुख आकर्षणको रूपमा उपस्थित गराउने आयोजकले बताएको छ।

यसैबीच कार्यक्रम निर्देशक बस्यालले यो रियालिटी शोमा गायन तथा नृत्यमा प्रयोग हुने सबै गीत संगीतका स्रष्टाहरूलाई उपयुक्त रूपमा रोयल्टी पनि प्रदान गर्ने बताएका छन्। सम्बन्धित गीत, संगीतका स्रष्टाहरूलाई प्रत्यक्ष रोयल्टी प्रदान गर्न लागिएको यो पहिलो शो हुनसक्ने आयोजकको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.