|
फाइल फोटो

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफ्नो मन्त्रालयमा ठूला-ठूला योजनाका प्रस्ताव आउने र आफैँ हराउने गरेको जनाएका छन्।

ऊर्जा मन्त्रालयमा आइतबार पत्रकारहरूसँगको भेटमा मन्त्री पुनले नयाँ र नौलो योजना र प्रस्ताव ल्याउने तथा ती प्रस्ताव ल्याउनेहरू पछि आफैँ हराउने गरेको यथार्थ सुनाए।

उनले विगतमा भएका नीतिगत भ्रष्टाचारको छानबिन गरी कारबाही गर्ने दाबी पनि गरे। मन्त्री पुनले भने, 'लोडसेडिङ नगर्नुपर्ने अवस्थामा पनि लोडसेडिङ गरेर कतिपय कम्पनीलाई दिइएको पाइयो। त्यसरी नीतिगत भ्रष्टाचार गर्नेहरूलाई कारबाही हुनेछ।'

मन्त्री पुनले १० वर्षमा १० हजार मेघावाट विद्युत् निमार्णका लागि रन अफ दी रिभर आयोजना निजी क्षेत्रलाई दिने र जलाशययुक्त आयोजना नेपाल विद्युत् प्राधिकरणले बनाउने गरी काम अघि बढाइने जनाए।

उनले भने- यो सँगसँगै सौर्य उर्जामा पनि हामीले ध्यान दिएका छौं। एउटै माध्यममा भरपर्दा प्राकृतिक प्रकोपलगायतको समयमा समस्या आउन सक्‍ने भएकले सौर्य ऊर्जामा पनि ध्यान दिन लागिएको हो। अबका दिनमा सौर्य ऊर्जा आर्थिक रूपले पनि धान्न सकिने बन्दै गएको छ।

उनले ६ सय मेघावाट क्षमताको सौर्य ऊर्जाका लागि स्काइ पावर ग्लोबनसँग छलफल भइरहेको जानकारी दिए। त्यो कम्पनीले नेपालमै सालार प्यानल उत्पादन गरी १६ हजारभन्दा बढीलाई रोजगारी दिने उनले बताए।

मन्त्री पुनले सबै नेपालीको सेयर हुने गरी ठूला खालका केही जलविद्युत् आयोजना निर्माण गर्ने योजना सुनाए। मन्त्री पुनले भने, 'जनार्दन (शर्मा)जीले नेपालको पानी, जनताको लगानी भन्ने अभियानको थालनी गर्नुभएको थियो। त्यसलाई निष्कर्षमा पुर्‍याउन एकदेखि पाँचवटा आयोजना छनोट गर्ने तयारीमा छौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.