|

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि गरेको क्षेप्यास्त्र तथा हवाई हमलालाई लिएर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मुख खोलेका छन्।

पछिल्लो समय यी दुई देशबीचको सम्बन्ध कटुतापूर्ण तरिकाले अघि बढिरहेका बेला पुटिनले अमेरिका तथा उसका सहयोगीले सिरियामाथि फेरि पनि आक्रमण भए विश्वको अवस्था भयावह हुने चेतावनी दिएका हुन्।

राष्ट्रपति पुटिनले अमेरिकाले सिरियामा अब पनि सैन्य आक्रमण गर्‍यो भने आफू चुप नबस्ने र कडा रुपमा प्रस्तुत हुने बताएका हुन्।

सिरियाको सहर डुमामा भएको भनिएको रासायनिक हमलाको प्रतिरोधमा भन्दै अमेरिकी नेतृत्वमा बेलायत र फ्रान्स मिलेर शनिबार क्षेप्यास्त्र हमला गरिएको थियो। उक्त हमला सिरियाका सेना तथा अन्य सरकारी अड्डाहरूमाथि गरिएको थियो।

रुसले हमला नगर्न पनि अमेरिकालाई पहिल्यै सचेत गराएको थियो र हमला लगत्तै पनि कडा प्रतिक्रिया दिएको थियो। तर सिरियामा भएको हमलापछि पुटिनले पहिलोपटक मुख खोलेका हुन् र अब अगाडि नबढ्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्म्पलाई चेतावनी दिएका हुन्।

रुसी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'भ्लादिमिर पुटिनले कडा शब्दमा भनेका छन् कि यदि संयुक्त राष्ट्रसंघको बडापत्रको उलंघन भयो भने र यही किसिमले हमला दोहोरिए निश्चित रुपमा अन्तर्राष्ट्रिय सम्बन्धहरूमा अराजकताको स्थिति पैदा हुनेछ।'

विज्ञप्तिमा पुटिन र इरानका राष्ट्रपति हसन रूहानीबीच फोनवार्ता भएको उल्लेख छ। दुई राष्ट्रपतिबीच भएको फोनमा सिरियामा अमेरिका लगायत देशले गरेको हमलाले त्यहाँ राजनीतिक रुपमा समस्याको समाधान खोज्ने विकल्पमा नोक्सान पुर्‍याएको भन्ने बुझाइ रहेको उल्लेख छ।

सम्बन्धित समाचार:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.