|
फाइल फोटो

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार राती उत्तरी छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा जाँदै छन्। मन्त्री ज्ञवाली चिनिया विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा चीनको औपचारिक भ्रमणमा जान लागेका हुन्। 

मन्त्री ज्ञवालीले चीन भ्रमणको क्रममा ऊर्जालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्। ‘ऊर्जा पहिलो प्राथमिकताको विषय हो', उनले भने, ‘कुन मोडालिटीमा लैजाने भन्ने विषयमा छलफल गर्नेछौँ।’

उनले चीनका उच्च नेतृत्वसँगको भेटका क्रममा नेपालमा संचालन गर्न लागिएका ठूला परियोजनाका विषयमा छलफल गर्नेसमेत बताए। उनले १६/१७ वटा परियोजना छनोट गरिसकेको जानकारी दिँदै सहमतिका लागि ठोस निष्कर्ष निकालिने जानकारी पनि दिए।

बुढीगण्डकी जलविद्युत आयोजनाको विषयमा भने चिनियाँ पक्षसँग छलफल नहुने भएकाे छ। पूर्ववर्ती सरकारले गरेका कतिपय निर्णय अध्ययनका क्रममा रहेकाले यस विषयमा कुराकानी नहुने उनले स्पष्ट पारे।

तर उनले तातोपानी नाका खोल्नका लागि चिनियाँ नेतृत्वसँग पहल गरिने आश्वासन दिए। ‘अरनिको राजमार्ग चीनसँगको मैत्रीपूर्ण सम्बन्धको प्रतीक हो’, उनले भने, ‘हजारौँ व्यापारी यसबाट मर्कामा परेका छन्, तातोपानी नाका छिट्टै खुल्छ।’

यस्तो छ भ्रमणको कार्यक्रम

भ्रमणको क्रममा मन्त्री ज्ञावलीले समकक्षी वाङ यीसँग औपचारिक द्विपक्षीय भेटघाट गर्नुका साथै दुवैले संयुक्त रूपमा संचार माध्यमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उनले बेइजिङमा चाइनिज थिंक ट्यांकको राउण्डटेबल बैठकलाई सम्बोधन पनि गर्नेछन्। 

मन्त्री ज्ञवालीले सिचुआन प्रान्तको छेन्दु शहरमा पुगेर उच्च नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ। उनले सिचुआन विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन पनि गर्नेछन्। 

उनका साथमा राजदूत, परराष्ट्रका अधिकारी र राजदूतावासका अधिकारीसहितको टोली चीन भ्रमणमा जान लागेको हो। उनी आउँदो शनिबार स्वदेश फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.