|

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकनका लागि पर्यटक डुलाउने काम नेचर गाइड (पथ प्रदर्शक) ले गर्छन्। वन्यजन्तु मरेको, कुनै घटना भएको, वासस्थानमा समस्या भएको सबै कुरा पहिले जानकारी पाउने व्यक्ति नेचर गाइड नै हुन्। त्यसैले वन र वन्यजन्तुको संरक्षणमा उनीहरूको भूमिका महत्वपूर्ण हुन्छ। 

चितवन रत्ननगरकी महिला पर्यटक गाइड डोमा पौडेल नेचर गाइड संरक्षणको ‘दूत’ भएको बताउँछिन्। जंगलमा गस्ती गर्ने भूमिका समेत नेचर गाइडले निभाएको हुन्छ। ‘बिना बर्दीको निकुञ्जको आर्मी नेचर गाइड नै हो, पथप्रदर्शकहरू विश्व कै प्रतिनिधित्व गरेर पर्यटक डुलाउँछन्, त्यसैले संरक्षणमा उसको थप जिम्मेवारी हुन्छ’, पौडेल भन्छिन्। अहिले चितवनमा विभिन्न कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाइदैँछ।

सौराहामा भएको संरक्षण अन्तरक्रियामा सहभागीहरूले संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण भएको बताए। सो क्रममा पुराना नेचर गाइड तथा हालका चराविज्ञ टिका गिरी भन्छन्, ‘वन वन्यजन्तु जोगाउन पथ प्रदर्शकको भूमिका महत्वपूर्ण हुन्छ।’ 

संवेदनशील पेशा भएकाले त्यही अनुसार नेचर गाइडले भूमिका निर्वाह गर्नु पर्नेमा उनले जोड दिए। निकुञ्जका भित्री क्षेत्रमा फोहर भेटिन्छ। पर्यटकले खाएर फ्याँकीएको अवस्था पनि हुन्छ। यस्ता गतिविधि रोक्नका लागि पनि नेचर गाइडको भूमिका रहन्छ। गाइडले यस्ता धेरै कुरा नियन्त्रण गर्न सक्ने भन्दै गिरीले वन वन्यजन्तुको क्षेत्र स्वच्छ राख्ने भूमिका गाइडको रहेको बताए। फोहर प्लाष्टिक फाल्नाले गैंडाको स्वास्थ्यमा असर गर्न सक्छ। नदी प्रदुषणले गोही, माछालाई असर गर्न सक्छ भन्ने कुराहरू गाइडले सिकाउनुपर्ने हुन्छ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले चितवन निकुञ्ज अन्य संरक्षित क्षेत्र भन्दा फरक रहेकाले थप गम्भिरता अपनाउनुपर्नेमा जोड दिन्छन्। उनले प्रकृति संरक्षणमा गाइडको भूमिका उल्लेखनीय रहेको भन्दै पर्यटकलाई संरक्षणबाट चेतना फैलाउन गाइडमार्फत सजिलाे हुने पनि बताए।

नेचर गाइड नारायण रिजालले राम्रो जानकारी दिएर जंगल जाँदा पर्यटकले संरक्षणविरोधी गतिविधि गर्दै, गर्दैनन् भन्छन्। फोहर कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने नेपालीमा चेतना कम भएकाले समस्या आएको रिजालको तर्क छ। संरक्षणको सेतुको रुपमा गाइडले भूमिका खेल्ने पूर्व गाइड तथा वाघ संरक्षण उप समितिका संयोजक जीतु तामाङ बताउँछन्।

सो क्रममा निकुञ्ज र वन्यजन्तुको हालको अवस्था र संरक्षण कार्यबारे चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक र राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.