|

गौशाला : महोत्तरी जिल्लाको उत्तरवर्ती एक दर्जनभन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएको छ। अत्यधिक गर्मीसँगै जिल्लाको उत्तरवर्ती पशुपतिनगर, किसाननगर, हात्तिलेट, लक्ष्मीनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, गौरीबास, खयमारा, बिजलपुरा, निगौल, गौशाला, बर्दिबास नगरपालिकालगायतका ठाउँमा खानेपानीको हाहाकार भएको स्थानीयवासीले बताए। 

ढुंगा र चट्टानयुक्त भौगोलिक भएको ती ठाउँमा हिउँदमै पानीको सतह घटेर धेरै तल गइसकेको र २०० भन्दा बढी इनार सुकिसकेका छन्। बाँकी इनारको पानी पनि पाताल लागिसकेको गौशालाका हजारी साहले बताए। सयौँ इनार एकैचोटि सुक्दा त्यस क्षेत्रमा खानेपानीको विकराल समस्या उत्पन्न भएको र त्यस्तै बाँकी इनारबाट एक गाग्री पानी निकाल्न पनि निक्कै समय खर्चिन परेको बेलगाछीका काशी महतोले बताए। 

जिल्लाको उत्तरी क्षेत्रका अधिकांश गाउँमा पानीको हाहाकार भएपछि त्यस क्षेत्रका प्रत्येक परिवारका एकजना सदस्यले दैनिक खानेपानीको जोहोमा छिमेकी गाउँ र वरपरका नदी, खोलामा धाउनु परेको लक्ष्मीनियाका शंकर महतोले बताए।

पानीको अभावमा त्यस क्षेत्रका बासिन्दाले जसोतसो खाना पकाउने र पिउनेसम्म गरेको छ भने नुहाउने, लुगाधुने, वस्तुभाउलाई खुवाउने जस्ता कार्य सातामा दुई÷तीन पटक मात्रै गर्ने गरेको खयरमाराका देवेन्द्र यादवले बताए। 

विभिन्न सामाजिक संघसंस्था र तत्कालीन गाविसकै खर्चमै पनि धेरै पहिले ती गाउँमा जडान गरिएका दर्जनौ‌ं धारा, स्यालो ट्युबवेल र डिप बोर्डिङ पनि खराब भएर सञ्चालनमा नहुँदा स्थानीयवासीलाई पानीको जोहोका लागि छिमेकी जिल्ला धनुषाको शहर बजार र पाँचदेखि सात किलोमिटर टाढासम्म रहेको छिमेकी गाउँका नदीनाला र इनारमा जानुपर्ने बाध्यता रहेको किसाननगरका प्रेमकुमार महतोले बताए। 

यसरी त्यस क्षेत्रका दर्जनभन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएपछि स्थानीयवासी चिन्तित भएका छन्। उनीहरुले सम्बन्धित निकायलाई खानेपानीको जोहो गरिदिन माग गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.