|

बुटवल : बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले बुटवलमा सडक विस्तार गर्न थालेपछि स्थानीयले अवरोध गरेका छन्। जसमा बुटवलका राजनीतिक दल, उद्योग व्यवसायीले समेत साथ दिएका छन्। 

राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे ३ किलोमिटर क्षेत्रमा सडक मिचेर बनाइएका तीन सय ११ घर हटाउन आयोजनाले पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि डोजर लगाएको थियो।  

आयोजना प्रमुख जिवेन्द्र मिश्रका अनुसार मंगलबार बिहान १० बजेदेखि राजमार्ग चौराहाबाट सडक क्षेत्रमा बनेका घर भत्काउन थालेको थियो। 
जसमा स्थानीयले राजनीतिक दल र उद्योगी व्यवसायीको साथ पाएर अवरोध गरेका थिए। अवरोध भएपछि आयोजनाले जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँग सहयोग मागेको छ। 

बुटवल राजमार्ग चौराहादेखि बेलहियासम्मको सडक ६ लेन निर्माणाधीन अवस्थामा रहेकाले सोही अनुसार बुटवल चौराहादेखि चिडियाखोलासम्मको मुख्य बजार क्षेत्रको सडक ६ लेन बनाउन आयोजनाले काम थालेको थियो। 

आयोजनाले पटक पटक सूचना जारी गरेर सडक क्षेत्रमा बनेका घर भत्काउन आग्रह गरेपनि अटेर गरेपछि नियमअनुसार भत्काउन थालिएको आयोजना प्रमुख मिश्रले बताए। 
यो क्षेत्रमा ३ सय ११ घरहरू भत्काउनुपर्ने अवस्थामा छन् । ३ वर्षअघिदेखि आग्रह गर्दै आएकोमा हालसम्म जम्मा २५ वटा घरमात्र घरधनीले भत्काएका छन् । 

राजनीतिक दलको साथ पाएपछि हौसिए संघसंस्था 

यसअघि पनि सडक विस्तारको विरोध गर्दै आएका उद्योगी व्यवसायीका संस्था यसपटक पनि विरोधमै छन् । उद्योगी व्यवसायीलाई गत चुनाबमा घर नभत्काउने आश्वासन दिएका दलहरुले साथ दिएका छन्। 

सडक ६ लेन नबनाई वैकल्पिक मार्ग बनाउनुपर्ने तर्क अघि सार्दै प्रमुख ठूला दल एमाले, कांग्रेस र माओवादीका नगरस्तरीय नेताहरु उद्योगी व्यवसायीको साथमा छन्। 

एमाले नगर इन्चार्ज ऋषि पाण्डे, कांग्रेस नगर सभापति खेलराज पाण्डे, माओवादी केन्द्र केन्द्रीय सदस्य मनोज रानाले उद्योगी व्यवसायीसँगै संयुक्त विज्ञप्ति निकालेर सडक नभत्काउन आग्रह गरेका छन्। 

यी तीन दलसँगै बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ र राष्ट्रिय उद्योग व्यापार संगठन सडक नभत्काउने पक्षमा छन्। 
सडक क्षेत्रमा १४ सय व्यवसायी रहेको भन्दै उनीहरुले प्रदेश सरकारलाई यसमा साथ दिन अनुरोध गरेका छन्। 

८२ फुट कायम हुनेछ सडक

आयोजनाका अनुसार राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक हाल ७५ फुट रहेकोमा अब ८२ फुट कायम हुनेछ। 

दायाँबायाँ १–१ लेनको सर्भिस लेन र नाली रहनेछ भने १० सेन्टिमिटर कालोपत्रे थपिनेछ। ५० मिटर सडक क्षेत्रमध्ये बीचमा डिभाईडर, दायाँ साढे १० मिटर, बायाँ साढे १० मिटर चौडाई भएको मुख्य लेन र त्यसभन्दा बाहिर ६–६ मिटरको सर्भिस लेन हुनेछ । 

४१ करोड लागत अनुमान गरिएको सडक विस्तारको काम ३० महिनामा सक्ने सम्झौता निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभीसँग छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.