वैशाख ९ मा एकता हुन्छ/हुन्न निश्चित छैन : वरिष्ठ नेता श्रेष्ठ

|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकताका लागि बोलाइएका पछिल्ला बैठकहरु बस्दै नबसी स्थगित हुँदा पार्टी एकता झन् अन्योल बन्दै गएको छ।  

गत चैत २२ गते अन्तिमपटक बसेको एकता संयोजन समितिको बैठक त्यसयता बस्न सकेको छैन। गत बुधबार बैठक बस्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण बस्न सकेन त्यसपछि आइजिपी नियुक्तिका क्रममा भेटेका ओली र प्रचण्डबीच भेटघाटसम्म भएको छैन। वैशाख ९ गते पार्टी एकता गर्ने भनिए पनि उक्त दिन अब असम्भवजस्तै बनेको छ।

ओली र प्रचण्डबीच पछिल्लो समय वार्तासमेत हुन सकेको छैन।  आइतबार ओली र प्रचण्ड एक्लाएक्लै वार्ता छलफल गर्ने भनिएको भए पनि उक्त बैठक बस्न सकेन। यसरी पछिल्लो समय ओली–प्रचण्ड टाढिँदै गएकाले एकतामा जटिलता थपिँदै गएको अनुमान सहजै गर्न सकिन्छ। 

आइतबारका लागि बोलाइएको ओली–प्रचण्डको वार्ता प्रचण्ड राजधानीबाहिर जाने भएकाले स्थगित भएको माओवादी स्रोतले बताएको छ। स्रोतले भन्यो, ‘अध्यक्ष आराम गर्नका लागि सिन्धुपाल्चोकको सुकुटे जानुभएको छ। उहाँ परिवारसहित सुकुटे जानुभएको हो। त्यहाँ पार्टीको केही कार्यक्रम छैन।’ प्रचण्ड यसअघि पनि तनाव हुँदा सुकुटे जाने गरेको बताइएको छ। उनी भोली नै काठमाडौं फर्कनेछन्। 

यसअघि, गत बुधबार बोलाइएको पार्टी एकता संयोजन समितिको बैठक पनि माओवादी अध्यक्ष प्रचण्ड बिरामी भएको भन्दै स्थगित गरिएको स्रोतले बताएको छ। 
यता, प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रचण्डले आउन नसक्ने बताएपछि आइतबार हुने भनिएको बैठक स्थगित भएको हो। ओलीको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री पनि काठमाडौं आज मात्र आइपुग्नुभएको हो।

हुन त उहाँ आज बालुवाटारमा व्यस्त नै हुनुहुन्थ्यो। तर, माओवादी अध्यक्ष सचिवालयबाट आज आउन नसक्ने भन्ने आएपछि बैठक स्थगित भएको हो।’ सोमबारका लागि अर्को बैठक बस्ने गरी आइतबारको बैठक स्थगित भएको ओलीको सचिवालयले जनाएको छ। सचिवालयले भन्यो, ‘भोलि त क्याबिनेट पनि छ। समय त यसैवेला भन्न सकिन्न तर, भोलि बस्ने भन्ने जानकारी चाहिँ छ।’ 

प्रचण्ड र ओलीको एक्लाएक्लै भेटमा केही विवादित विषयमा छलफल हुने बताइएको छ। पार्टीको सांगठनिक संरचनामा माओवादीले बराबरी हिस्सा खोजेको छ भने एमाले त्यसको पक्षमा देखिएको छैन। यस्तै, पार्टीको प्रस्तावनमा ‘जनयुद्ध’ राख्ने/नराख्ने भन्ने विषय टुंगिएको छैन। 

चुनाव चिह्नमा पनि  विवाद छ। एमालेले सूर्य चिह्नलाई एकीकृत पार्टीको चुनाव चिह्न राख्न प्रस्ताव गरेको छ भने माओवादीले सूर्यभित्र हँसिया हथौडा राख्न प्रस्ताव गरेको छ।
वैशाख ९ मा एकता हुन्छ/हुन्न निश्चित छैन : वरिष्ठ नेता श्रेष्ठ

यसअघि एमाले र माओवादीको एकता वैशाख ९९ मा गर्ने गरी पार्टीको एकताका लागि बनेको राजनीतिक प्रतिवेदन मस्यौदा समितिले सुझाब दिएको थियो। उसले नपालमा कम्युनिस्ट पार्टीको स्थापनाको ऐतिहासिक दिन पारेर पार्टी एकता गर्न पार्टी एकता संयोजन समितिलाई सुझाब दिएको थियो। 

त्यहीअनुसार एमाले माओवादीका शीर्ष नेताहरुले पनि पटकपटक आफ्नो भाषणमा वैशाख ९ मा पार्टी एकता हुने दाबी गर्दै आएका थिए। तर, पछिल्लो समय पार्टी एकता संयोजन समिति तथा दुई पार्टीका अध्यक्षबीच वार्ता हुन नसक्दा एकता अन्योलमा पर्दै गएको छ। 

यसैबीच, नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले वैशाख ९ मा पार्टी एकता निश्चित नभएको बताए। उनले थाहाखबरसँग भने,‘अहिलेसम्म वैशाख ९ गते गर्ने निश्चित छैन एकता गर्ने भनेको हो। तर बैठक बस्न सकेको छैन। त्यसैले अब बैठक बसेर एउटा निष्कर्षमा नपुगेसम्म यसै भन्ने अवस्था रहेन। ९ गते चाहिँ एकता गरिहाल्नलाई अब समस्या हुन्छ।’

तर, पार्टी एकता वैशाख ९ गते नै नहुने भन्ने कुनै निर्णय भइनसकेको उनले बताए। उनले भने, ‘वैशाख ९ मै हुँदैन भनेर औपचारिक निर्णय नै त गरिएको छैन, तर पनि अब समस्या त छ नै तर, अब ढिलो भएका कारण के होला भन्ने स्थिति पनि बनेको छैन।’ 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.