|

बाग्लुङ : यहाँ प्रकृतिप्रेमी पर्यटकले नयाँ वर्ष–२०७५ लाई घुम्टेको लेकबाट स्वागत गरेका छन्। घुम्टेमा आयोजित ‘गुराँस उत्सव’ अवलोकनमा पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए। तीन हजार १२० मिटरको उचाइमा अवस्थित घुम्टे चढ्न पर्यटकले चार घण्टाको पदयात्रा तय गरेका थिए। 

चैत ३० र नयाँ वर्षको दिन चलेको गुराँस उत्सव गलकोट घुम्टे पर्यटन विकास केन्द्रले आयोजना गरेको हो। विगत ६ वर्षदेखि केन्द्रले नयाँ वर्षको अवसरमा गुराँस उत्सव गर्दै आएको छ। घुम्टेको पर्यटन प्रवर्द्धन र गुराँस संरक्षणको सन्देश दिन खोजिएको केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले बताए। 'यो वर्ष पनि उत्सव सफल भएको छ, हजारौँले उत्सव अवलोकन गरेका छन्', अध्यक्ष बस्नेतले भने। 

नयाँ वर्षको स्वागतसहित गुराँस उत्सव मनाउन कतिपय पर्यटक नयाँ वर्षको अघिल्लो दिनै घुम्टे उक्लेका थिए। बढीजसो पर्यटक नयाँ वर्षको पहिलो दिन शनिबार बिहान घुम्टे चढेका थिए। उत्सवमा अवलोकन यात्रा, कला–संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झण्डोत्तलन, ‘क्याम्प फायर’ लगायतका कार्यक्रम भएका थिए। घुम्टेको धुरीमा रहेका सिद्ध र भैरबको मन्दिरमा पूजाआजा गर्ने भक्तजनको पनि उत्तिकै भीड लागेको थियो। 

सो अवसरमा प्रतिनिधिसभा सदस्य मना केसीले घुम्टेको धुरीमा राष्ट्रिय झण्डा फहराएका थिए। केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ र नयाँ वर्षको दिनलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ। 

घुम्टेमा रहेको घना जंगलमा विभिन्न प्रजातिका गुराँस फुल्ने गर्छन्। गुराँस फुल्ने याममा पर्यटक लोभ्याउन उत्सव सहयोगी बनेको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए। विसं २०७० मा घुम्टेमै भएको मैत्रीपूर्ण पर्यटन भेलापछि गुराँस उत्सव गर्न शुरु गरिएको हो।

धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले महत्वपूर्ण घुम्टेलाई पर्यटकीय गन्तव्य बनाउन केन्द्र लागिपरेको छ। केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वनक्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना अघि सारेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.