|

रुकुम : जन्म दर्ता प्रमाणपत्र केका लागि मागिन्छ? नागरिकता बनाउँदा, जन्ममिति प्रमाणित गर्दा वा बालबालिकाहरूको विद्यालयमा भर्ना गर्दा अथवा यस्तैयस्तै कामका लागि। तर रुकुम पश्चिमका जोतिषीहरूले भने विवाहका लागि केटा–केटीको नाम जुराउँदासमेत जन्मदर्ता प्रमाणपत्र माग्न थालेका छन्। यो कुरा सुन्दा अचम्म माने पनि बालविवाह रोकथाम गर्न जोतिषीहरूले नै यस्तो उपाय अपनाएका हुन्। 

अहिले रुकुम पश्चिम चौरजहारी नगरपालिकामा विवाहका लागि जोतिषी हेराउँदा अनिवार्य जन्मदार्ता प्रमाणपत्र पनि लिनुपर्ने नियम बनाइएको छ। बालविवाह अन्त्य गर्नलाई विवाहको दिन हेर्दा स्थानीय ज्योतिषीहरूले दुवै पक्षको जन्मदर्ता माग्न थालेका हुन्। 

जोतिषीहरूले नै जन्मदर्ता माग्न थालेपछि बालविवाह गर्नेको संख्यामा कमी आउन थालेको छ। केटा–केटीको राशि र वर्ग मिले पनि जन्मदर्ताअनुसार २० वर्ष उमेर पूरा नभएको देखिएमा हेर्न नमिल्ने भन्दै फिर्ता पठाउने गरेका छन्। ‘यही फागुन महिनादेखि बिहेको नाम हेराउन आउने केटा–केटी दुवैको नागरिकता वा जन्मदर्ता माग्न थालेको छु’, चौरजहारी नगरपालिका– १२ का जोतिषी विनोद शर्माले भने, ‘मैले यो नियम सुरु गरेदेखि बिहेका लागि नाम जुराउन आएका केही बालविवाह पर्न गएका कारण एक दुई वर्ष जुरेको छैन र तत्काल बिहे गर्नु हँदैन भनेर फकाईदिएको छु।’ 

उनका अनुसार स्थानीय तहमार्फत् जिल्लाका सबै ठाउँमा यसरी नै जोतिषीहरूलाई अभिमुखीकरणमार्फत सहकार्य गर्ने हो भने सरकारले नै थालेको बालविवाह न्यूनीकरण गर्ने अभियान धेरै हदसम्म पूरा हुने बताउँछन्। 

उनी मात्र होइन, त्यस क्षेत्रका सबै जोतिषीहरूले यसैगरी विवाहका लागि आउने केटा–केटीको उमेर हेरेर मात्र जुरेको वा नजुरेको भनेर बताउने गरेका छन्। गाउँका जोतिषीहरूले नागरिकता वा जन्मदर्तामार्फत उमेर हेरेर उमेर पुगेपछि मात्र विवाहको जुर हेर्न थालेपछि बालविवाह गर्नेहरू हेराउन आउनेमा समेत कमी भएको ज्योतिषीहरू बताउँछन्। जोतिषीहरूले नै उमेर पुगेपछि मात्र विवाहका लागि नाम हेर्न थालेपछि बालविवाह रोक्न निकै सहयोग पुगेको स्थानीय जगवीर केसीको भनाइ छ। ‘जति पढेलेखे पनि हिन्दु धार्मिक संस्कारअनुसार नै जसले पनि जोतिषी हेरेर, घरायसी परम्परागत वा मन्दिरमा नै विवाह गरे पनि जोतिषी अनि बाहुनहरूले नै गर्ने हुन्’, उनले भने, ‘अधिकांस बालविवाह हुने गाउँघरमा जोतिषीहरूको यस्तो कदम निकै महत्त्वपूर्ण छ, यसलाई निरन्तरता दिएर विस्तार गर्नु आवश्यक छ।’ 

के गर्दै छ बालविवाह रोक्न नगरपालिका? 

चौरजहारी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक राधा रोका बालविवाह अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम संचालन, बालविवाह गर्न लागेको जानकारी आएमा सम्झाईबुझाई विवाह रोक्ने र उमेर नपुगेको विवाह दर्ता नगर्नेलगायतको कार्यक्रम गरिरहेको बताउँछिन्। ‘म जनप्रतिनिधि भएर आइसकेपछि एउटा बालविवाहाको निवेदन आएको थियो र उक्त विवाह सम्झाईबुझाई रोक्यौँ। अब दुवै पक्ष २० वर्ष पुगेपछि मात्रै विवाह दर्ता हुन्छ’, उनले भनिन्, ‘चौरजहारी क्षेत्रमा जोतिषीहरूले बालविवाह रोक्न गरेको रचनात्मक काम पनि महत्त्वपूर्ण छ भने बालविवाह अन्त्य गर्न नगरपालिकाले पनि कुनै कसर बाँकी राख्दैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.