|

धनकुटा : नयाँ वर्ष सबैका लागि विशेष नै हुन्छ। विशेष दिनलाई अझ विशेष बनाउन यस वर्षको धेरैको गन्तव्य स्थल बन्यो ‘लाली गुराँसको राजधानी’। संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगम स्थलमा पर्ने तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रलाई लाली गुराँसको राजधानी भनिन्छ।

टीएमजे क्षेत्रमा विश्वमा पाइने ४२ प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँस रहेको छ। त्यसैले गुराँस फुल्ने मौसममा यस क्षेत्रमा पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ। यो क्रम बर्सेनि बढ्दै गएको छ। यस क्षेत्रमा गुराँस फुल्ने मौसम भएकाले विशेष गरी नयाँ वर्षमा पर्यटकहरु आउने गर्दछन्।

यस क्षेत्रमा विदेशी पर्यटक छिटफुट मात्र पुगे पनि आन्तरिक पर्यटक बढी पुग्ने गरेका छन्। काठमाडौंबाट करिब ५० जना टीएमजे क्षेत्र घुम्न आएको अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष विजय गौतमले बताए। यस्तै, सुनसरीबाट २०० जना बढी घुम्न आएको धरानका मेघराज कार्कीले बताए। ‘धरानको मात्र २० समूह थिए,’ कार्कीले भने ‘सुनसरीकै अन्य ठाउँबाट पनि उत्तिकै संख्यामा घुम्न आएका छन्।’ 

धनकुटाबाट टीमएमजे पुगेका गणेश बस्नेतले मनोमोहक पाएको बताए। उनले भने, ‘गुराँसको राजधानी भन्ने सुनेर हेर्न आएको, साँच्चै राजधानीनै रहेछ।’ यस क्षेत्रबाट ताप्लेजुङमा रहेको पाथिभरा देवीको दर्शन गर्न पाउने भएकाले पनि मानिसहरु यहाँ आउने गर्दछन्। 

यहाँ रहेका  चौकी बजार, मंगलबारे बजार, मेन्छ्याम डाँडा, गुफा पोखरी पनि पर्यटकका आकर्षण हुन्। टीएमजे क्षेत्रबाट मकालु, कञ्चनजंघालगायतका हिमाल देख्न पाइने भएकाले यस क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गरेको छिरिङ लामाले बताए। यस पटक नयाँ वर्षमा मात्र करिब पाँच हजारभन्दा बढी आन्तरिक पर्यटकहरु यस क्षेत्रमा आएका थिए।

पर्यटक तान्न पदयात्रा

‘अलौकिक प्राकृतिक छटाको मनोहरा, अबको गन्तव्य पाथीभरा’ भन्ने मुल नाराका साथ प्रदेश १ को नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि ‘तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव’ जारी रहेको छ। प्रदेश १ का सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलामका नयाँ पर्यटकीय मार्गको विकास र प्रचारका लागि ताप्लेजुङ सरोकार केन्द्र काठमाडांैले साताव्यापी पदयात्रा थालेको हो।

तेह्रथुमको वसन्तपुर हुँदै गुराँसको राजधानी टीएमजे क्षेत्रबाट ताप्लेजुङको पाथीभरालाई गन्तव्य बनाएर गरिने पदयात्राले प्रदेश १ को पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने महोत्सव मूल समारोह समितिका संयोजक टंक श्रेष्ठले बताए। यस क्षेत्रमा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघासहित आठ हजार मिटरका पाँच वटा अग्ला हिमाल रहेका छन्। यस्तै, नेपालकै अग्लो ह्यात्रुङ झरना पनि यही क्षेत्रमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.