|

काठमाडौं : सरकारले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा लक्ष्यको ६९ प्रतिशत राजश्‍व संकलन गरेको छ। आर्थिक वर्ष २०७४/०७५ मा ७३० अर्ब रुपैयाँ राजश्‍व संकलन गर्ने लक्ष्‍य लिएकोमा नौ महिनाको अन्तिम दिन शुक्रबारसम्मा ६९.१७ प्रतिशत राजश्‍व संकलन भएको महालेखा नियन्त्रक कार्याललयले जनाएको छ।

कम्पनीहरूको त्रैमासिक कर तथा विवरण बुझाउने अन्तिम दिन भएको कारण वाणिज्य बैंकहरू शुक्रबार दिनभर व्यस्त रहे। कम्पनीहरूले त्रैमासिक कर बुझाउने अन्तिम दिन बिदाको दिन पर्दा पनि बैंक खुलाउनुपर्ने वा आधा बिदा भएको खण्डमा पनि पूरा दिन खुलाउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

महालेखा नियन्त्रक कार्यालयमा शुक्रबार बेलुका ८ बजेसम्म आएको विवरणअनुसार एकै दिनमा १३ अर्ब १९ करोड रुपैयाँ राजश्‍व उठेको हो। यससँगै ७३० अर्ब रुपैयाँको लक्ष्यमा ५०५ अर्ब रुपैयाँ राजश्‍व उठेको उपमहालेखा नियन्त्रक यदु भट्टराईले जानकारी गराए।

त्रैमासिक कर बुझाउने अन्तिम दिन अन्य दिनको तुलनामा पाँच गुणासम्म बढी कर उठ्ने गरेको छ। असार, असोज, पुस र चैत महिनाको अन्तिम दिन राजश्‍व उठ्ने गरेको छ।

यस दिन बढी चाप पर्ने भएका कारण अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय र राष्ट्र बैंकले पूरा दिन खुलाउन बैंकलाई निर्देशन दिएका हुन्।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार शुक्रबारसम्म चार सय ९३ अर्ब रुपैयाँ राजश्‍व संकलन भएको थियो। त्यस्तै, दुई अर्ब रुपैयाँ बेरुजु रकमसमेत संकलन भएको छ। बेरुजु र राजश्व गरी पाँच खर्ब सात अर्ब रुपैयाँ राजश्‍व संकलन भएको महालेखा नियन्त्रक कार्यलयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.