|

पाँचथर : डिफेन्डिङ च्याम्पियन विर्ता युनाइटेड क्लव झापाले पाँचथर गोल्डकपको उपाधि हात पारेको छ। न्यूस्टार क्लब सुनसरीलाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै झापाले उपाधि हात पारेको हो। 

आइतबार फिदिम माविको खेल मैदानमा भएको खेलमा झापाका लागि खेलको दोस्रो मिनेटमै बुद्ध चेम्जोङको पासमा नवयुग श्रेष्ठले गोल गरी टिमलाईअग्रता दिलाए। सुनसरीका स्ट्राइकर सुशिल राईले ३२औँ मिनेटमा दिएको पासलाई निशान लिम्बूले गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याए। 

पहिलो हाफ १-१ गोलको बराबरीमा रोकियो। दोस्रो हाफमा भने सुनसरीविरुद्धआक्रमक खेल प्रदर्शन गर्दै झापाले ३ गोल गर्‍यो। झापाका बुद्ध चेम्जोङको पासमा पुष्प मादेनले ६०औँ र पुजन उभरकोटीले कर्नरबाट प्रहार गरेको बललाई ६८ औँ मिनेटमा हेडमार्फत गोल गरे। त्यस्तै, नवयुग श्रेष्ठले ८१ औँ मिनेटमा गोल गर्दै टिमलाई जिताए। 

प्रतियोगितामा विजेता बन्दै झापाले तीन लाख पाँच हजार ५५५ रुपैयाँ र उपविजेतामा चित्त बुझाएको सुनसरीले एक लाख ५५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्‍यो। फाइनल खेलको म्यान अफ द म्याच सुनसरीका हेमन्त थापा मगर भए। उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे। झापाका स्ट्राइकर नवयुग श्रेष्ठले सर्वाधिक गोलकर्ता भएर १० हजार प्राप्त गरे। उनले प्रतियोगिता अवधिमा भएका खेलहरूमा कुल ६ गोल गरेका थिए। 

श्रेष्ठ नै प्रतियोगिताको सर्वाधिक महत्त्वपूर्ण खेलाडी घोषित हुँदै टिभिएस कम्पनीको मोटरसाइकल पनि प्राप्त गर्न सफल भए। यसअघि शनिबार पाँचथरकै रबिमा भएको रबि गोल्डकपको उपाधि भिडन्त पनि यी दुई टिमबीच भएको थियो। तर, झापा नै विजेता बन्दा सुनसरी उपविजेता बन्नु परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.