भारत चुप

|

सिरियामाथि अमेरिकी नेतृत्वमा रहेको गठबन्धनले सयौं क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिका लगायत बेलायत र फ्रान्स रहेको यो गठबन्धनले शनिकार सिरियामाथि सयौं क्षेप्यास्त्र प्रहार गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भएको उक्त हमलामा क्षतिको विवरण आएको छैन। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उक्त हमला सफलताका साथ सम्पन्न भएको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा उनले सिरियामाथिको हमला बेलायत र फ्रान्सको सहयोगमा सफल भएको लेखेका छन्। उनले अमेरिकी सेना अब विश्वको महान सेना बन्ने र यसको वरपर कोही पनि देखा नपर्ने भन्दै गर्व लागेको उल्लेख गरेका छन्।

त्यस्तै, अमेरिकी रक्षा मन्त्रालयले सिरियामा अमेरिका, बेलायत, फ्रान्सले सिरियाली प्रशासन विरुद्ध गरेका सम्पूर्ण आक्रमण लक्षित स्थानमा गर्न सफलता मिलेको दावी गरेको छ।

रूसले दर्जनौँ क्षेप्यास्त्रलाई बीचमा अबरोध गरेको तर हवाई आक्रमणका निशाना सही रहेका निष्कर्ष पेन्टागनको रहेको रक्षा मन्त्रालयका प्रवक्ता डाना ह्वाइटले पत्रकार सम्मेलन गरेर जानकारी दिएकी छन्।

“हामी सिरियामा युद्ध चाहन्नौ तर आफ्नै नागरिकविरुद्ध लक्षित गरी बसर अल असद प्रशासनले गरेको रासायनिक हतियार आक्रमणबाट भएको अन्तर्राष्ट्रिय कानून उल्लङ्घनको घटनालाई वेवास्ता गरिरहन पनि सक्दैनौँ,” ह्वाइटले पेन्टागनमा सञ्चारकर्मीसँगको कुराकानीमा भनिन्। हवाई आक्रमणको निशाना सही रहेको र हमलाको औचित्य कानूनतः पुष्टि भएको उनको भनाइ थियो।

सञ्चारकर्मीसँगको छोटो प्रतिक्रियामा लेफ्टिनेन्ट जनरल केनेथ म्याककेन्जीले सिरियाली प्रशासनको रासायनिक हतियार संरचनाका लागि प्रयोग हुँदै आएका तीनस्थानमा हमला गरिएको र निशाना सही पुष्टि भएको बताए।

म्याककेन्जीले कारबाही एकदम ठीक, मजबुत र प्रभावकारी रहेको बताए।

रुसको कडा प्रतिरोध

सिरियाको साथमा रहँदै आएको उसको छिमेकी शक्तिशाली देश रुसले भने अमेरकाले अन्तर्राष्ट्रिय मूल्यमान्यको उलंघन गरेर सिरियामा आक्रमण गरेको आरोप लगाएको छ। रुसले यो भनेर मात्रै सिरियाको बचाउ गरेको छैन उसले मैदानमै उत्रिएर सिरियातर्फ आइरहेका अमेरिकी नेतृत्वका मिसाइल बीचैमा झारिदिएको थियो।

रुसले यहीँ विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक आपतकालिन रुपमा बोलाउन माग गरेको छ। सोही बमोजिम सुरक्षा परिषद्को बैठक आजै बस्ने भएको छ।

सिरियाली अधिकारी तथा सिरियाको डुमा रक्षा समितिका प्रथम उपाध्यक्ष एलेक्सनदर सेरिनले अन्तर्राष्ट्रिय मूल्यमान्यता र अधिकारलाई अमेरिकाले बेवास्ता गरेको बताएका छन्।

अर्का उपाध्यक्ष युरी शभयत्कीनले सिरियाविरुद्ध अकल्पनीय परिणाम ल्याउनेगरी आक्रमण भएको टिप्पणी गरे। फ्रान्स, बेलायत र अमेरिकाको अहिलेको संयुक्त आक्रमणले रुससँगको सकारात्मक सम्बन्ध बनाउन कुनै फाइदा नगर्ने उनको भनाइ छ।

रुसको विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत् सिरियामा भएको आक्रमणको निन्दा गरेका थिए।

चीनद्वारा अमेरिका, बेलायत र फ्रान्सको आलोचना

सिरियामा भएको क्षेप्यास्त्र हमलाप्रति चीनले अमेरिका, बेलायत र फ्रान्सको आलोचना गरेको छ।

चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा शुक्रबार राति भएको आक्रमणको आलोचना गरेको हो।

सिरियाली प्रशासनका विरुद्ध भन्दै गरिएको बल प्रयोगले समस्याको समाधान नगर्ने जनाउँदै चीनको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानूनको दायरामा फर्किन सम्वादका सबै पक्षा तथा मुलुकलाई आग्रह गरेको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्नाइङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बलको प्रयोगलाई लगातार विरोध गर्दै आएका छ। साथै कुनै पनि मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मानको पक्षमा वकालत गर्दै आएको बताउन चाहन्छौँ।”

सिरिया हमलालाई इरानले दियो अपराधको संज्ञा

इरानका सर्बोच्च नेता अयतोल्लाह अलि खमेनीले अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको आक्रमणलाई “अपराध”को संज्ञा दिएका छन्।

“म खुल्लारुपमा घोषणा गर्न चाहन्छु की अमेरिका र फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको अपराधप्रति प्रतिबद्धता छ, त्यसैले उनीहरू अपराधी हुन्,” खमेनीले भने।

आफ्नो देशका उच्च अधिकारी र मुस्लिम देशका राजदूतसँगको बैठकमा खमेनीले उनीहरूलाई आक्रमण तत्काल रोक्न दबाव दिनुपर्ने बताएको उनको आधिकारीक वेभसाइटमा उल्लेख छ।

भारत चुप

विश्वको शक्तिशाली मुलुकको दर्जामा राख्न चाहने भारत भने यो विषयमा चुप बसेको छ। यो मामिलाका दुवै पक्षसँग राम्रै सम्बन्ध रहेको भारतले आफूलाई चुप राख्नु नै ठिक ठानेको छ र एकशब्द बोलेको छैन।

पछिल्लो समय सुरक्षा परिषद्को स्थायी सदस्यको लबिइनिङमा रहेको भारतले यो विषयमा आफ्नो प्रतिक्रिया नजनाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.