|

काठमाडौं : नेपाली सेनामा पहिलो पटक महिला सैनिक अधिकृतले कमाण्ड तथा स्टाफ कलेजको तालिम गर्ने अवसर पाएकी छन्। 

शिवपुरीमा नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सोमबार सुरु भएको सि.सं. २५ कमाण्ड तथा स्टाफ तालिममा नेपाली सेनाकी अधिकृत सुलोचना पौडेलसहित ४९ सैनिक अधिकृतको सहभागिता छ। 

तालिममा बंगलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, बेलायत र अमेरिकासहित नौ मुलुकका १० विदेशी सैनिकको सहभागिता रहेको छ। 

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जनासहित उक्त कोर्समा ६२ प्रशिक्षार्थीको सहभागिता छ। सेनानी सुलोचना एक्ली महिला प्रशिक्षार्थी हुन्। सन् १९९२ मा स्थापना भएको उक्त कलेजबाट हालसम्म ६३ विदेशीसहित ९२२ जनाले उक्त अध्ययन पूरा गरिसकेको मुख्य प्रशिक्षक महासेनानी गणेशकुमार श्रेष्ठले जानकारी दिए। 

आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सन् २०११ देखि विदेशी सैनिकलाई तालिम खुला गरिएकोमा पछिल्लो समय उक्त कलेज विदेशी सैनिकको पहिलो रोजाइमा परेको छ। सैनिक रणनीतिका अतिरिक्त नेतृत्व विकास, सैनिक कूटनीति, विपद् व्यवस्थापन, शान्तिसेना परिचालन र मानवअधिकारको पालना जस्ता विषयमा अनुभवी र विज्ञबाट व्यावहारिक र सैद्धान्तिक शिक्षण एवं तालिम प्रदान गर्दै आएको उक्त कलेजका कमाण्डेन्ट उपरथी प्रह्लाद थापाले जानकारी दिए। 

उक्त कोर्स शुभारम्भ गर्दै बलाध्यक्षरथी हेमन्तराज कुँवरले विश्वव्यापी सुरक्षा अवस्था, सुरक्षा चुनौती, नेतृत्व विकास र अनुसन्धानका विषयमा ज्ञान बढाउन कमाण्ड एण्ड स्टाफ कोर्स निकै फलदायी हुने विश्वास व्यक्त गरे। 

चार हजार महिला सैनिक

नेपाली सेनामा हाल चार हजार ६२ जना महिला रहेको सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए। त्यस्तै, महिला सैनिक अधिकृतको संख्या ३७१ छ। 

पदोन्नतिका लागि काेर्स अनिवार्य 

सहायक सेनानीमा २०६१ सालमा भर्ना भई हाल कल्याणकारी निर्देशनालयमा कार्यरत सेनानी सुलोचना पौडेल सेनाको उक्त प्रतिष्ठित कोर्स गर्न पाउने पहिलो महिला बनेकी हुन्।

पच्चीसाैँ कमाण्ड एण्ड स्टाफ कोर्सका लागि यस वर्ष सात महिलासहित ३०० सैनिक अधिकृतले प्रतिस्पर्धा गरेकामा ४९ जना छनोट भएका थिए। १० वर्ष सैनिक सेवा पूरा गरी ३६ वर्ष उमेर ननाघेका सैनिक अधिकृतले उक्त कोर्सका लागि तीन पटक प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ।

त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्रतर्फ स्नातकोत्तर तहको पाठ्यक्रम समावेश रहेको उक्त कोर्स सैनिक संगठनमा माथिल्लो तहमा पदोन्नतिका लागि अनिवार्य मानिन्छ। सहसेनानी र सेनानीले उक्त कोर्सका लागि प्रतिस्पर्धा गर्न पाउने सैनिक ऐनमा व्यवस्था छ। उक्त कोर्स गर्नेमा सेनानी सुलाचनाका पति सेनानी परिचित देउजा पनि रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.