|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते एकता नहुने भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकपछि नेताहरूले वैशाख ९ गते एकता नहुने बताएका छन्।

पार्टी एकताबारे उठेका विवादहरू सल्टाउन  समय अभाव भएकाले वैशाख ९ गते एकता नहुने नेताहरूले जानकारी दिएका छन्। आजको बैठकसँगै एमाले-माओवादीबीच वैशाख ९ गते लेनिन जयन्ती तथा  नेपाल कम्यूनिष्ट पार्टीकाे स्थापना दिवसको अवसर पारेर गर्न लागिएको पार्टी एकताको योजना  तत्कालका लागि टरेको छ।

वैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वैशाख ९ गते एकता हुने सम्भावना सकिएको बताए। 'वैशाख ९ मा पार्टी एकता गर्ने भन्ने कुनै औपचारिक निर्णय थिएन। कार्यदलका सुझावका आधारमा मात्रै त्यो कुरा आएको थियो। अहिले तयारी पुगेन।' उनले संयोजन समितिको अर्को बैठकले पार्टी एकताको आधिकारिक मिति जारी गर्ने बताए।

एमाले महासचिव ईश्वर पोखरेलले पनि पार्टी एकता केही पर धकेलिएको संकेत गरे। उनले नेताहरूको कार्यव्यस्तताले गर्दा पार्टी एकताको मिति लम्बिएको बताए। यसबीचमा एमाले र माओवादीका नेताहरू गाउँ जानुपर्ने भएकाले पार्टी एकतालाई समय नपुग्ने उनको भनाइ थियो। उनले भने, 'भोलिदेखि विद्यार्थी भर्ना अभियान (सरकारले घोषणा गरेको)मा सहभागिता जनाउन नेताहरू गाउँ जाँदै हुनुहुन्छ, त्यसैले समय नपुग्न सक्छ।'

पोखरेलले छलफलका क्रममा चुनाव चिह्न र बराबरीको विषयमा छलफल भएको बताए। उनले चुनाव चिह्नमा खासै विवाद नरहेको बताए। एमालेको चुनाव चिह्न 'सूर्य' नै एकतापछिको पार्टीको चुनाव चिह्न रहने पोखरलेको संकेत थियो। उनले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै भने, 'अहिले यति लेख्नुस् चुनाव चिह्नमा कुनै विवाद छैन।'

उनले माओवादीले भनेको बराबरीका विषयमा पनि गहन छलफल भएको बताए। उनले भने, 'बराबरी भन्दापनि योग्यता र क्षमताको आधारमा बनाइन्छ। यसबारे नयाँ ढंगले छलफल गर्छौँ।  त्यस्तै विगतका कुराहरू राख्ने नराख्ने भन्नेबारे छलफल गर्छौं।' जनयुद्ध राख्ने कि नराख्ने भन्नेबारे पोखरेलको भनाइ थियो यो। एकतापछि माओवादीको बराबरी हिस्सा हुनुपर्छ भनेर आधिकारिक धारणा नआएको पोखरेलले बताए।

पोखरेलले विवादित विषयको टुंगो लगाउने जिम्मा दुवै अध्यक्षलाई दिएको बताए। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यी विषयमा अन्तिम निर्णय लिने उनको भनाइ  थियो। उनले भने, 'फाइनल टचका लागि दुवै अध्यक्षलाई जिम्मेवारी दिएका छौँ।'

बैठकमा यसअघि पार्टी एकता संयोजन समितिले गठन गरेका दुई कार्यदलले दिएका प्रतिवेदनमा नेताहरूले सुझाव दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.