कृषि, शिक्षा तथा स्वास्थ्यमा विशेष जोड दिन माग

|

जनकपुरधाम : प्रदेश २ सरकारको आर्थिक वर्ष २०७४/०७५ सालको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। सोमबार दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश २ को सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि पेस गरिएको विधेयक नेपाली कांग्रेसबाहेक अन्य सबै दलका सांसदहरूको समर्थनमा बहुमतले पारित गरेको हो।

सत्तारुढ संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त सरकारले प्रदेशसभा बैठकमा पेस गरेको २४ पृष्ठ लामो ६० बुँदामा समेटिएको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल वाम गठबन्धन घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समेत समर्थन गर्दै बहुमत संसद सदस्यले समर्थन जनाउँदै पारित गरेको हो। संसदको बैठकमा सांसदहरूले बहुमत जनाएपछि सभामुख सरोजकुमार यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए।

सरकारको चौमासिक नीति तथा कार्यक्रममा छलफल गर्दै नेपाली कांग्रेसका सांसद रामसरोज यादवले राजर्षि जनक विश्वविद्यालय नेपाल सरकारद्वारा पारित भइसके पनि प्रदेश २ को सरकारले त्यसलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले जनकपुर–ढल्केवर सडकमा खण्ड औद्योगिक क्षेत्रको करिडोरको रूपमा विकास गर्नुपर्नेमा जोड दिए। 

नेकपा एमालेका सांसद शत्रुघ्न महतोले नेपाल पानीको दृष्टिकोणबाट धनी भए पनि तराई-मधेशको चुरे क्षेत्रमा प्रत्येक वर्ष पानीको हाहाकार हुने गरेको बताउँदै भने, ‘इनार छ, पानी छ तर विद्युतको सुविधा नहुँदा पानी खान नपाएर जनता प्याकप्याकी हुन्छन्। कहिले वर्षायाममा पानीले घरका घर बगाएर मानिसको विजोग हुन्छ।’

छलफलमा बोल्दै सांसदहरूले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै सांसद वीरेन्द्रप्रसाद सिंहले दैवी प्रकोपबाट क्षति भएका बालीनालीको क्षतिअनुसारको राहतको प्याकेज हालसम्म पनि पाउन नसकेको गुनासो गर्दै भने, ‘अब प्रदेश सरकारले तत्काल लागत संकलन गरी राहतलाई प्याकेजको रूपमा उपलब्ध गराउनुपर्छ, अन्यथा किसान झुन्डिएर मरेको समाचार नेपालमा पनि कुनै दिन नआउला भन्न सकिन्न।’

छलफलको क्रममा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद ज्वालाकुमारी साहले सरकारको नीति तथा कार्यक्रममा १२ वर्षे जनयुद्धलाई सशस्त्र जनयुद्ध भनेकोमा आपत्ति जनाइन्। 

‘मधेस आन्दोलनका शहीदलाई सम्मान गर्ने तर जनयुद्धका क्रममा तराई-मधेसबाट मात्र १३ सय बलिदानी दिएका शहीदको रगतबाट आएको परिवर्तनलाई प्राथमिकतामा नराखिनु जायज होइन। मधेस विद्रोह, मधेस आन्दोलनलगायतका सम्पूर्ण परिवर्तनमा शहादत दिएका शहीदलाई समेत सम्मान प्रकट गर्दा सरकारको केही लाग्दैन, त्यसैले सबैलाई समाहित गरेर लगौँ’, उनले अगाडि भनिन्, ‘तराई-मधेसकf प्रत्येक जिल्लामा बेसहारा भएका वृद्धवृद्धाहरूका लागि आश्रम तथा शिशु स्याहार केन्द्रको विषयलाई प्राथमिकताका साथ राख्न सरकारलाई आग्रह गर्छु।’

यसैगरी नेपाल कांग्रेसकी सांसद सरस्वती चौधरीले सरकारले विशेषगरी छात्राहरूका लागि उच्च शिक्षा (प्लस टु) सम्मको शिक्षालाई निःशुल्क तथा अनिवार्य गुर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘महिलाहरू दिन प्रतिदिन असुरक्षित हुँदै छन् त्यसैले प्रदेशस्तरीय छात्रा होस्टेलको व्यवस्था सरकारले गर्नुपर्छ, जसमा पढ्नेदेखि लिएर बस्नेसम्मको सुविधा होस्।’ 

यसैबीच सांसद मञ्जु यादवले ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत छोरीहरूको शिक्षा बीमाको नीति ल्याउने र लिंग पहिचान गरी भ्रुणमै छोरी हत्या गर्नेलाई कडा कानुनी कारवाही गर्न कानुन बनाउने प्रदेश सरकारले नीति लिनुपर्नेमा जोड दिइन्। 

यस्तै, नेकपा एमालेका सांसद किशोरी साह कमलले विश्वका हिन्दूहरूको पहिचानको रूपमा रहेको जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न तथा जनकपुर उपमहानगरपालिकालाई महानगरपालिका घोषणा गर्न/गराउन जोड दिए। उनले भने, ‘जनकपुरलाई पर्यटनको दृष्टिकोणबाट सोचेर रिङरोड, मिथिला हेरिटेज तथा संरक्षित धनुषाधाम वनको अवलोकन भ्रमणको उद्देश्यलाई हेर्दै मोडल तयार गरी प्रदेश सरकार अघि बढ्नुपर्छ।’ 

राष्ट्रिय जनता पार्टी नेपालका सांसद सुरिता साहले नेपाल टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्र महोत्तरीको जलेश्वरमा भए पनि त्यसको संरक्षण तथा संवर्द्धनको अभावमा जीर्ण भएको तथा प्रसारण हुँदै आएका कार्यक्रमहरू समेत बन्द भएकाले तत्काल सुचारु गराउनुपर्नेमा जोड दिइन्। पूर्व संचार राज्यमन्त्रीसमेत रहेकी साहले भनिन्, ‘केन्द्र सरकारले श्रमजीवी तथा कलमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरे पनि कार्यान्वयन गराउन सकेन, त्यसैले अब प्रदेश सरकारले त्यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ।’   

गत चैत २८ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पेस गरेका थिए। प्रदेशसभाको अर्को बैठक मंगलबार दिउँसो ३ बजे बोलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.