|

सिन्धुली : झण्डै ३५ हजार भूकम्पपीडित रहेको सिन्धुली जिल्लाका दुई हजार ३०० जना लाभग्राहीले मात्रै तेस्रो किस्ताको रकम लिएका छन्। सोमबार सिन्धुलीगढीमा आयोजित एक कार्यक्रममा आवास पुन:स्थापना तथा पुनर्निर्माण समन्वय मंच नेपालले उक्त कुराको जानकारी दिएको हो। 

मंचका अनुसार सिन्धुलीमा ३४ हजार ९८८ जना लाभग्राहीमध्ये ३३ हजार ९८ जनाले पहिलो किस्ताको अनुदान सम्झौता गरेका थिए। सम्झौता गरेकामध्ये ३३ हजार ९१ जनाले पहिलो किस्ता लिएका छन्। १६ हजार ६०८ जना लाभग्राहीले दोस्रो किस्ता लिइसकेका छन् भने दुई हजार ३४९ जना लाभग्राहीले मात्रै तेस्रो किस्ता बुझेका हुन्। 

राजमार्गको यकिन सीमांकन नहुनु, काठको अभाव, पानीको अभाव, फितलो अनुगमनलगायतका कारण पुनर्निर्माण कार्यमा समस्या आएको मंचले जनाएको छ। सरकारबाट आएको नक्साप्रति भूकम्प प्रभावितहरूले असन्तुष्टि व्यक्त गर्दा पनि पुनर्निर्माणमा ढिलाइ भएको हो। निर्माण सामग्रीको मूल्य वृद्धि हुनु, एेलानी जग्गामा बसोवास गर्दै आएका भूकम्प प्रभावितले दुई लाख रुपैयाँ क्षतिपूर्ति लिएर एेलानी जग्गा छाड्न नमान्दा पनि समस्या भएको हाे।

मंचले सात र ५० दिने तालिम दिएर करिव चार हजार दक्ष जनशक्ति उत्पादन गरेको थियो। तालिमपछि कामदारहरूमा बलियो घर निर्माणको जनचेतनाको विकास भएको र प्राविधिक सेवाको गुणस्तरीयतामा पनि वृद्धि भएको मंचले जनाएको छ। 

उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय, जिल्ला आयोजना कार्यान्वयन इकाई, आवास पुन:स्थापना तथा पुनर्निर्माण समन्वय मंच नेपाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सिन्धुलीको सचिवालय, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सिन्धुली, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुली, स्वीस कन्ट्याक्ट रिलिफ नेपाललगायतले प्रगति विवरण पेस गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.