जनकपुरधाम : मिथिलाञ्चल क्षेत्रमा परम्परागत रुपमा मनाइँदै आइएको जुडशीतल पर्व आइतबार धुमधामको साथ मनाइँदै छ। होली पर्वमा रंग अवीर खेलिएजस्तै यस पर्वमा हिलो र पानी खेलिने गरिन्छ।
पहिले-पहिले यो पर्वमा बिहान उठेर सम्पूर्ण गाउँवासीहरु मिलेर एकत्रित भई एक अर्कामाथि हिलो, माटो, पानी र खरानी छ्यापेर खेलिने गरिएको थियो तर अब आधुनिकता हाबी हुँदै जाँदा यो पर्व लोपोन्मुख हुँदै गएको स्थानीयहरु बताउँछन्।
लोपोन्मुख हुँदै गएको मिथिलाको लोकपर्वका रुपमा रहेको जुडशीतल पर्वलाई संरक्षण गर्ने उद्देश्यले मिथिलाञ्चल क्षेत्रका विभिन्न कार्यक्रमको आयोजना गरी एक आपसमा हिलो र पानी छ्यापेर यो पर्व मनाउने गरिन्छ। जुडशीतलमा हिलो र पानी जिउमा हाल्नाले स्वास्थ्य लाभ हुनुका साथै छालाको रोगहरु नलाग्ने र गर्मी महिनाभरि शीतलता प्रदान हुने जनविश्वास रहेको छ।
यसै विश्वासको साथ एक अर्कामाथि पानी र हिलो छ्यापेर जुडशीतल मनाइँदै आइएको छ। गर्मी याममा दादुराको प्रकोप बढ्ने गरेको कारणले शुद्ध माटो जिउँमा लगाउँदा यो रोग निको हुने पौराणिक मान्यता अनुसार शुद्ध माटो र पानीले यो पर्व मनाइने गरिन्छ। नगर क्षेत्रमा यस पर्व लोपोन्मुख हुंदै गए पनि अहिले पनि ग्रामिण क्षेत्रमा यस पर्वको बिशेष महत्व रहेको छ।
बिहान घरको बुजुरंग व्यक्तिले आफूभन्दा कान्छाहरुको टाउकोमा बासी पानी हालि वर्ष भरि नै शितलता प्रदान होस भन्ने कामना गर्दछन्। जस अनुसार जनकपुर सहित आसपासको क्षेत्रमा बृद्ध बृद्धाहरुले आफु भन्दा कान्छोको टाउकोमा पानी छ्यापेर यो पर्व मनाईन्छ। बोट विरुवाहरुमा समेत पानी हाल्ने परम्परा रही आएको छ।
यस दिन गाई वस्तुहरुलाई पनि अनिवार्य रुपमा नुहाउने परम्परा रहेको छ। त्यसैगरी, जुडशीतलमा बासी भात र मानवशरीरको लागि अति नै स्वस्थ्यकर मानिएको चनाको सातु तथा अन्य चिसो परिकारहरु खाने परम्परा छ। समयको परिवर्तन सँगै यस पर्वको स्वरुपमा परिवर्तन आए पनि यस पर्वको महत्वमा भने कुनै कमी
नआएको प्राज्ञ राम भरोष कापडी भ्रमरको भनाइ छ। गृष्म ऋतुको शुरुवातसँगै शीतलताको प्रतीकको रुपमा हिलो र पानीले खेल्ने यो पर्वले मिथिलाको सांस्कृतिलाई झल्काउने गरेको उनको भनाइ छ।
आधुनिकताको दौरमा यस पर्वको सकारात्मकता लाई बिर्सेर युवाहरु यसलाई फोहोरी मानेर यो पर्व बाट टाढिँदै गएको राजनीतिकर्मी तथा मैथिलीका जानकार रामचन्द्र झा बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।