|

हेटौँडा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लम्पसारवादी नेताको संज्ञा दिएका छन्। नेपाल तरुण दलले हेटौँडामा गरेको ३ नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले ओली राष्ट्रवादी नेता हुनै नसक्ने बताएका हुन्। सभापति देउवाले हिमाल, पहाड र मधेसलाई मिलाउन नसक्ने नेता राष्ट्रवादी हुनै नसक्ने बताएका हुन्।

सभापति देउवाले ओलीको देखावटी राष्ट्रवाद भारत पुगेर लम्पसारवादमा परिणत भएको आरोप पनि लगाए। ओली नेतृत्वको सरकार देशमा आर्थिक समृद्धि र विकासतर्फ भन्दा पनि अधिनायकवादको विकास गर्न उद्दत भएको उनको आरोप थियो। सभापति देउवाले देशको निकासका लागि तीन तहको निर्वाचन आवश्यक रहेकाले नेपाली कांग्रेसले त्यसलाई प्राथमिकतामा राखेको भन्दै देशले निकास पाएमा आफूलाई खुसी लागेको बताए। दुई कम्प्युनिस्ट पार्टीहरू गठबन्धन बनाएर निर्वाचनमा गएकाले कांग्रेसले प्राविधिक रूपमा हारे पनि जनमतमा नहारेको देउवाको भनाइ थियो।

निर्वाचनमा अन्तर्घात भएकाले नेपाली कांग्रेसले हारेको बताउँदै देउवाले अन्तर्घातीको पहिचान गरी कारवाही गरिने बताए। उनले कांग्रेसलाई देशको पहिलो पार्टी बनाएर मात्रै विश्राम लिने पनि बताए। नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत, बालकृष्ण खाँड, डा. प्रकाशशरण महत, महेन्द्र यादव, सुरेन्द्र पाण्डे, उदयशमशेर राणा, लक्ष्मी परियार, प्रदेश ३ कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँलगायतले मन्तव्य व्यक्त गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.