|

रौतहट : शौच गर्न बागमती नदी किनारा धाउने गडीमाई नगरपालिका–१ समनपुर गाउँ निवासी जनकधारी साहले ७० वर्षको उमेरमा शौचालय प्रयोग गर्न शुरु गरेका छन्। उनले तीनदिन अघिदेखि शौचालय प्रयोग गर्न थालेका हुन्। 

शौचालय बनाउने जमिनको अभाव भए पनि घरको झ्यालमै जोडाएर उनले शौचालय बनाएका छन्। सरसफाइ अभियानकर्ताहरुको प्रेरणाले शौचालय बनाउन सफल भएको साहले बताए। 

साहले मातृभाषा (बज्जिका)मा भने ‘घर मे सेप्टी बनाके बहुत फाइदा मिलल, ताकि बाहर जाएके झन्झट मुक्त होगैल बा,’ उनले थपे, ‘शौचालय बनाउन सरकारको अनुदानको आँखा ताक्नु राम्रो हैन, आफ्नो शौचालय आफैँले बनाउनु पर्छ।’ 

अहिले सो गाउँमा शौचालय बनाउने अभियान चलेको छ। शौचालय बनाउन नसक्ने तथा विपन्न परिवारलाई नगरपालिकाले शौचालय बनाउन आवश्यक सामग्रीहरु उपलब्ध गराउँदै आएको वडा नम्बर १ का अध्यक्ष रामविनय यादवले बताए। 

सो वडाका सम्पूर्ण घरमा शौचालय निर्माण गर्न तथा खुल्ला दिशा मुक्त बनाउन सरसफाइ शीर्षकमा २५ लाख रुपैयाँ बजेट विनियोजित भएको अध्यक्ष यादवले जानकारी दिए। यदि शौचालय बनाउन अटेर गरे वडा तथा नगरपालिकाबाट पाउने सम्पूर्ण सेवा सुविधा रोक्ने उनले बताएका छन्।

सो वडामा रहेका करिब नाै सय घरधुरीमध्ये तीन सयभन्दा बढीले शौचालय निर्माण गरिरहेको र अझै ६५ घरधुरीले शौचालय निर्माण नगरेको नगरपालिकालाई खुल्ला दिशा मुक्त अभियानमा लागेकी जनसेवा नेपालका कार्यक्रम संयोजक निर्मला सुबेदीले जानकारी दिइन्।

यता जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रौतहट गौरले ९४ प्रतिशत घुरधुरीमा शौचालय बनिसकेको जानकारी दिएको छ। हालसम्म रौतहटको मौलापुर र माधवनारायण नगरपालिका खुल्ला दिशा मुक्त घोषणा भइसकेका छन्। 

करिब एक लाख तीन हजार घरधुरी रहेको रौतहटमा ९७ हजार घरधुरीमा शौचालय बनिसकेको र छ हजार घरधुरीमा शौचालय बनाउन बाँकी रहेको सो सरसफाइ सम्बन्धी काम गर्ने युएन हाबिटाटका रौतहट प्रमुख दिपेन्द्र ठाकुरले जानकारी दिए।  वैशाख महिनाभित्रै परोहा, बौधीमाई नगरपालिका र दुर्गा भगवती गाउँपालिकालाई खुल्ला दिशा मुक्त घोषणा गर्ने योजना रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.