|

काठमाडौं : साउनबाट सुरु हुन लागेको गायन रियालिटी सो ‘दी भ्वाइस अफ नेपाल’मा फेसन ब्रान्‍ड ‘क्याप्सुल ९’ ले सहकार्यको सम्झौता गरेको छ। ‘दी भ्वाइस अफ नेपाल’ आयोजक संस्था एएनसी र क्याप्सुल ९ बीच सोमबार राजधानीमा पत्रकार सम्मेलनमाझ सहकार्यको सम्झौता भएको हो। क्याप्सुल ९ का तर्फबाट अध्यक्ष दीपकचन्द्र शर्मा र एएनसीका अध्यक्ष प्रह्‍लादसिंह महतले सम्झौतापत्र आदानप्रदान गरेका थिए।

सम्झौता कार्यक्रममा ‘दी भ्वाइस अफ नेपाल’ र क्याप्सुल ९ को लोगो अंकित टिसर्ट सार्वजनिक गरिएको थियो। क्याप्सुल ९ का प्रबन्ध निर्देशक विनोद ढकालले सम्झौतापछि ‘दी भ्वाइस अफ नेपाल’ अंकित हरेक टिसर्टमा क्याप्सुल ९ को पनि लोगो रहने बताए। ‘हाम्रो देशभर ७० वटा डिलर छन्। ती डिलरमार्फत दर्शकले सोको टिसर्ट खरिद गर्न सक्नुहुनेछ,’उनले भने,‘अन्तर्राष्ट्रिय रूपमा ख्यातीप्राप्त गायन रियालिटी सोको नेपाल फ्रेञ्चाइजीसँग सहकार्य गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो। अब हामी चाँडै नै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उत्पादनलाई पुर्‍याउने अभियानमा छौँ।’ आयोजकले सो भइरहेको स्थानमा एक स्टल उपलब्ध गराई टिसर्ट बिक्री पनि गर्नेछ।

‘दी भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले फेसनसँग नजिक रहेर काम गरिरहेको क्याप्सुल ९ सँग सोको सहकार्य गर्न पाउनु सुखद रहेको जनाए। ‘हामीले सो सूरु हुनु अघि नै राम्रा ब्रान्‍डसँग सहकार्य गर्न पाउनु गर्वको कुरा हो,’उनले भने,‘हाम्रो सोसँगै क्याप्सुल ९ को प्रवर्द्धनका लागि पनि सम्झौता र सहकार्य महत्वपूर्ण हुनेछ।’

नेदरल्यान्‍डको टाल्पा कम्पनीसँगको समन्वयमा एएनसीले ‘दी भोइस अफ नेपाल’ ल्याएको हो। विश्वभरिका १ सय ९२ मुलुकमा सफलतापूर्वक सम्पन्न भइसकेको यो रियालिटी सोको नेपाल फ्रेञ्चाइजीको तयारीमा आयोजक जुटिसकेका छन्।

नेपाल फ्रेञ्चाइजीको सो निर्णायकमा गायक दीप श्रेष्ठ, अभया सुब्बा, प्रमोद खरेल र सोनुप पौडेल रहेका छन्।

कान्तिपुर एचडी टेलिभिजनबाट प्रसारण हुने सोका लागि काठमाडौंको धुम्बाराही-४ प्रगतिमार्गमा स्टुडियोका लागि भवन (ट्रस) निर्माण भइरहेको छ। जेठबाट प्रसारण तयारी भइरहे पनि त्यो वेला विश्वकप फुटबल हुने भएकाले आयोजकले साउन महिनाबाट सोको प्रसारण सुरु गर्न लागेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.