|

सिन्धुली : धरान–चतरादेखि हेटौँडासम्मको सडक निर्माणका क्रममा  सिन्धुलीमा झण्डै पाँच किलोमिटर सडकको ट्रयाक खन्ने विषयमा विवाद हुँदै आएको छ। राजमार्ग निर्माणका लागि शान्तिनगर चोकदेखि खट्टारसम्मको सडकखण्डको ट्रयाक अझै यकिन हुन सकेको छैन। 

नक्साङ्कन गरिएको स्थानबाट सडक विस्तार गर्दा धुराबजा, मिलनचोक, साङबाले, खट्टारका दर्जनौँ भौतिक संरचना हटाउनुपर्ने, धेरै सर्वसाधार विस्थापित हुने भन्दै स्थानीयले विरोध जनाएपछि नक्साङ्कन गरिएको स्थानबाट नभई अन्यत्रबाटै विकल्प खोज्नुपर्ने उनीहरुको माग रहेको छ। 

यस विषयमा राजनीतिक दल, आयोजना प्रमुख, स्थानीयवासी तथा प्रशासनबीच बारम्बर बैठक बसे पनि उपयुक्त निकास निस्केको थिएन। तर हाल आएर राजनीतिक दल, संघ तथा प्रदेशका सांसद, प्रशासन तथा स्थानीय सरकारले नक्साङ्कन गरिएको स्थानभन्दा उत्तरबाट उपयुक्त स्थान छनोट गरी राजमार्ग निर्माणमा सहयोग गर्नेमा ऐक्यबद्धता जनाएका छन्। 

राजमार्गलाई सिन्धुलीमाडीको पुरानो बजार धुराबजारबाट हटाउँदा सिन्धुलीमाडीको अस्तित्व नै कुरुपजस्तै हुने भन्दै विरोध व्यापक भएपछि राजमार्गको ट्रयाक परिवर्तन गर्न लामो समयपछि यस्तो ऐक्यबद्धता सम्बन्धित निकायले जनाएका हुन्। 

करोडौँ मूल्यका भौतक पूर्वाधार तथा सिन्धुलीका पुरानो पहिचानलाई जोगाउन भन्दै धरान–चतरा—हेटौँडा राजमार्गको ट्रयाक नक्साङ्कन गरिएको ठाउँबाट नभई साविक हाज्माको २ नम्बर गेट हुँदै कुमाल फाँट भई खट्टार जोड्ने सहमति भएको छ। 

धेरै दबाब र विवादपछि राजमार्गको ट्रयाक परिवर्तन गर्ने भनिएको स्थानमा पनि अहिले फेरि स्थानीयले विरोध गरेका छन्। नक्साङ्कन भएको स्थानबाट नै राजमार्ग जानुपर्ने वा अन्य स्थानबाट विकल्प खोजिनु पर्ने उनीहरुको माग रहेको छ। यदि त्यसो नभई आफूहरुको जग्गाबाट राजमार्ग लैजान खोजे चलनचल्तीको मूल्यका आधारमा मुआब्जा पाउनु पर्नेमा उनीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन्। 

सोही निर्णयलाई पुनःविचार गर्न सोमबार बिपीनगर आदर्श टोल विकास समितिले गरेको एक छलफल कार्यक्रममा सिन्धुली निर्वाचन क्षेत्र २ बाट निर्वाचित संघीय सांसद हरिबोल गजुरेल र क्षेत्र २ क बाट निर्वाचित प्रदेश सांसद विनोदकुमार खड्कालाई आग्रह गरेका छन्। 

स्थानीयवासीले सो क्षेत्रमा हाल भूकम्पपीडितले सात धुर, १० धुर र एक कट्ठा जग्गा किनेर घर बनाएको र आफूहरुलाई सुकुम्वासी नबनाउन आग्रह गरेका छन्। थोरै जग्गाबाट आफूहरुले गाँस, बास तथा जीवन निर्वाहको जोहो गरेकाले आफूहरुको पेटमा लात हान्ने काम रोक्न स्थानीय बुद्धिमान विकले सांसदसँग आग्रह गरे। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.