|

निभाउँदा दियो बत्ती अन्धकार सबैतिर।
जन्मोत्सव भनूँ किं वा जन्मशोक हरे शिव।।

कहाँ अष्टचिरञ्जीवी कहाँ नमन अर्चन।
कहाँ आसिक द्यौताको कहाँ नैवेद्य भोजन।।

जन्मदिनको उत्सव मनाउँदा बत्ती निभाउने परम्पराप्रति व्यंग्य गर्दै संस्कृतका विद्वान् तथा साहित्यकार विष्णुराज आत्रेय (लाटो साथी)ले अघिल्लो शुक्रबार फेसबुकमा पोस्ट गरेको रचनाको अ‌ंश। 

केही वर्षअघिसम्म उच्च घरानियाँ र बालबालिकाको इच्छा पूरा गर्न जन्मदिनमा बत्ती निभाएर केक काट्ने चलन थियो। हिजोआज बालबालिका, युवायुवती र वृद्धवृद्धासम्म, हुनेखानेदेखि हुँदा खानेसम्म, शहरदेखि गाउँसम्म यो चलन पुगेको छ। 

युनानबाट सुरु भएको केक काटेर र बत्ती निभाएर जन्मदिन मनाउने चलन बुझेर वा नबुझेर अँगालेका छन्। हुँदाहुँदा जनताको करले तलब भत्ता र सुविधा बुझ्ने नेताहरूसमेत केक काटेर भव्य रूपमा जन्मदिन मनाउन थालेका छन्। कुन नेताकोमा कत्रो केट काटियो? नेताको जन्मदिनमा कसले आकर्षक केक उपहार लग्यो? नेताको जन्मदिनमा कत्रो केक हातमा पर्‍यो? जस्ता चर्चाले सामाजिक सञ्जाल र सञ्चारमाध्यम रंगिने गरेका छन्।

जन्मदिनमा केक काटिएन, काटेर एकअर्कालाई खुवाउँदै गरेको र क्रिम मुखभरि दलिदिएको तस्विर वा दृश्य सामाजिक सञ्जालमा हालिएन भने पछि नै परिने हो कि जस्तो भएको छ। इच्छा नभए पनि छोराछोरी, नातिनातिनीको इच्छा पूरा गरिदिन ७५\८० कटेका वृद्धवृद्धाले समेत ‘थोते गिजा’ देखाउँदै केक खाएका सामाजिक सञ्जालहरूमा देखिन्छ।

जन्मदिनमा केक काटिएन, काटेर एकअर्कालाई खुवाउँदै गरेको र क्रिम मुखभरि दलिदिएको तस्विर वा दृश्य सामाजिक सञ्जालमा हालिएन भने पछि नै परिने हो कि जस्तो भएको छ। इच्छा नभए पनि छोराछोरी, नातिनातिनीको इच्छा पूरा गरिदिन ७५\८० कटेका वृद्धवृद्धाले समेत ‘थोते गिजा’ देखाउँदै केक खाएका सामाजिक सञ्जालहरूमा देखिन्छ।

पहिले–पहिले जति वर्ष पार भयो उतिवटा मैनबत्ती फुकेर निभाउने चलन थियो। अहिले केक काट्नुअघि बत्ती बालिन्छ। बत्ती बल्दै माथिसम्म पुग्छ। बिस्तारै मलिन हुँदै निभ्छ। त्यसपछि केक काट्ने, एकअर्कालाई खुवाउने, मुखमा दलिदिने प्रक्रिया सुरु हुन्छ।

पूर्वीय परम्परामा जन्मदिन
रमाइलो मात्र होइन, आयु बढोस्, आरोग्यता पाइयोस्, कर्मशील हुन पाइयाेस्, परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी सम्झना होस् भन्ने ध्येयले जन्मदिन मनाउने हो। जन्मेर अहिलेसम्म के गरेँ, अब के गर्नुपर्छ भन्ने कर्तव्यबोध गराउने दिन हो।

गते होइन तिथिमा जन्मदिन
सामान्यतया गते वा तारिखमा जन्मदिन मनाउने चलन चलेको छ तर सनातन हिन्दु परम्परामा चान्द्रमानअनुसार (तिथिमा) जन्मदिन मनाइन्छ। अर्थात् जन्मदिन मनाउँदा जुन महिना, पक्ष र तिथिमा जन्म भएको छ त्यसैलाई आधार मानिन्छ। 

कसरी मनाइन्छ जन्मदिन?
जन्मतिथिमा बिहान सबेरै उठी नित्यकर्म सकी स्नान गरी शुद्ध वस्त्र लगाई दीप–कलश–गणेशसहित मार्कण्डेय आदि अष्टचिरञ्जीवीकोे पूजा गर्ने विधान छ। अष्टचिरञ्जीवी अर्थात् आठ चिरञ्जीवी। उमेर र कर्मले दीर्घजीवी भएका महापुरुषहरूको पूजाआराधना गर्ने अर्थात् उनीहरूको सम्झना गर्ने परम्परा पनि छ। उनीहरूको आराधनाबाट त्यस्तै गुण आफूमा पनि आओस् भन्ने उद्देश्य हो। आध्यात्मिक रूपमा उनीहरूको कृपा आफूमा भइरहोस् भन्ने हो। 

कलश पूर्णताको प्रतीक हो। कलश अर्थात् जलपूर्ण घडा। विभिन्न वनस्पति, रत्न मिसाई वैदिक मन्त्रले अभिमन्त्रित जलले अभिषेक गर्दा मानिसमा। दीपको अर्थ उज्यालो। 'तमसोमा ज्योतिर्गमय' भन्ने उपनिषद्को वचन नै अर्थात् अँध्यारोबाट उज्यालोतिर लैजाऊ भन्ने हो। जन्मोत्सवमा दियो बाल्नुको अर्थ जीवनमा भएका अध्याँरा पक्षबाट बाहिर निस्केर उज्यालोतर्फ लाग्न सकूँ। वा मेरो जीवनमा छाएको अँध्यारो निर्मूल भई उज्यालो छाओस्। दीपबाट कल्याण, आरोग्य सुख प्राप्त हुन्छ शत्रुहरू नाश हुन्छन्। उज्यालोमा शत्रुहरू बलिया हुन सक्दैन। परास्त हुन्छन्। गणेशपूजनको अर्थ जीवनमा आउने हरेक विघ्नवाधाबाट पार पाऊँ भन्ने हो।

को हुन् अष्टचिरञ्जीवी?
विभिन्न विधामा पारंगत ऋषि महर्षिहरूलाई अष्टचिरञ्जीवीको कोटिमा राखिएको छ, पुराणमा। मार्कण्डेय, व्यास, परशुराम द्रोण, कृपाचार्य, बलि, हनुमान् र विभिषण यी आठ महापुरुष नै अष्टचिरञ्जीवी हुन्।

मार्कण्डेय– शरदको चन्द्रमासमान शान्तप्रकृतिका महामुनिका रूपमा उनको ख्याति छ। मृकण्डु र मनस्विनीका छोरा कस्तै अवस्थामा पनि विचलित नहुने परम योगी हुन्, मार्कण्डेय। साधना र तपबाट काललाई समेत जितेका पुराणमा उल्लेख छ।

व्यास– वेद वेदांगसबै शास्त्रका ज्ञाता हुन्, उनी। पराशर र सत्यवतीका पुत्र व्यास अठारै पुराणका रचनाकार मानिन्छन्।

कृपाचार्य– भारद्वाज कुलमा जन्मिएका धीरवीर मुनि हुन्। महाभारत युद्धमा कौरवको पक्ष लिएर लडेका थिए, कृपाचार्य।

द्रोणाचार्य– भारद्वाज ऋषिका छोरा धनुर्वेदका ज्ञाता हुन् उनी। महाभारतमा यिनको प्रसंग अाउँछ।

परशुराम– ऋषि जमदग्नि र रेणुकाका छोराका रूपमा जन्मिएका हुन्। पृथ्वीमा अत्याचार बढेपछि क्षत्रियको रूप धारण गरी अन्यायी र अत्याचारी शासकको अन्त्य गरे। परशुरामलाई शास्त्रको ज्ञाता र परम पितृभक्त मानिन्छ।

बलि– दानवकुलमा जन्मेर पनि सात्विक प्रकृतिका र दानी राजाको रूपमा यिनको ख्याति छ।  

हनुमान– वायु र अञ्जनीका पुत्र हुन्। रामका सेवकका रूपमा यिनको चर्चा हुन्छ। 

विभिषण– यिनी पौलस्त्य ऋषिका सन्तान हुन्। रावणका भाइ भएर पनि सत्यलाई साथ दिए जसका कारण धर्मको जीत भयो। 

यिनै अष्टचिरञ्जीवीसँगै षष्ठिका देवी, कार्तिकेय, भानु र विघ्नेशको पूजा गरिन्छ। आफू जन्मेको महिना पक्ष, तिथि, बार, नक्षत्र, योग र करण आदि पञ्चांगको स्मरण गरिन्छ। गुड र तिल मिसिएको दूध अष्टचिरञ्जीवी र षष्टिकादेवलिाई अर्पण गर्ने र प्रसाद खाने विधि छ।

पश्चिमा चलन यसकारण अमान्य
बत्ती निभाएर गरिने कार्यलाई सनातन संस्कृतिमा शुभ मानिँदैन। हरेक शुभकार्य बत्ती बालेरै गर्ने हो। ‘जन्मदिनको उत्सव मनाउँदा बत्ती निभाउने संस्कृतिविरुद्ध छ’, इतिहास पुराणकी ज्ञाता प्रियंवदा काफ्ले भन्छिन्, ‘हिन्दु संस्कृतिमा बत्ती निभाएर शुभकर्म गरिँदैन। त्यसमाथि मुखले बत्ती फुक्नु शास्त्रनिषिद्ध मानिन्छ।’ हिजोआज केकको बीचमै बत्ती बालिन्छ। माथि पुग्दै विस्तारै घट्दै जाँदा त्यहाँबाट कति हानिकारक पदार्थ केकमा झर्छन् होला कसैले विचार पुर्‍याएका छैनौँ। 

बत्ती निभाएर गरिने कार्यलाई सनातन संस्कृतिमा शुभ मानिँदैन। हरेक शुभकार्य बत्ती बालेरै गर्ने हो। ‘जन्मदिनको उत्सव मनाउँदा बत्ती निभाउने संस्कृतिविरुद्ध छ’, इतिहास पुराणकी ज्ञाता प्रियंवदा काफ्ले भन्छिन्, ‘हिन्दु संस्कृतिमा बत्ती निभाएर शुभकर्म गरिँदैन। त्यसमाथि मुखले बत्ती फुक्नु शास्त्रनिषिद्ध मानिन्छ।’

जन्मदिनमा चक्कु वा अन्य हतियार लिएर केक काट्नु पनि राम्रो मानिँदैन। हतियार आदिको प्रयोगले हिंस्रक प्रवृत्तिलाई जन्म दिन्छ। मूल वैदिक परम्परामा अण्डा आफैंमा ‘अभक्ष्य’ मानिन्छ। जन्मदिनमा अण्डा मिसिएको केक खानु राम्रो मानिँदैन। अण्डा कुखुराको विकारको रूपमा उत्पन्न हुन्छ। यस्ता पदार्थको सेवनले मनमा तामसी विचार पैदा हुन्छ। त्यसैले जन्मदिनमा तामसी पदार्थ होइन सात्त्विक पदार्थ सेवन गर्नुपर्छ।

केक काटेर सुरुमा जन्मदिनवालालाई खुवाउने अनि त्यही जुठो पालैपालो अरुलाई खुवाउने र क्रिम मुहारभरि दलिदिने चलन चलेको छ अचेल। एकको जुठो अर्काले खाँदा एउटाको मुखमा संक्रमण भए अर्काकोमा फैलिन्छ।

के गर्ने त?

बत्ती निभाएर र केक काटेर मनाउने होइन, बत्ती बालिराखेर लड्डु बाँडेर मनाउने। चामल, बेसन, तिललगायत घरमै पाइने पदार्थबाट लड्डु बनाउन सकिन्छ। बजारबाटै ल्याए पनि मिसावट नभएको, हानिकारक तेलमा नबनाइएको ताजा लड्डु ल्याउन सकिन्छ। 

पश्चिमाहरूले उनीहरूको ठाउँ, परिवेश र संस्कृतिअनुसार जन्मदिन मनाउने शैली निकालेका हुन्। त्यो हामीले अनुकरण गर्नैपर्छ भन्ने छैन। हामी आफ्नो संस्कृतिअनुकुल  परम्परालाई अगाडि बढाउन सक्छौँ।

अष्टचिरञ्जीवीको पूजा गर्न नभ्याउने\नगर्नेले पनि कमसेकम एउटा पूर्णघडा राखेर बत्तीमात्र बालेर लड्डु बाँडेर जन्मदिन मनाउन सक्छन्। धर्मसंस्कृति मासियो भनेर चिन्ता गरिरहनेहरूले आफ्नो र आफ्ना सन्तानको जन्मदिन यसरी मनाएको सामाजिक सञ्जालमा यस्ता दृश्य पनि देख्न पाइयोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.