|

धनकुटा : जिल्लाको धनकुटा नगरपालिका-४ मालबाँसेमा वाग्ले सामुदायिक वन र चुरेघाटी सामुदायिक वनमा शनिबार साँझदेखि सुरु भएको डढेलो नियन्त्रणबाहिर रहेको छ। दुई सामुदायिक वनमा दुई दिनदेखि लागेको डढेलो अझै नियन्त्रणबाहिर रहेको हो।

डढेलोले भीषण रुप लिँदै जान थालेपछि वन आसपासका मालबाँसे, ठोका, सेउले र अमलाटारमा रहेका बस्ती जोखिममा परेका छन्। आगो निभाउनका लागि र बस्ती जोगाउनका वारुणयन्त्र र नेपाली सेना, नेपाल प्रहरी र स्थानीयसमेत खटिएका छन्।

चुरेघाटी सामुदायिक वनबाट लागेको आगो वाग्ले सामुदायिक वनसम्म फैलिएको हो। सामुदायिक वनमा लागेको डढेलो पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष राजेन्द्र खडकाले जानकारी दिए।

‘डढेलो पुर्‍याएको क्षतिको पूर्णविवरण पनि आइसकेको छैन।’ उनले भने, ‘वनको सयौँ हेक्टरमा रहेको सल्ला तथा अन्य प्रजातिका वनस्पति नष्ट भएका छन् र आसपासका बस्तीसमेत जोखिममा रहेका छन्।’

यस्तै, सुक्खायाम लागेसँगै धनकुटाका सामुदायिक वनमा आगो लाग्ने क्रम दैनिक बढ्दै गएको छ। गत वर्षभन्दा यस वर्ष हिउँदमा कम वर्षा भएका कारण डढेलो बढी लागेको जिल्ला वन कार्यालय प्रमुख कृष्ण वस्तीले बताए। ‘आगलागीविरुद्ध सचेतनामूलक सन्देश, प्रचारप्रसार भइरहेको छ,’ उनले भने, ‘तर पनि कमी आएको छैन।’

यसैबीच, जिल्ला वन कार्यालयले स्थानीय तहलाई अग्नि नियन्त्रणका लागि दिने भनेको उपकरण तथा विभिन्न सामग्री अझै दिइएको छैन। स्पष्ट नीति तथा कार्यक्रम नबनेका कारणले  त्यस्ता सामग्री वितरण गर्न नसकिएको प्रमुख वस्तीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.