|

डडेल्धुरा :  डडेल्धुरामा प्रदेश ७ कै ठूलो शीतभण्डार (कोल्डस्टोर) सञ्चालनमा आएको छ। कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्ने उद्देश्यले जिल्लाको अमरगढी नगरपालिका–१ दहमा आधुनिक प्रविधिसहितको उग्रतारा शीतभण्डार उद्योग प्रालि सञ्चालनमा आएको हो।

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिज्मएफपी)को पूरक अनुदान सहयोगमा निर्मित उग्रतारा शीतभण्डार क्षेत्रीय आयोजना निर्देशक गोकर्णराज अर्यालले उद्घाटन गरे।

नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको दुई करोड ९९ लाख र जिल्लाका उद्योगी व्यवसायीहरुको दुई करोड ५७ लाख गरी पाँच करोड ५६ लाखको लगानीमा शीतभण्डार स्थापना भएको अध्यक्ष भोजराज भट्टले जानकारी दिए। शीतभण्डारको क्षमता एक हजार चार सय ५० मेट्रिक टन अर्थात् १४ हजार ५० क्विन्टल रहेको अध्यक्ष भट्टले बताए। 

‘पाँचतले शीतभण्डार यसमा नयाँ प्रविधिको ‘फ्रियोल’ मेसिन जडान गरेका छौँ’, उनले भने, ‘अहिले हामीले शीतभण्डारमा दुई हजार बोरा आलु स्टोरेज गरेका छौँ।’ 

उनले यसलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नको लागि किसानहरुसँग समन्वय गरेर अगाडि बढ्ने आफूहरुको योजना रहेको बताए। यहाँका किसानहरुले लामो समयदेखि आलु खेती गरिरहेकाले त्यसैलाई मध्यनर गर्दै आलुको बीउ राख्ने उद्देश्यले शीतभण्डार स्थापना गरेको उनले बताए।

‘यहाँका किसानहरुले २०\२५ वर्षदेखि आलुखेती गर्दै आइरहेका तर, शीतभण्डार अभावमा यस क्षेत्रका किसानले उत्पादन गर्ने आलुको उत्पादकत्व घटर कम भइरहेको अवस्था थियो।’ अध्यक्ष भट्टले भने, ‘हामीले यस क्षेत्रका किसानहरुलाई मध्यनर गरेर विशेष गरी बिउ राख्ने उदेश्यले यो शीतभण्डारको स्थापना गरेका हौँ।’

शीतभण्डारमा किसानहरुको गणस्तरीय बिउ राख्ने आफूहरुको योजना रहेको उनको भनाइ छ। उनले करिब ६ महिना जति किसानहरुको आलुको बिउ कोल्ड स्टोरमा सञ्चित गरेर राख्ने बताए। किसानहरुले कोल्ड स्टोरमा एक क्विन्टल बिउ राखे वाफत पाँच सय तिर्नु पर्ने उनले जानकारी दिए। उनले यस कोल्ड स्टोरमा प्रदेश ७ का अन्य पहाडि जिल्लाका कृषकहरुले पनि आलु विउ सञ्चित गरेर राख्न सक्ने बताए।

किसानहरुले कोल्ड स्टोर मार्फत आलुको बिउलाई मात्रै सुरक्षित राख्न सके ३० प्रतिशत आय स्तरमा वृद्धि हुने आयोजनाका क्षेत्रीय आयोजना निर्देशक गोकर्णराज अर्याल बताउँछन्।

किसानहरु हर्षित

शीतभण्डार सञ्चालनमा आएपछि यस क्षेत्रका किसानहरु हर्षित भएका छन्। शीतभण्डार स्थापनासँगै आलु र आलुको बीउका साथै अन्य कृषि उपज पनि सहजै भण्डारण गर्न सकिने भन्दै किसानहरु उत्साहित भएका हुन्।

शीतभण्डार स्थापना भएपछि आफ्नो आयस्तरमा वृद्धि हुने गन्यापधुरा गाउँपालिकाका–१ का आलु कृषक कृष्णदत्त अवस्थीले बताए। विगतका वर्षमा आलुको बीउमा विभिन्न किसिमका समस्या झेलेकोअवस्थीले बताए। ‘घरमा आलुको बिउ राख्दा कुहिन्थ्यो’, उनले भने, ‘अब यो शीतभण्डारका कारण आलुको बीउ राख्न सजिलो हुन्छ।’ 

शीतभण्डार स्थापना भएपछि आफ्नो बारीमा उत्पादित आलु सस्तो मूल्यमै तराई पठाउनु पर्ने बाध्यता हटेको कृषक पशुपति ऐर बताउँछन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.