|

पर्वत : बागलुङको रामरेखा आधारभूत विद्यालयमा शारीरिक अपांगता भएका विद्यार्थीलाई पढाउन नयाँ भवन निर्माण भए पनि शिक्षक दरबन्दी नहुँदा समस्या भएको छ। शारीरिक अपांगता भएका बालबालिकाको लागि विद्यालय भवन बनेको लामो समय बितिसक्दा पनि विद्यालयले भने दरबन्दी नपाएका कारण पठनपाठनमा समस्या भएको हो। 

अपांगता भएका बालबालिकालाई पढाउनको लागि प्लान नेपालले र्‍याम र छात्रावाससहितको भवन बनाइदिएकाे थियाे। दातृ निकायले भवन बनाइदिए पनि स्रोत शिक्षक अभावमा विद्यार्थी भर्ना गर्न नपाइएको विद्यालयकी प्रधानाध्यापक गीता शर्माले जानकारी दिइन्। 

एक करोड रुपैयाँ लागतमा भवन निर्माण सम्झौता गर्नुअघि जिल्ला शिक्षा कार्यालयले एकजना स्रोत शिक्षकको दरबन्दी उपलब्ध गराउन दातृ संस्था र विद्यालयलाई आश्वासनसमेत दिएको थियो। अहिलेसम्म पनि दरबन्दी नपाइएको प्रअ शर्माले दुखेसो सुनाइन्। उनले भनिन्, ‘विद्यालयमा स्रोत शिक्षक नभए अपांग बालबालिका भर्ना गर्न र पढाउन सकिँदैन। स्रोत शिक्षक अपांगमैत्री व्यवहारसम्बन्धी तालिम प्राप्तसमेत हुनुपर्छ। जिशिअले हाम्रो माग विभागमा पठाउनुभएको रहेनछ, अब नयाँ शैक्षिकसत्र लागेपछि मात्र माग्नुपर्ला।’

अाइतबारदेखि पढाई हुने गरी नयाँ शैक्षिकसत्र सुरु हुन्छ। त्यसका लागि बालबालिका भर्ना गर्नुपर्नेमा काम गर्न नपाएको शर्माको गुनासो छ। जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले शिक्षक माग गर्ने समयमा नमागिएकोले दरबन्दी दिन नसकिएको दाबी गरेका छन्। 

स्रोत कक्षा र शिक्षक उपलब्ध गराउने सर्तमा मात्र प्लानले भवन निर्माणको लागि लगानी गरेको थियो। ‘अहिले हामीले स्रोत शिक्षक र विद्यार्थी नभएको विद्यालयमा भवन बनाएको आरोप लागिरहेको छ।’ प्लान नेपालकी क्षेत्रीय प्रवन्धक नितु आचार्यले भनिन, ‘जिल्ला शिक्षाले हाम्रो सहयोगलाई खेलाँची गरेजस्तो भयो।’ 

जिल्लामा शारीरिक अपांगता भएका धेरै बालबालिकाहरू छात्रावास र बसाइँ व्यवस्थापनको समस्याले पढाइबाट वञ्चित हुनुपरेको तथ्यांक छ। यो स्रोत विद्यालय सञ्‍चालन भएमा जिल्लामा चार प्रकारका अपांगताको स्रोत विद्यालय हुनेछ। यसअघि, श्रवणशक्ति नभएकाको लागि छुट्टै विद्यालय सञ्‍चालनमा छ भने दृष्टिविहीन र बौद्धिक अपांगताका लागि पनि विद्यालय सञ्‍चालनमा छन्।

छात्र र छात्राका लागि छुट्टाछुट्टै राख्न मिल्ने गरी भवन बनेको छ। दुवैतर्फ कम्तीमा २०/२० जना राखेर पढाउन र खाने बस्ने व्यवस्था गर्न सकिने गरी भवन बनेको हो। हाल यो विद्यालयमा नियमिततर्फ माझी, दलित र मजदुरका छोराछोरीहरू बढी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.