|

विराटनगर : त्रियुगा नगरपालिका-१३ का मनिकुमार राई चैत २८ गते साँझ घरमा बसिरहेका थिए। एक्कासि राईलाई खबर आयो साथीसँग खेल्न निस्किएको छोरा बम खेलाउने क्रममा विस्फोटमा परेर सख्त घाइते भयो। 

गम्भीर घाइते भएका १४ वर्षे छोरा पारस राईको अहिले विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा उपचार भइरहेको छ। पैसाको अभावले परिवारलाई भने बालकको उपचार पूरापूर हुँदैन कि भन्ने चिन्ताले सताएको छ। ‘उपचार गराउने विषयमा सबैले सहयोग गर्ने आश्वासन दिनुभएको छ,’ पीडित बालकका बुबा मनिकुमार राईले भने,‘मसँग पैसा छैन, निर्दोष छोरा भेन्टिलेटरमा राखेको छु, औषधि, अस्पतालको पैसा दिनसकेको छैन।’ 

उदयपुर त्रियुगा नगरपालिका-१३ पुरानो हवाईफिल्डस्थित थरुहट-त्रियुगा रंगशाखामा बम पड्किएर पारस घाइते भएका थिए। पारसको घाँटीमुनि बमका छर्राले नलागेको ठाउँ छैन। निम्न आर्थिक अवस्था राईले आफ्नो छोराको उपचारका लागि सरकारी पक्षबाट सहयोग हुने आशा राखेका छन्। ‘सहयोग गर्छु भन्दै सांसद र मन्त्री पनि आए’ उनले भने, ‘तर, अहिलेसम्म कसैले पनि सहयोग गरेका छैनन्। औषधि,आइसियु भेन्टिलेटर चार्ज, अपरेसन चार्ज र खाने वस्ने खर्चको जोहो गर्न पनि मलाई गाह्रो भइरहेको छ।’ 

उपचारमा पाँच लाख लाग्‍ने डाक्टरको भनाइ

बालकलाई ल्याउँदा एम्बुलेन्समा लागेको ९ हजार ५०० बाहेकको खर्च दिनसक्ने अवस्थामा आफू नभएको राईको भनाइ छ। उपचारमा संलग्न डाक्टर अभिषेक चौधरीका अनुसार उनलाई अझै डेढदेखि ३ महिनासम्म उपचारको समय लाग्नेछ। उपचार गर्न ४ देखि ५ लाख रुपैयाँसम्म लाग्छ। ‘बालकको उपचारका लागि अझै तीनमहिना पनि लाग्न सक्छ,’ चौधरीले भने, ‘अपरेसन, भेन्टिलेटर र औषधिको खर्च जोड्दा उपचार सकिँदासम्ममा ४ देखि ५ लाख खर्च लाग्न सक्छ।’

अस्पतालले उपचारको क्रम नसकिएसम्म पैसा नमाग्ने बताइएको भए पनि औषधिको व्यवस्था भने आफैँ गर्न भनिएको छ। अस्पतालका अध्यक्ष डाक्टर कैलाश श्रेष्ठले आफूले उपचार अवधिभर रकम नमागे पनि डिस्चा‍र्ज गर्ने बेलामा रकम दिनुपर्ने बताए। ‘हामीले बालकका परिवारलाई अहिलेसम्म कुनै रकम मागेका छैनौँ,’ श्रेष्ठले भने, ‘औषधिको जिम्मा भने हामी लिन सक्दैनौँ।’ उनको उपचारमा पूरै नि:शुल्क गराउन भने आफूले नसक्ने उनको भनाइ छ। 

गरिबीले पिरोलिइरहेका राईलाई बमको सिकार भएको छोरा बचाउने अर्को पीर थपिएको छ। गत चैत २८ गते साँझ बम विस्‍फोटमा परेका पारसको घाँटीमुनिको भागमा बमका छर्रा लागेको छ। उपचारमा संलग्न चिकित्स चौधरीका अनुसार बम विस्‍फोटले बालकको कलेजोमा असर गरेको छ, करङको हड्डी भाँचिएको छ। ठूलो आन्द्राको बोसो बाहिर निस्किएको छ, पेटको दाहिनेपट्टि एपेन्डिक्स फुटेको छ। पेटको देब्रेतर्फ ठूलो आन्द्रामा पनि असर देखिएको छ। बिनाकारण राखिएको बम विस्‍फोटमा परी घाइते बालकको उपचारमा सरकारी तवरबाटै सहयोग हुनुपर्ने पीडित राई बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.