|

भक्तपुर : बिस्केट (बिस्का) जात्रा भन्नेवित्तिकै जनमानसको मानसपटलमा भक्तपुरको भैरवनाथको रथ तान्ने र लिंगो उभ्याउने दृश्य घुम्न थाल्छ। तर मध्यपुर थिमी क्षेत्रमा मनाइने प्रसिद्ध सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा पनि कम महत्त्वको छैन।

मध्यपुर थिमी क्षेत्रमा विशेषगरी वैशाख १ र २ गते बिस्केट जात्रा मनाइन्छ। यी जात्रा  नेवारी भाषामा रातको जात्रा (चान्हसिया), बेलुकीको जात्रा (बाँय्लिसिया) र बिहानको जात्रा (सुँथसिया)को रूपमा परिचित छन्। थिमीको जात्रामा विभिन्न ३२ देवी देवताको खट समावेश हुने भएकाले यसलाई बत्तीस (स्विनिखः) खटको जात्रा पनि भनिन्छ। सिन्दुरको व्यापक प्रयोग हुने भएकाले यसलाई सिन्दुर जात्रा पनि भनिन्छ।

थिमी क्षेत्रमा हुने जात्रामा बोडेमा हुने जिब्रो छेड्ने जात्रा, सिद्धिकाली परिसरबाट शुरु हुने बेलुकीको जात्रा र बालकुमारी प्रांगणबाट शुरु हुने बत्तीस खटको, बिहानको जात्रा प्रसिद्ध छन्।

सिद्धिकाली गण जात्रा

स्थानीय इनायक्व टोलबाट सिद्धिकालीको नेतृत्वमा वैशाख १ गते साँझ यो जात्रा शुरु हुन्छ। त्यसैले यसलाई बेलुकीको जात्रा भनिन्छ। विष्णुवीर जात्रा प्रारम्भ भएलगत्तै स्थानीय राज गणेशको खट सिद्धिकाली आउँछ र यो जात्रा अारम्भ हुन्छ।

यो जात्रामा सिद्धिकालीको नेतृत्वमा चोदे गणेश, चपाचो गणेश, क्वसी नाः गणेश, दिगु गणेश, गाँचा गणेश र सिवाः गणेशको सहभागिता रहन्छ। स्थानीय इनायक्वबाट सुरु हुने यो जात्राले हात्तीमहाँकाल, कुमाःननी, नासःननी, चपाचो, गार्चा, वाःननि, भुँलाखेललगायतका टोलको परिक्रमा गर्छ।

विष्णुवीर गण जात्रा

सिद्धिकाली गण जात्रा सुरु हुनु अघि विष्णुवीर देवताको नेतृत्वमा सुँगाटोलबाट विष्णुवीर गणजात्रा शुरु हुन्छ। यस जात्रामा पर्सिक्व गणेश, दताः गणेश, भादे गणेश, थाक्वमा गणेश र गाँताः गणेशगरी ६ वटा खट सहभागी हुन्छन्।

यो जात्रामा अनौठो खालको प्रचलन पनि छ। जात्राका क्रममा विष्णुवीरको खट सुंगा टोलबाट कय्कुताँ पुग्दा  धिमेबाजा बजाउन नहुने चलन रहेको छ। यो बेला शवयात्राका क्रममा बजाइने सि बाजा बजाउनु पर्ने र जात्रामा सहभागी सबैले मलामीको रुपमा टोपी फुकाल्नु पर्ने प्रचलन रहेको छ।

बत्तीस खट र बिहानको जात्रा

स्थानीय बालकुमारी मन्दिर प्राङ्गणबाट वैशाख २ गते बिहान शुरु हुने जात्रालाई स्विनिखः बत्तीस खटको जात्रा भनिन्छ। थिमीको बिस्केट जात्राको मुख्य आकर्षण पनि यही जात्रा हो। यसलाई सुथसिया अर्थात् बिहानको जात्रा पनि भनिन्छ।

कुनै समय ३२ खटको सहभागिता हुने भएकाले यसलाई बत्तीस खटको जात्रा भनिए पनि अहिले विभिन्न कारणले यस जात्रामा २३ खट सहभागी हुने गरेका छन्। यो जात्रामा मध्यपुर थिमी क्षेत्रका सिद्धिकाली गण, विष्णुवीर गण, दक्षिण बाराही गण लगायतका देवी देवताहरुको खट सहभागी हुने गर्छन्।

यो जात्रा अारम्भ गर्न सबै देवी देवताको खट स्थानीय बालकुमारी मन्दिर परिसर आइसक्नुपर्छ। नगदेशको सिद्धिगणेश आइसकेपछि एक आपसमा सगुन साटासाट गरी जात्रा प्रारम्भ हुने परम्परा रहे पनि केही वर्षदेखि नगदेशको सिद्धि गणेशको सहभागिताविना नै जात्रा सञ्चालन हुन्छ।

बालकुमारीबाट जात्रा प्रारम्भ भएपछि लस्करै खटहरु चपाचोतर्फ लाग्छन्। त्यसपछि सिद्धिकाली गणका देवी देवताहरु चपाचो क्षेत्रको परिक्रमा गर्न जान्छन् भने बालकुमारी र विष्णुवीर गणका देवताहरु दिगुटोलबाट फर्केर निगुपुखु, इनायलाछि, दथुटोल, मरुटोलको परिक्रमापछि लायकुमा खट बिसाई जात्रा समापन गरिन्छ।

बोडेको जिब्रो छेड्ने जात्रा

मध्यपुर थिमी बोडेमा वैशाख २ गते धुमधामका साथ मनाइने जात्रा हो जिब्रो छेड्ने जात्रा। गतवर्ष झैं यसवर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्दै जात्रालाई निरन्तरता दिँदैछन्।

जिब्रो छेड्ने व्यक्तिले तीन दिनसम्म केही खान नहुने, पशुपन्छीलगायतलाई छुन नहुने परम्परा रहेको छ भने छोएमा जिब्रोे छेड्दा दुख्ने, रगत आउने र विध्नवाधा आउने जनविश्वास रहेको पाइन्छ। जिब्रो स्थानीय श्रेष्ठ थरका व्यक्तिले मात्र छेड्न पाउने परम्परा रहेको छ।

दक्षिण बाराही गण जात्रा

बिस्केट जात्राको अवसरमा मध्यपुर थिमीमा टोल टोलमा जात्रा हुने गरेको छ। स्थानीय दधिकोट क्वाछेंस्थित दक्षिण बाराहीको नेतृत्वमा वैशाख १ गते राति दक्षिण बाराही गण जात्रा हुन्छ। यस जात्रामा दक्षिण बाराहीको साथमा दधिकोट हिंचोकस्थित हरिसिद्धि र थिमीको यमलाटोलको अजिमासहित तीन खट सहभागी हुन्छन्।

सिद्धिगणेश जात्रा

थिमी क्षेत्रको जात्रामध्ये नगदेशको सिद्धि गणेश जात्रा अर्को महत्वपूर्ण र आकर्षण जात्रा हो। थिमीका अन्य भेगमा टोल टोलका देवी देवताहरुको खट बनाई जात्रा हुने गरे पनि नगदेशमा भने एउटै सिद्धि गणेशको मात्र खट जात्रा गरिन्छ । यो जात्रामा नगदेशका हजारौंको जनसहभागिता हुने भएकाले यो जात्राको रौनक नै बेग्लै हुन्छ।

यो जात्रा वैशाख १ गते राति र २ गते बिहान सञ्चालन हुन्छ। यो जात्रामा सिद्धिगणेशलाई खटमा राखेर स्थानीय बहाननि, लेंचा, छ्वासो, त्वाःगाः, पाचुननि, कुम्हाःलाछी, न्यागाः, गार्चा लगायतको क्षेत्रको परिक्रमा गराइन्छ। स्थानीय लायकुका प्रतिनिधिले सिद्धिगणेशलाई धनिचाः स्वाँ (एक प्रकारको विशेष फूल) चढाएपछि लाछिटोलबाट यो जात्रा प्रारम्भ हुन्छ।  

नीलबाराही जात्रा

जात्राको अवसरमा टिगनीमा निलबाराही जात्रा सञ्चालन हुने गर्दछ। नीलबाराहीको जात्रा पनि वैशाख१ गते बेलुकी र २ गते बिहान गरी दुई दिन सञ्चालन हुने गर्दछ।

वैशाख १ गते राति स्थानीय तःधं टोलमा राखिएको निलबाराहीलाई सरस्वतीखेल पुर्‍याइनन्छ। त्यहाँबाट फर्काएर पुनः तःधं टोलमा पुर्‍याएपछि त्यस दिनको जात्रा समापन हुन्छ। भोलीपल्ट वैशाख २ गते बिहान नीलबाराहीलाई नगदेशको सिद्धि गणेश र बोडेबाट टिगनी ल्याउने देवताहरुको बाटो हेर्न र स्वागत गर्न स्थानीय सानुच्वमा ल्याइन्छ।

त्यहाँ सिद्धिगणेश र महालक्ष्मी गण समेतको सहभागितामा तिगनीको तःधं टोलस्थित डबलीमा बिसाई पूजा थाप्ने कार्य हुन्छ। त्यसपछि विभिन्न भागको परिक्रमा गराई जात्रा समापन गरिन्छ।

कालिका गण जात्रा

जिब्रो छेड्ने जात्रासँगै बोडेमा कालिका गण जात्रा पनि सञ्चालन हुन्छ। यो जात्रा पनि दुई दिन सञ्चालन हुन्छ। पहिलो दिन वैशाख१ गते राति स्थानीय लाछिटोलमा रहेको द्यछेंबाट कालिकालाई मन्दिरमा लगेर जात्रा गरिन्छ।

थिमीका अधिकांश जात्रा मुल देवताको नेतृत्वमा हुने गरेतापनि बोडेमा भने बोडेको मूल देवता महालक्ष्मी भन्दा अघि पाचो गणेश राखेर जात्रा सञ्चालन हुन्छ। बोडेबासीले कालिकालाई नगरको नकीं अर्थात् थकालीको रूपमा लिइन्छ । त्यसैले बोडेमा हुने खट जात्रामा कालिकालाई सबैभन्दा पछाडि राखिन्छ। यो जात्रामा पाचो गणेश, हासिमला गणेश, भोरिखा गणेश, तःधिं बाराही, चिँ धिं बाराही, महालक्ष्मी र कालिकाको खट सहभागी गराइन्छ।

चरखण्डी जात्रा

भक्तपुरको दधिकोटस्थित चरखण्डीमा मनाउने चरखण्डी जात्रालाई पनि मध्यपुर थिमी क्षेत्रकै बिस्का जात्राको एक अभिन्न अंगको रुपमा लिने गरेको छ। विशेषगरी थिमीबाट बसाइ सराइका क्रममा चरखण्डी पुगेकाहरुले यो जात्रा शुरु गरेको भन्ने भनाईहरु पाईन्छ ।

यो जात्रामा शुरुमा एक खट रहेको पछि विस्तार गरी दुई खट बनाएको भन्ने स्थानीय बासिन्दाहरुको भनाइ छ । तर कुनै लिखित प्रमाण भने पाइएको छैन । यो जात्रा पनि वैशाख १ र २ गते दुई दिन सञ्चालन हुन्छ।

लौहकल्थलीको सिद्धिकाली जात्रा

लौहकल्थलीमा २०६७ सालदेखी सिद्धिकालीको जात्रा शुरु भएको हो। लौहकल्थलीमा पनि वैशाख १ र २ गते गरी दुई दिन जात्रा हुन्छ। वैशाख १ गते साँझ स्थानीय सिद्धिकाली द्यः छेँ परिसरबाट सिद्धिकालीको खटलाई स्थानीय गणेश मन्दिर परिसरमा पुर्‍याइन्छ। यसलाई देवता प्रदर्शन गर्ने जात्रा भनिन्छ।

वैशाख २ गते बिहान सबै टोलवासीहरुको घरघरबाट पूजा गरिसकेपछि यो जात्रा शुरु गरिन्छ। यस जात्रामा सिद्धिकालीको खटलाई स्थानीय प्रजापति टोल, गणेश मन्दिर, दक्षिणकाली मन्दिर, लौहकल्थली चोक, ह्याजु टोल, कुटु टोल, द्वारे टोल, हेका टोल, कवें टोलको विभिन्न देवी देवताको मन्दिर परिक्रमा गराइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.