|

२००६ चैत २७ गतेका दिन उस्तै उद्देश्य राखेर स्थापना भएका तर वीपी कोइराला र सुवर्णशमशेर राणाका नेतृत्वका नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरण भएर नेपाली कांग्रेसको जन्म भएको थियो। आज पनि ती दुई दलको एकीकृत स्वरूप नै नेपाली राजनीतिमा प्रजातन्त्रको पर्याय भएर रहेकै छ। 

कसैले अहिले पनि कांग्रेस प्रजापरिषद् हुने भयो भनेर पीरले वा खिसी गर्ने तरिकाले भन्ने गर्छन् तर उनीहरूले के बिर्सिएका छन् भने कारागारमा रहनुभएका प्रजापरिषद्का सर्वमान्य नेता टंकप्रसाद आचार्य नै नेपाली राष्ट्रिय कांग्रेसका पहिला आधिकारिक सभापति हुनुहुन्थ्यो र बाहिर रहनुभएका वीपीचाहिँ कार्यवाहक सभापति। त्यसले के देखाउँछ भने प्रजापरिषद्को ऐतिहासिका दायित्वको उत्तराधिकारीको रूपमा पछि बनेको नेपाली कांग्रेस नै थियो र त प्रजापरिषद्ले सुरु गरेको ‘मिसन’लाई आज पनि निरन्तरता दिएकै छ। 

नेपाली राजनीतिमा प्रजातन्त्रका पक्षमा सदैव अडिग रहेर संसदीय व्यवस्थाको पक्षमा वकालत गर्ने पनि नेपाली कांग्रेस भएको छ। अनि त्यही कांग्रेसले आफ्नो एकीकृत स्वरूपमा जागरुक भएर मुलुक र मुलुकवासीका लागि पुनर्जन्म लिएको दिन किन ट्विटरमा र फेसबुकमा सीमित भयो भन्ने जिज्ञासा स्वाभाविक हुन्छ आमजनमा र कांग्रेसका पक्षधर वा विपक्षीहरूका लागि पनि। 

कांग्रेस दोस्रो दलका रूपमा नेपाली राजनीतिमा देखिएको यो मात्र पहिलो पटक होइन, तर यस पटक भने सबैतिर यसको बढी नै चासो छ। कांग्रेस पहिलो राजनीतिक शक्ति हुनुपर्ने भन्ने तर्क दिनेलाई पनि यसले पोलेको छ एकातिर भने कांग्रेसको पत्ता साफ नै हुनुपर्ने भनेर रणनीति बनाउनेहरूका लागि अझै संभावित पहिलो शक्तिको रूपमा रह्यो भन्ने कुराले पनि पोलेको देखिन्छ। प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा सिट संख्यामा तेस्रो भएको कांग्रेस समानुपातिक सिटमा ह्वात्तै माथि आएर राष्ट्रिय राजनीतिमा दोस्रो शक्ति हुन पुगेको घटनाले कांग्रेसको जनमत औसतमा खासै नघटेको देखियो र पनि वाम गठबन्धनको आगामी रणनीतिबाट झनझन कमजोर हुनसक्ने आँकलनका कारण पक्षधर आत्तिएको र विपक्षी हौसिएको अवस्था अनुभूत गरिन्छ। 

भन्नेले त राजनीतिक विश्लेषकहरू कांग्रेसले इतिहासको ब्याज मात्र खाएर बसेको भनेकै छन् र उसको इतिहासलाई बंग्याउँदै नेपालमा भएका पंचायती आन्दोलन, राजाका विरुद्धमा हुने आन्दोलनको जसको भारी वामपन्थीहरूलाई बोकाउने नयाँ इतिहासविद्हरू पनि देखिएका छन्। तर प्रजापरिषद्को राजनीतिक उत्तराधिकार लिएदेखि नै आजसम्म अनवरत रूपमा संसदीय प्रजातन्त्रका पक्षमा सतीसालझैँ उभिएको संस्थाका बारेमा अनुसन्धान पनि भएकै छन् र अझ भावी दिनमा मूल्यांकन होला। 

जहानियाँ शासनका भरमा राज्य चलाउने राणा शासनका विरुद्धमा २००७ सालको सफल सशस्त्र जनक्रान्तिदेखि २०७४ सालको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनसम्ममा लिएको राजनीतिक कष्टकर यात्राको विवरण पनि इतिहासमा अंकित भएकै छ। संविधान नमानेर क्षेत्रीय आन्दोलन चलाउनेहरूलाई निर्वाचनमा ल्याउने र आफ्नो सिद्धान्तबमोजिमको सफल संसदीय निर्वाचन गराउँदा आफैँ पराजित हुँदा पनि सहजताका साथ असहज विपक्षीको भूमिकामा रहेको कांग्रेसका बारेमा अब त केही लेख्नै पर्ने भएको अवस्था देखिन्छ। एकातिर आफ्नो जन्मदिनसमेत थाहा नपाउनेको जमात केन्द्रीय समिति र सक्रिय कार्यकर्ताहरूको झुन्ड लिएर निस्क्रिय संगठन छ भने अर्कोतिर सार्वभौम र सर्वकालिक प्रजातन्त्रको मजबुत सिद्धान्तको अमृतरूपी लेपनमा पार्टी समाहित भएको छ।

नेपालको प्रजातान्त्रिक पक्षको राजनीतिमा नेपाली कांग्रेसको भूमिका कस्तो रहेको थियो र कस्तो हुनुपर्ने हो भन्नेबारेमा अहिले जताततै बहस सुरु भएको छ। नेपाली कांग्रेसको बैठक अझै त्यहीबारेमा अल्झिएको छ र नेता खुमबहादुर खड्काको निधनले रोकिएको बैठक जब सुरु हुनेछ, त्यसैमा केन्द्रित हुनेछ। 

ठीक व्यक्तिलाई ठीक ठाउँभन्दा पनि चाकडीबाज र अयोग्यलाई ती ठाउँमा प्रवेश गराउने नियतले मात्र संगठन गरिन्छ ने अवस्थामा खासै सुधार आउनेछैन।  जबसम्म कांग्रेस र अन्य भ्रातृ वा शुभेच्छुक संस्थाहरूमा शुद्धीकरणको अभियान सुरु हुँदैन, त्यसले दिने परिणाम भनेको एउटै हुन्छ– कांग्रेसको क्षयीकरण र बदनामी। कांग्रेसका नाममा भांग्रेसको जगजगी।

यस पटकको बैठकमा हुने छलफल अलि शल्यक्रियात्मक हुने लक्षण देखिएको छ। एकअर्कालाई दोषारोपण गर्दै सुरु भएको छलफल प्रक्रिया अब आएर सबै उत्तरदायी नेताहरू रक्षात्मक शैलीमा देखिनु एउटा नयाँ परिवेश हुनसक्छ। 

नेपाली कांग्रेसको बैठकमा पार्टीभित्रको संस्थापन पक्ष र विपक्ष भन्नेहरूका बीचमा व्यक्तिगत दोषारोपणसँगै भागबण्डाका उम्मेदवारहरूको भाग खोसेको कुराले जबर्जस्त प्रवेश पाएको देखिन्छ। पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूह भनेर निर्वाचनका बेलामा दिइएको उम्मेदवारीको विवरणसँगै बिक्री गरिएको बारेमा बहस सुरु हुनुलाई एकातिर पार्टी शुद्धीकरणको प्रस्थान विन्दु मान्न सकिन्छ भने अर्कोतिर पार्टीमा केकेसम्म भएछ भन्ने खुलासा भएको छ। 

नेपाली कांग्रेसले नेपालमा आजको संसदीय प्रणालीअन्तर्गतको प्रधानमन्त्रीय प्रणालीको सूत्रपात ग¥यो, अभ्यास गरायो र सैद्धान्तिक रूपमा कम्युनिस्टलाई समेत संसदीय व्यवस्थामा अन्तरघुलन गराउन सफल भयो। तर अहिले आफैँ यसरी खुम्चियो कि संसदमा एक चौथाई सांसदहरूको हस्ताक्षरबाट राखिने कुनै प्रस्ताव राख्न पनि नसक्ने अवस्थामा पुगेको यथार्थ लुकाउन सकिँदैन। कसका गल्तीले आजको अवस्था आएको हो भनेर एकअर्कालाई खुइल्याउन र दोषारोपणमा लागेका कांग्रेस नेताहरूले के बुझ्नुपर्छ भने प्रजातन्त्रको फल खान सबैले पाउँछन्, अभ्यास गर्न सबैले पाउँछन् तर जनतालाई हेपेको जनताले मनपराउँदैनन्।

कसरी प्रजातन्त्रका पक्षपातीबाहेक अरूलाई पनि प्रजातन्त्रको जिम्मा लगाउन सक्दारहेछन् भन्ने कुरा नेपाली जनताले देखाएका छन् एकातिर भने अर्कोतिर प्रजातन्त्रवादीबाहेक अरूले कसरी प्रजातन्त्रको रक्षा गर्नेछन् भन्ने पनि आगामी दिनको नयाँ परीक्षण हुनेछ। सबै साम्यवादीहरू र निर्विकल्प पंचायतवादी तथा निरंकुश राजावादीहरूलाई समेत प्रजातन्त्रवादी बनाउन सफल दलको राजनीतिक दलको राज्यसत्तामा खुम्चिएको भूमिका अब कस्तो रहला भन्ने जिज्ञासा पनि नेपाली समाजमा उत्तिकै छ। हिजो अराष्ट्रिय तत्त्व र प्रतिबन्धित अवस्थामा पनि दुबोझैँ मौलाएको प्रजातन्त्र पक्षधरहरूको आगामी रणनीति र सांगठनिक सक्रियता कस्तो होला भन्ने जिज्ञासा पनि नेपाली समाजमा उत्तिकै पाइन्छ। 

नेपाली कांग्रेसको आजको यो स्खलित अवस्थासम्म आउनुमा, ल्याउनुमा नेतृत्व वर्ग सबैको उत्तिकै हात देखिन्छ। स्थानीय निर्वाचनमा नै के अनुमान गरिएको थियो भने कांग्रेसको अवस्था नाजुक हुनेछ जनप्रतिनिधित्वमा। राजनीतिक पर्यवेक्षकहरूको अनुमानभन्दा स्थिति राम्रो थियो, स्थानीय तहसम्म। कांग्रेसीहरूले भन्दा आम प्रजातन्त्रवादी जनताले त्यस्तो नाजुक अवस्था हुन दिएनन्। सरकार र दलको क्रियाकलाप जनमुखी नभएको कुरा जगजाहेर थियो। प्रजातन्त्र प्रबद्र्धनभन्दा व्यक्तिगत स्वार्थमुखी देखिएको थियो कांग्रेस। त्यसमा पार्टी सभापतिको चौथो पटक पनि प्रधानमन्त्री हुनै पर्ने  पदमोह र सरकारको जनताप्रतिभन्दा माओवादीप्रतिको मोहले अन्ततः आजको अवस्था सृजना गरेको कुरा भरतपुरको नगर प्रमुखमा कांग्रेसको जित्ने संभावनाका उम्मेदवारलाई मनोनयन फिर्ता गर्न लगाएर माओवादी रेणु दाहाललाई समर्थन गर्नुले देखाएको थियो।

नेपाली कांग्रेस आफैँमा किन खुम्चनु पर्थ्यो र? किन अरूको भर पर्नुपर्थ्यो र? आखिर हार्नु थियो, पद गुम्नु थियो भने आफ्ना मतदाताको मतलाई सुरक्षित गर्दै जानुपर्थ्यो। राजनीतिक पदको मदमा कसैले कसैको कुरा सुन्न मानेन। आफूलाई संस्थापनका विरोधी मान्नेहरूलाई पनि वडा अध्यक्ष र नगर प्रमुख वा उपप्रमुखमा आफ्ना मान्छे घुसाउनु नै बहादुरी सम्झने काम भयो। भविष्यका बारेमा यति निश्चिन्त देखिए कि नेपली जनता भनेका कांग्रेसले जेजे गरे पनि कांग्रेसलाई नै मत दिन बाध्य छन् जस्तो ठानियो। 

अब पनि कांग्रेसलाई लागेको रोगको निराकरण र निदानका बारेमा भ्रममा परेर अरूलाई नै दोष देखाउन थालियो भने उपचार संभव छैन। हार्नुले भोलिका लागि नयाँ उपाय र उपचारका पनि खोजी हुन्छ। कुनै बेलाको असफलता र अक्षमताले अर्को पटकलाई नयाँ बाटो कोरेको पनि त देखिएको छ। स्वस्थ आलोचना, समालोचना गरेर आगामी दिनमा प्रजातान्त्रिक आचरण गर्ने अभ्यास सुरु गरेमा कांग्रेसप्रतिको धारणामा जनतामा परिवर्तन नआउला भन्ने छैन। तर नेपाली जनता अन्योलमा कसरी परे भने कांग्रेसले जब आफ्नो दलमा पनि प्रजातान्त्रिक अभ्यास गर्दैन र उम्मेदवारलाई प्रजातन्त्रप्रतिको आस्थाभन्दा बढी अरू नै कुरामा अडिएर र राम्रोसँग गुण दोष नचिनीकनै उठाउँछ भने र त्यस्ता उम्मेदवारलाई उठाउन पैसाको लेनदेन हुन्छ भन्ने कुरा आउँछ भने त्यसको उपचार कसरी गर्ने भन्ने कुरा समस्याजनक नै छ।

पद, लोभ, मोह र परिवारभन्दा माथि उठेर जवाफदेही लिएका नेताहरूले नै बाटो प्रशस्त गरेर सामूहिक नीति बनाउन सके भने र नेपाली जनतालाई प्रजातान्त्रिक अभ्यासमा अभ्यस्त बनाउन नयाँ भूमिकामा देखिए भने पक्कै गुमेको शाख फिर्ता हुनसक्छ। 

सबै भ्रातृसंस्था, शुभेच्छुक संस्थाहरूलाई सांगठनिक व्यवस्थापनको आधारमा बलियो बनाउने भन्दा जसरी पनि पद कब्जा मात्र गर्ने नियत लिँदा एकातिर ती संस्थाहरू निस्क्रिय भएका छन् भने अर्कोतिर पद र प्रतिष्ठासँग हुने आर्थिक चलखेलले संस्थाहरूलाई मागी खाने भाँडोको रूपमा परिणत गरेका देखिन्छ। ठीक व्यक्तिलाई ठीक ठाउँभन्दा पनि चाकडीबाज र अयोग्यलाई ती ठाउँमा प्रवेश गराउने नियतले मात्र संगठन गरिन्छ ने अवस्थामा खासै सुधार आउनेछैन। 
जबसम्म कांग्रेस र अन्य भ्रातृ वा शुभेच्छुक संस्थाहरूमा शुद्धीकरणको अभियान सुरु हुँदैन, त्यसले दिने परिणाम भनेको एउटै हुन्छ– कांग्रेसको क्षयीकरण र बदनामी। कांग्रेसका नाममा भांग्रेसको जगजगी।

मुलुक संघीयतामा गएको छ। कांग्रेसलाई सक्रिय गराउनका लागि पनि शुद्धीकरणको अभियान आवश्यक छ। जबसम्म पार्टीका नेताहरूको बाहिरी चित्र सुधार गर्न सकिँदैन, तबसम्म कांग्रेस भनेको बदमासहरूको दल हो, भ्रष्टाचारीहरूको दल हो र अनुशासनहीनहरूको दल हो भन्ने धारणा नेपाली जनतामा रहिरहनेछ। त्यस्तै, छवि बनाइएको छ। उम्मेदवारलाई पद बेचेको र गलत व्यक्तिहरू दलमा प्रभावी भएका कुरा सत्य नै साबित भएका छन् भने किन त्यस्तालाई कारवाही नगर्ने? किन त्यस्तालाई ननंग्याउने? किन त्यस्ता व्यक्तिलाई समाजसामु नदेखाउने? 

नेपाली कांग्रेस एउटा दल मात्र नभएर नेपाली जनताको भाग्य प्रजातन्त्रमा मात्र संभव छ भन्ने दूरदर्शी र पथप्रदर्शक दल हो, विगतमा। त्यस्ता इतिहासलाई नै प्रभाव पार्ने नेताहरूको नेतृत्वले ओतप्रोत भएको दल हो। अहिले पनि कांग्रेससँगको अपेक्षा भनेको प्रजातन्त्रका विरुद्धमा कहिल्यै पनि नलाग्ने र प्रजातन्त्रका विपक्षमा कसैसँग पनि सम्झौता नगर्ने दलको रूपमा चित्रित छँदै छ, विगतका नेताहरूका कारण। अहिले पनि संविधान ल्याउन र संविधान कार्यान्वयन गर्नका लागि तीन तहको निर्वाचन गर्न सक्ने दलको रूपमा त छँदै छ। 

र अन्त्यमा, 
कांग्रेस प्रजातन्त्रको पर्याय हो, प्रजातान्त्रिक संघर्षको परिणाम हो। प्रजातन्त्रका पक्षमा अनवरत लागिरहन पनि सक्षम कांग्रेसको आवश्यकता छ। व्यक्ति गौण हुन जान्छ– सिद्धान्त र मुलुकको सुन्दर भविष्यका लागि। नेपाली कांग्रेसले गर्नुपर्ने धेरै कुराहरूमध्ये प्रजातन्त्रका पक्षमा शुद्धीकरण र सजग भएर नेपाली जनतालाई सचेत बनाउने हो। अहिले त आफ्नो खाकामा अडिएको प्रजातान्त्रिक ढाँचाको राज्य व्यवस्थामा कतै राज्य संचालनमा भूमिका नै छैन, संविधानअनुरूप। जेजे हुन्छ, विरोध मात्र गर्न सक्ने अवस्था छ, विज्ञप्तिको भरमा। भूमिकाको स्थान सुरक्षित जरुरी छ– सामाजिक अभियानबाट र देशको नयाँ स्वरूपको कल्पनाको नयाँ सपनाको आधारबाट। कांग्रेस सुध्रिएको आभास जनतालाई दिन सक्नुपर्छ र सुध्रिएको कांग्रेसमा सांगठनिक सुदृढीकरणको सँगसँगै आन्तरिक प्रजातन्त्रको अभ्यास जनताले देखिने गरी हुनु जरुरी छ। 

प्रत्येक कालो बादलमा चाँदीको घेरा हुन्छहुन्छ। प्रत्येक निराशाजनक परिणामपछि आशाको भरमा नै फेरिफेरि सुुखद परिणाम दोहोरिने गर्छ। प्रजातन्त्र मात्र आजको विश्वमा सबैभन्दा बढी जनताको मनोभावना समेट्ने राज्य व्यवस्था हो भने त्यसको रक्षा मात्रले पनि कांग्रेसको कर्तव्यलाई नेपाली समाजमा स्थापित गरिरहनेछ– विगतमा झैँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.