|

जनकपुरधाम : प्रदेश २ मा झण्डै दुई लाख बालबालिका विद्यालयको पहुँचबाट बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश २ को पूर्व सप्तरीदेखि पर्सासम्मको आठ जिल्लामा १ लाख ९१ हजार बालबालिका अहिले पनि विद्यालय बाहिर जानबाट वञ्चित रहँदै आएको तथ्यांकले देखाएको हो।

प्रदेश २ का जिल्लाहरूमा विद्यार्थी भर्ना र पाठ्यपुस्तक उपलब्धता सम्बन्धमा हालको अवस्था विषयमा जानकारी गराउन क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलले प्रस्तुत गरेको तथ्यांकअनुसार प्रदेशकोे आठ जिल्लाहरूमध्ये सर्लाहीमा सबैभन्दा बढी २५ हजार ५१५ बालबालिका विद्यालय जानबाट वञ्चित रहेको छ।

यसैगरी दोस्रो नम्बरमा धनुषामा सबैभन्दा बढी २४ हजार ८३६ बालबालिका विद्यालय बाहिर रहेका छन्। त्यसैगरी सिरहामा १३ हजार ४११, सप्तरीमा १३ हजार ४३४, महोत्तरीमा ११ हजार ७५२, रौतहटमा २२ हजार ९३८, बारामा २० हजार ४०९ र पर्सामा २१ हजार ५१४ बालबालिका विद्यालयमा भर्ना हुन सकेका छैनन्।
सामाजिक विकास मन्त्रालयद्वारा जनकपुरमा आयोजित प्रदेशमा विद्यार्थी भर्ना अभियान २०७५ तथा पाठ्यपुस्तक उपलब्धता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी आठै जिल्लाका शिक्षा अधिकारीहरूले जिल्लामा पाठ्यपुस्तक समयमै विद्यालयसम्म पुग्न नसक्नु, अभिभावकहरूमा चेतना अभाव, बालबालिकाहरूलाई विद्यालयमा भर्ना गरिए पनि टिकाउन नसक्नु ठूलो चुनौतीको रूपमा रहेको बताएका थिए।

प्रदेश २ मा पाठ्यपुस्तक व्यवस्थापनको लागि जनकशिक्षा सामग्री केन्द्रको क्षेत्रीय कार्यालयहरूमा कक्षा ६ देखि १० को पाठ्यपुस्तक पर्याप्त मात्रामा रहे पनि नीजि क्षेत्रका प्रकाशन तथा वितरकहरूसंग नेपाली माध्यमको कक्षा १ देखि ५ को पाठ्यपुस्तक पर्याप्त मात्रा रहेको तर अंग्रेजी माध्यमको पाठ्यपुस्तक कमि रहेको क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका प्रमुख दिनेशकुमार श्रेष्ठले जानकारी गराएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.