|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता घोषणा बैशाख ९ मा हुने सम्भावना न्यून बन्दै गएको छ। नेपालमा कम्युनिस्ट पार्टी स्थापनको दिन अर्थात् अप्रिल २२ (बैशाख ९ गते) पार्टी एकता गर्ने भनिएको थियो। तर एकताको दिन नजिकँदै जाँदा पनि विवादित विषयहरू टुंगो नलाग्दा बैशाख ९ मा पार्टी एकताको सम्भावना न्यून बन्दै गएको हो।

गत चैत २२ गते पार्टी एकता संयोजन समितिको बैठकले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएपछि विवादित विषयको टुंगो लगाएर एकता बैशाख ९ मै एकता घोषणा गर्ने जनाएको थियो। तर, प्रधानमन्त्री ओली स्वदेश फर्किएको चार दिन वितिसक्दा पनि एकता संयोजन समितिको बैठक बस्न सकेको छैन।

पार्टीको विधान, संगठनको ढाँचा र पार्टीको आगामी कार्यदिशा तयार पार्न बनेको राजनीतिक प्रतिवेदन कार्यदल र सांगठनिक प्रतिवेदन कार्यदलले आफ्नो काम सकेर एकता संयोजन समितिलाई बुझाएका छन्।

तर यी दुई कार्यदलले मिल्न नसकेका केही विषय भने एकता संयोजन समितिलाई नै जिम्मा दिएको थियो। कार्यदलले पार्टी एकताका लागि ऐतिहासिक हिसाबले बैशाख ९ ठीक भएको भन्दै बैशाख ९ मा एकीकृत पार्टीको घोषणा गर्न सुझाव दिएको थियो। त्यहीअनुसार प्रधानमन्त्रीको भारत भ्रमणअघि बसेको एकता संयोजन समितिको बैठकले पनि दुवै दललाई बैशाख ९ गते पार्टी एकताका लागि आन्तरिक तयारी गर्न निर्देशन दिएको थियो।

तर एकता संयोजन समितिले भने हालसम्म टुंगो लाग्न नसकेका विषयमा भने छलफलसमेत गर्न सकेको छैन। बुधबार साँझ एकता संयोजन समितिको बैठक बोलाइएको भए पनि नेताहरूको कार्य व्यवस्तताका कारण बस्न सकेन। यस्तै, बुधबार साँझको बैठकका लागि एकता संयोजन समितिका केही सदस्यहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगे। तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिरामी परेको बताए पछि बैठक बस्न सकेन। प्रचण्ड केही दिनदेखि भाइरल ज्वरोबाट पीडित बनेको उनको सचिवालयले जनाएको छ।

बुधबार बस्न नसकेको एकता संयोजन समितिको बैठक अझै केही दिन बस्ने सम्भावना न्यून छ। यता बिरामी भनिएका माओवादी अध्यक्ष प्रचण्ड उता चितवन गएकाले केही दिन एकता संयोजन समितिको बैठक बस्ने सम्भावना न्यून भएको स्रोतले बताएको छ। प्रचण्ड आफ्ना माहिला साला महाप्रसाद पौडेलको निधनको सातौँ दिनमा आयोजित श्रद्धाञ्जलिसभामा भाग लिन चितवन गएका हुन्। उनी शुक्रबार साँझ मात्र काठमाडौं फर्कनेछन्। यस्तै, प्रधानमन्त्री ओली पनि शनिबार कर्णाली पर्यटन वर्षको उद्घाटन लागि रारा जाने कार्यक्रम भएकाले केही दिन बैठक बस्ने सम्भावना न्यून रहेको पार्टी निकट स्रोतले जनाएको छ।

तर आफूहरूले पार्टी एकताका लागि कुनै मिति नतोकेको एमाले नेता सुवासचन्द्र नेम्वाङ बताउँछन्। उनी भन्छन्, ‘बैशाख ९ गते हुन्छ हुँदैन भन्ने कुरा फरक हो। पहिलो कुरा त एकता संयोजन समितिले पार्टी एकताको मिति नै तय गरेको छैन। जति सक्दो चाँडो एकता गर्ने भन्ने हो।’

प्रधानमन्त्रीको भारत भ्रमणअघि पनि पार्टी एकताको तयारी थियो तर त्यसबेला पनि एकता सम्भव हुन सकेन। नेताहरूले सार्वजनिक कार्यक्रममा नै प्रधानमन्त्रीको भारत भ्रमणअघि एकता गर्ने बताउँदै आएका थिए। तर प्रधानमन्त्रीको भारत भ्रमण र पार्टी एकतामा कुनै सम्बन्ध नरहेको नेताहरूको भनाइ थियो।

प्रधानमन्त्रीको भारत भ्रमणअघि एकताको तयारी गरेका एमाले-माओवादीले बैशाख ९ मा समेत एकता घोषणा गर्ने सम्भावना न्यून रहेको माओवादी नेता देवेन्द्र पौडेल बताउँछन्। भन्छन्, ‘कार्यदलले बैशाख ९ गते एकता घोषणा गर्न सुझाव दिएको हो तर अब त सम्भावना निकै न्यून छ।’

उनले अहिलेसम्म एकता संयोजन समितिको बैठक बस्न नसकेकाले बैशाख ९ मा यसै भन्न सक्ने अवस्था नरहेको बताए। उनले थाहाखबरसँग भने, ‘तयारी पुग्दैन जस्तो छ। मिति परिवर्तन हुने सम्भावना छ। बैशाख ९ मै एकता भइहाल्यो भने पनि धेरै कार्यकर्ता भेला गरेर तामझामका साथ गर्न नसकिएला।’

नमिलेका विषय केके हुन्?

पार्टी कार्यदलले एकता संयोजन समितिले नयाँ बन्ने नेपाल कम्युनिस्ट पार्टीको धेरै कुरा टुंगो लगाइसकेको छ। तर अझै केही विषयमा भने समझदारी हुन नसक्सदा एकता संयोजन समितिले कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिन सकेको छैन। कार्यदलले आगामी पार्टीको संगठन कति रहने, पार्टीको चुनाव चिह्न के रहने र  पार्टीको प्रस्तावनामा 'जनयुद्ध' रहने कि नरहने भन्ने विषयमा विवाद छ।

गते २२ चैतमा बसेको संयोजन समितिको बैठकले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि यी विषयलाई टुंग्याउने निर्णय गरेको थियो। तर प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएको चार दिनसम्म पनि संयोजन समितिको बैठक बस्न सकेको छैन।

माओवादी केन्द्रले पार्टी एकता ‘सम्मानजनक’ हुनुपर्ने बताउँदै आएको छ। उसले नयाँ बन्ने पार्टी संगठनको सबै तहमा ५०/५० प्रतिशतको आधारमा एकता हुनुपर्ने अडान राखेको छ। तर एमाले भने ५०/५० को आधारमा गर्ने मनस्थितिमा छैन। एमालेले चुनावी गठबन्धनमा जस्तै ६०/४० को आधारमा एकता गर्नुपर्ने बताउँदै आएको स्रोतको दाबी छ।

यस्तै, चुनाव चिह्नका विषयमा पनि केही विवाद छ। एमालेले अब बन्ने एकीकृत पर्टीको चुनाव चिह्न सूर्य हुनुपर्ने अडान राखेको छ भने माओवादी केन्द्रले सूर्यभित्र हसिया-हथौडा हुनुपर्ने अडान राखेको छ।

यसैगरी पार्टीको प्रस्तावनामा ‘जनयुद्ध’ राख्नुपर्ने माओवादीको माग छ तर एमाले यो विषयमा सहमत नरहेको स्रोतको दाबी छ। स्रोतका अनुसार एमालेले ‘जनयुद्ध’को सट्टा जनक्रान्ति राख्न प्रस्ताव गरेको छ।

माओवादी सशंकित

प्रधानमन्त्रीको पछिल्लो व्यवहारप्रति माओवादी केन्द्र सशंकित देखिएको छ। प्रधानमन्त्री ओलीले भारत भ्रमणअघि माओवादी केन्द्रका मन्त्रीसँग सल्लाह नै नगरी ३० सचिवलाई सरुवा गरेको भन्दै माओवादी सशंकित भएको हो। माओवादी मन्त्रीहरूले यही विषयमा पार्टी अध्यक्ष प्रचण्डसँग पनि छलफल गरिसकेका छन्।

यसरी एकलौटी ढंगबाट निर्णय गर्दा ओलीप्रति क्रमश: विश्वास गुम्दै गएको माओवादी केन्द्रका एक नेताले बताए। उनले भने, ‘प्रधानमन्त्रीको यो निर्णयले हामीलाई केही सचेत गराएको छ। उहाँले हाम्रो पार्टीबाट गएका मन्त्रीसँग छलफल नै नगरी यो काम गर्न हुँदैनथ्यो। हाम्रो पार्टी एक भइसकेको भए त ठीकै हुन्थ्यो, नभए उहाँको निर्णयले केही सोच्न बाध्य त बनाएकै छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.